वीरगंज १७ असार/
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैधले वीरगंजको बढ्दो आर्थिक महत्व एवं उपयोगिताको बारेमा महामहिम राजदूतको ध्यानाकर्षण गराउँदै द्विपक्षीय व्यापार विस्तारका सम्बन्धमा संघले तयार पारेको समस्या र सोको समाधान सहितको दस्तावेज हस्तान्तरण गर्नुभयो । वहाँले भारतीय रेल्वे संजालसँग जोडिएको एक मात्र सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा संचालनमा ल्याउनुपर्ने, भारत सरकारको सहयोगमा निर्माण भइरहेको एकीकृत भन्सार चौकी (आई.सि.पी.)
अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको हुनुपर्ने, सीमावर्ती शहर रक्सौललाई भारतको अन्य शहरहरु जस्तै सुविधा सम्पन्न शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । उक्त कुरा भारतीय राजदूतावास, काठमाण्डौंको आयोजनामा आयोजित “नेपाल–भारत सीमा व्यापार तथा यससँग सम्बन्धित विषयहरु” विषयक गोष्ठीमा व्यक्त गर्नु भएको हो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले कोलकाता बन्दरगाहसँग सम्बन्धित समस्या र सोको निराकरण बारे सुझाव दिएका थिए ।
भारतीय राजदूत महामहिम जयन्त प्रसादले वीउवासंघले प्रस्तुत गरेका सुझावबाट दुवै मुलुकको समग्र विकासमा सहयोग पुग्ने भएकोले वीउवासंघबाट प्रस्तुत विषयहरुमा आपूm गम्भीर रहेको बताउनुका साथै निर्माणाधीन अवस्थामा रहेको एकीकृत भन्सार चौकीको निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्ने तर्फ सरोकारवाला निकायलाई निर्देशन दिई सकेको बताउनुभयो ।
कार्यक्रममा भारतीय राजदूतावासका उच्च अधिकारी, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका पदाधिकारी, वीउवासंघका पदाधिकारी, कार्यसमिति, स्थानीय उद्योगी व्यवसायी, पटना र लखनऊका कमिश्नरहरुको सहभागिता रहेको थियो ।