रौतहट/ १० असार । देशमै चर्चित बनेको रौतहटको भिमडावर काण्ड स्थानीय स्तरमै मिलापत्र भएको छ । मन्दीर प्रबेशका बिषयमा भएको बिवादका कारण ठुलो संख्यामा दलितहरुको घर तोडफोड हुनुका साथै दलितहरु माथि सांघातिक आक्रमण समेत भएको सो काण्डले मुलकमै एक प्रकारको तरंग पैदा गरेको थियो । जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा दलित अगुवा र उपल्लो जाती भनाउदाहरु
बिच एक प्रकारको सहमति भएपछि अव भिमडावरमा शान्ति छाउने स्थानीय बासिन्दाले बताएका छन् ।
गत जेठ २४ गते राती दलित बस्तीमा गैर दलितहरुको समूह प्रबेश गरेर दलितहरुको घर तोडफोड गर्नुका साथै कुटपिट समेत गरेपछि सो स्थानका दलित र गैर दलित दुबै तर्फबाट कुनै पनि बेला कुनै अप्रिय घटना हुन सक्ने सम्भावना बढेपछि भागाभाग मच्चिएको थियो ।
आइतबार दिनभरी जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको छलफलबाट सो घटना साम्य पार्ने गरी सहमति भएको सहजकर्ता अधिकारकर्मी बिपिन गौतमले जानकारी दिएका छन् । दलितका तर्फबाट नाथुराम परियार सहितको ६ जनाको टोली र गैर दलितका तर्फबाट सुनिल यादवको नेतृत्वमा ६ सदस्यीय टोली बिच जिल्ला प्रशासन कार्यालयमा भएको लामो छलफल पछि सहमति भएको हो ।
आउदो असार ११ गते भिमडावरमा रहेको मन्दिरमा सामुहिक प्रबेश गर्ने , सामुहिक सहभोज गर्ने दलित बस्तीमा भएको तोडफोड र कुटपिटबाट घाइते भएकाहरुको उपचार गर्ने र क्षतिपुर्ति गैर दलित समुदायले तिर्ने , पक्राउ परेकाहरुलाई कानुन बमोजिम कार्वाही गर्ने सहमति भएपछि बिभिन्न दलित संघ संस्थाले गरेको सम्पुर्ण आन्दोलनका कार्यक्रम फिर्ता गर्ने सहमति भएको उत्पीडित जातिय मुक्ति समाज रौतहटका अध्यक्ष नाथुराम परियारले जानकारी दिएका छन् ।
एक दलित युवाको बिवाह पछि मन्दिरमा पुजा गर्न गएको बिषयमा उत्पन्न बिवादले कुटपिट हुदै बस्तीनै तोडफोड लगायत दलित बस्तीमै एक प्रकारको नाकाबन्दी भएपछि सहमति गराउनका लागि आफुहरुले पहल गरेको नेपाल पत्रकार महासघ रौहतटका अध्यक्ष शैलेन्द्र गुप्ताले जानकारी दिएकाछन् । दलित सम्बद्ध संघ संस्थाले सो घटनाका बिषयमा चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।