वीरगंज,२२ चैतः क्षेत्रिय प्रशासन कार्यालयले भ्रष्टाचारको आरोपमा गौर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अखिलेश सिंहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
काज खटिएका बेला नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जमा अनियमितरुपमा चार दर्जन् कर्मचारी विकास समितीको तर्फबाट भर्ना गरिएको र बजेट दुरुपयोग गरेको आरोपमा अनुसन्धानका लागी क्षेत्रिय प्रशासन कार्यालयस्थित अख्तियार इकाइले पक्राउ पूर्जी जारी गरेको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटले डा. सिंहलाई पक्राउ गर्न गौर अस्पतालमा छापामारी गरेपनि उनी वीरगन्जबाट रवाना लिएर सिधै मन्त्रालयमा हाजिर भएकाले फेला परेका छैनन् । रौतहट जिल्लामा लामखुट्टे प्रतिरोधक झुल वितरणमा समेत डा. सिंहले अनियमितता गरेको आरोप लागेको थियो । दातृ निकायले निःशुल्क वितरणका लागी उपलब्ध गराएको झुल रौतहटका औषधी पसलहरुमा खुलारुपमा बिक्री भएको पाइएपछि भ्रष्टाचार प्रकाशमा आएको थियो । पर्सा प्रहरीले नारायणी उपक्षेत्रिय अस्पताल विकास समितीका सदस्य राधेश्याम साह सोनारलाई बिहीबार पक्राउ गरेर क्षेत्रिय प्रशासनको जिम्मा लागइ सकेको छ भने अध्यक्ष बाबुलाल यादव र सदस्य रेखा घिमिरे अझैसम्म फरार रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।