विरोधका स्वर रचनात्मक आलोचना भएको मन्त्री परिषदका अध्यक्षको भनाई
काठमाडौ, १७ चैत । अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचनलाई लिएर सडकमा सुनिएका विरोधका स्वरहरुलाई आफूले रचनात्मक आलोचनाको रुपमा लिएर सकारात्मक बातावरण निर्माणमा लागेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको १५ औ वार्षिक उत्सवको अवसरमा आज राजधानीमा आयोजित विशेष कार्यक्रममा उनले अहिलेको अवस्था विशिष्ट भएकोले संविधानबाद भन्दा पनि आवश्यकता र प्राकृतिक सिद्धान्त अनुसार अघि बढिरहेको भन्दै असन्तुष्ट दलहरुलाई निर्वाचनमा आउन आब्हान गरे ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष रेग्मीले अहिलेको प्रक्रियाको विरोध गर्नेहरुबाट पनि सहयोग पाउने अपेक्षा ब्यक्त गर्दै सरकारको तर्फबाट पुरा हुने सम्पुर्ण माग हरु पुरा गर्न तयार रहेको घोषणा समेत गरे ।
लोकतन्त्रमा फरक मत राख्ने अभिब्यक्तिको स्वतन्त्रता हुने भए पनि त्यो निर्वाचनबाट मात्र संस्थागत हुन सक्ने भन्दै उनले निर्वाचनलाई समाधानको रुपमा लिएर अघि बढ्न आब्हान गरे ।
सरकारले पाएको संविधानसभा निर्वाचन गराएर मुलुकलाई निकास दिने जिम्मेवारी पुरा गर्न निर्वाचन गराउने तर्फ सम्पूर्ण रुपमा सरकार उन्मुख भएको जानकारी दिदै संविधानसभाको निर्वाचन गराएर संविधानसभाबाटै संविधान जारी भएको देख्न आफूहरु पनि आतुर भएको भन्दै रेग्मीले निर्वाचनको प्रक्रियाले स्पष्ट दिशा लिएर अघि बढिसकेको बताए ।
सबै पक्षको निर्वाचनलाई सहयोग गर्ने प्रतिबद्धता आईरहेको जानकारी दिदै उनले सोही आधारमा सरकारले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउने काम प्रभावकारी रुपमा अघि बढाएको बताए ।
उनले निर्वाचन चुनौति भए पनि सकारात्मक आशावादी भएर अघि बढेकोले चुनौतिको विचबाट निकास निस्किने विश्वास ब्यक्त गरे ।
क्लबलाई १५ औ वर्षमा प्रवेश गरेकोमा बधाई र भविष्यको लागि प्रगतिको सुभकामना दिदै उनले क्लबले लोकतन्त्र, निर्वाचन, संविधान र सुशासनको लागि खेलेको भूमिको प्रशंसा गरेका थिए ।
गृह तथा परराष्ट्र मन्त्री माधवप्रसाद रेग्मी
गृह तथा परराष्ट्र मन्त्री माधवप्रसाद रेग्मीले अहिलेको सरकारको मुख्य लक्ष्य नै संविधानसभाको निर्वाचन भएकोले त्यसको लागि बातावरण निर्माण गर्न सरकारले असहमति राख्नेहरुसँग संबाद सुरु गरेको बताए ।
दलहरुको सहयोग लिन सरकारले नै पहल कदमी लिनु पर्ने स्पष्ट पार्दै सरकार दलहरुसँग संबाद गरेर निर्वाचन छिट्टो भन्दा छिट्टो सम्पन्न गराउन नागरिकता ऐन, निर्वाचन ऐन जारी गर्ने प्रक्रिया अघि सारिसकेका जानकारी दिए ।
सरकार आफ्नो जिम्मेवारीप्रति गंभिर रहेको उल्लेख गर्दै गृहमन्त्रीले निकट भविष्यमै सबै चुनौतिहरु समाप्त भएर निर्वाचन सम्पन्न हुने बातावरण निर्माण हुने विश्वास ब्यक्त गरे । उनले भने– हामि अहिलेको चुनौतिलाई काम गरेर देखाउने अवसरमा परिणत गराउँछौ ।
उनले निर्वाचनको लागि सरकारले शान्ति सुरक्षा प्रत्याभुत गराउन कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै मतदाता नामावली संकलनको लागि अब राज्यले प्रयाप्त सुरक्षाको ब्यवस्था गरेको बताए । गृहमन्त्रीले भने– निर्वाचनलाई लक्षित गरेर प्रयाप्त सुरक्षा ब्यवस्था गरेको छ । निर्वाचन केन्द्रीत सुरक्षा योजना समेत बन्दैछ ।
पत्रकारिता क्षेत्र मुलुकको निकासको लागि पहिलो भूमिका भएको निकाय भएको भन्दै उनले क्लबले त्यसको लागि खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले भने– पत्रकारितालाई क्रियाशिल बनाउन र पत्रकारिता र अन्य क्षेत्रवीच संबाद र सहकार्यको वातावरण बनाउन रिपोर्टर्स क्लब र यसका अध्यक्षले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । भविष्यमा यो अझै शसक्त हुनु पर्छ ।
उर्जा, सिचाई र विज्ञान तथा प्रविधी मन्त्री उमाकान्त झा
उर्जा, सिचाई र विज्ञान तथा प्रविधी मन्त्री उमाकान्त झाले केही द्धिविधाहरु रहे पनि त्यसलाई समाधान गरेर छिट्टै निर्वाचनको मिति घोषणा हुने जानकारी दिदै निर्वाचनमा होमिन सबैलाई आब्हान गरे ।
उनले अध्यक्ष ऋषि धमला र क्लब एक अर्काका प्रयाय भएको भन्दै स्थापना कालदेखि नै देश र जनताप्रति क्लबले खेलेको भूमिका अतुलनीय भएको बताए ।
प्रमुख निर्वाचन आयूक्त निलकण्ठ उप्रेति
प्रमुख निर्वाचन आयूक्त निलकण्ठ उप्रेतिले पहिला जस्तो पटक पटक सार्न नपर्ने गरी निर्वाचनको मिति तोक्ने तयारीमा निर्वाचन आयोग लागेको जानकारी दिए ।
उनले निर्वाचन सम्पन्न गर्ने बाटो सहज नभएकोले त्यसलाई सहज बनाउन दलहरुको सहमति आवश्यक पर्ने भन्दै अर्को सातासम्म निर्वाचनकालागि आवश्यक ऐन आउने बताए ।
सुरक्षित रुपमा मतदान हुन नपाए निर्वाचनको औचित्य नहुने उल्लेख गर्दै उप्रेतिले त्यसको लागि उपयूक्त बातावरण निर्माणको लागि सरकार र राजनीतिक दलहरुसँग आग्रह गरे ।
नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओली
नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले मुलुक निर्वाचनमा गईसकेको अवस्थामा विगतका सरकारले निर्वाचनलाई प्रभावित गर्ने योजनामा गरेर राजनीतिक नियूक्तीहरु वर्तमान सरकारले सच्याउनु पर्ने बताए ।
उनले भने–विगतको सरकारले नाता गोतका मान्छेलाई नियूक्ती गरेको छ । त्यसले निर्वाचनलाई प्रभावित पार्ने प्रवल सम्भावना छ । सच्याईनु पर्छ ।
उनले निर्वाचनको निष्पक्षताको लागि प्रत्येक मतदान केन्द्रमा सीसीटीभी क्यामेरा जडान गर्नु पर्ने भन्दै निष्पक्षताको जाच स्वयम निर्वाचन आयोगले समेत आन्तरिक रुपमा गरेर हिंसा भएको स्थानको निर्वाचन रद्ध गर्नु पर्ने धारणा राखे ।
उनले निर्वाचनलाई सफल बनाउन सबै सँग छलफल गरेर सहमतिको राजनीति अघि बढाउनु पर्ने आवश्यकता औल्याउँदै त्यसको लागि प्रयत्न गर्न सबैसँग आग्रह गरे ।
क्लबले चलाएको संविधानसभाबाटै संविधानको अभियान मुलुककै अभियान भएको भन्दै रिपोर्टर्स क्लब नेपाल र यसका अध्यक्ष ऋषि धमलाले अप्ठ्यारो परिस्थितिमा पनि जटिल काम गरेर मुलुक र जनतालाई गुन लगाएको बताए ।
उनले क्लबले गरेको सकारात्मक कामको प्रशंसा गर्दै भविष्यको सफलतासँगै समाजको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सकोस भन्ने कामना गरे ।
नेपाली काग्रेसका महामन्त्री प्रकाशमान सिंह
नेपाली काग्रेसका महामन्त्री प्रकाशमान सिंहले संबैधानिक संकट समाधानको लागि राजनीतिक सहमतिको विकल्प नभएकोले अराजनीतिक ब्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने अवस्था आएको उल्लेख गर्दै सरकारको गठन र निर्वाचनको विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन रहेकोले अब मुलुक त्यसमै परिचालित हुनु पर्ने बताए ।
उनले अहिलेको प्रक्रियाको विषयमा असन्तुष्टि देखिएकोले सबैसँग छलफल गरेर समेट्नु पर्ने आवश्यकता औल्याउँदै त्यसको लागि सरकार निर्वाचन आयोग र दलहरुले भूमिका खेल्नु पर्ने बताए ।
सिहले भने–त्यसमा चारदलको पहल र भूमिका महत्वपूर्ण हुन्छ ।
स्थायी संविधान विना अब मुलुक अघि बढ्नै नसक्ने भएकोले अब सबै निर्वाचनमा लाग्नुको विकल्प नभएको उनको तर्क थियो ।
यसअघि निर्वाचनको मिति पटक पटक सार्नु परेको स्मरण गर्दै अब सबै तयारी पुरा गरेर परिवर्तन गर्न नपर्ने गरी मिति घोषणा गर्नु पर्ने महामन्त्री सिहले बताए ।
रिपोर्टर्स क्लब नेपालले जस्तो भूमिका अरुले खेल्न नसकेको भन्दै आगामि दिनमा भूमिकालाई अझै शसक्त बनाउने अपेक्षा सहित सुभकामाना दिए ।
उनले जनतालाई सूसुचित बनाउने कार्यमा क्लबको योगदानको तुलना हुन नसक्ने भन्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।
एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटा
एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले निर्वाचन आयोगले पहिला देखिनै निर्वाचनको तयारी गरिरहेको र निर्वाचन प्रति जनताको धारणा पनि सकारात्मक रहेकोले समयमै निर्वाचन गर्न सकिने विश्वास ब्यक्त गरे ।
निर्वाचन ४५ दिनमै गर्न सकिने भएकोले त्यसमा आशंका नगर्न आग्रह गर्दै निर्वाचन सम्पन्न गर्न जति ढिलो भयो जटिलता पनि त्यती नै थपिदै जाने आशंका उनले ब्यक्त गरे ।
मुलुकलाई निकास दिनु पर्ने आवश्यकताले नेपाली जनताकै तर्फबाट प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव आएको उल्लेख गर्दै सापकोटाले कहाँबाट प्रस्ताव आयो भनेर आरोप प्रत्यारोप गर्नुको औचित्य नभएको प्रष्ट पारे ।
असारको पहिलो साता कुनै पनि हालतमा निर्वाचन हुनै पर्ने भन्दै उनले निर्वाचनको मिति घोषणा भए पनि सबै निर्वाचनमा होमिनु पर्ने बताए ।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले चार दलले अरुलाई वास्ता नगरेर गल्ती भएको भन्दै राजनीतिक सहमति विना निर्वाचनको बातावरण बन्नै नसक्ने ठोकुवा गरे ।
उनले भने– चार दलले मात्रै भोट हालेर हुन्छ भने भोट हाले हुन्छ । नभए सबै दललाई निर्वाचनमा लैजान सहमति गर्नु पर्छ ।
उनले चार दलको मात्र अधिनायकत्व त्रुटिपूर्ण भएकोले यसलाई नसच्याएसम्म निर्वाचन हुनै नसक्ने ठोकुवा गरे ।
मुलुक मानसिक रुपमा निर्वाचनको लागि तयार भएको र आफुहरु पनि तयार रहेको भन्दै अब निर्वाचन आयोग, सरकार र चार दलले ईमान्दार ढंगले ब्यवस्थापनको लागि प्रयास गर्नु पर्ने थापाको सुझाव थियो । उनले भने– राजनीतिक शुन्यता भएको अवस्थामा निर्वाचन नभई हुँदैन । चुनौतिहरु छन् तर राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट आवश्यकता महसुस गरिसकेकोले निर्वाचन गर्नै पर्छ ।
क्लबले लोकतन्त्र, जनताको सूचनाको हकको सवालमा गरेको कामको प्रशंसा गर्दै भविष्यमा अझै शसक्त भूमिकाको थापाले अपेक्षा ब्यक्त गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कुनै बातावरण नै निर्माण नगरी असारमा निर्वाचन हुन्छ भन्नु चार दलको ढाट कुरा भएको बताए ।
चार वर्षमा किन संविधान बन्न नसकेको हो भन्ने कुराको जवाफ चार दलले नेपाली जनतालाई स्पष्ट नदिएको भन्दै पहिला विगारेका असफल चार दलको सिण्डकेट अब चल्न नसक्ने बताए ।
चार दल संविधान निर्माणका अतिरिक्त अहिले दलहरुको नेतृत्वमा नसकी गैरदलिय नेतृत्वमा सरकार बनाउन पुग्नु अर्को असफलता भएको भन्दै अब चार दलले मात्रै निर्वाचन गर्न नसक्ने ठोकुवा केसीले गरे ।
उनले निर्वाचन गर्न असन्तुष्टहरुसँग पहिला वार्ता गरी सहमति कायम गर्नु पर्ने उनको सुझाव थियो ।
उनले प्रधानन्यायाधिस नेतृत्वको सरकार निर्दलीयताको प्रस्थान विन्दु भएको भन्दै अब निर्वाचन गराउने भए पहिला अघिल्ला सरकारले गरेको राजनीतिक नियूक्तीहरु खारेज गर्नुपर्ने बताए ।
क्लबका अध्यक्ष ऋषि धमलाको सक्रियताको सरहाना गर्दै केसीले काम गर्नु भन्दा पनि त्यसलाई सफल बनाउनु महत्वपूर्ण भएकोले त्यसमा धमलाको क्षमताको प्रशंसा गर्नु पर्ने बताए ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका उपाध्यक्ष सिताराम अग्रवाल
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका उपाध्यक्ष सिताराम अग्रवालले निकासको लागि निर्वाचन हुनै पर्ने भन्दै कसैले पनि निर्वाचनको विरोध गर्न नहुने बताए । उनले लोकतन्त्र, संविधान निर्माण र सूचनाको हकको सवालमा क्लबले खेलेको भूमिकाको प्रशंसा गरे ।
बरिष्ठ पत्रकार हरिहर विरहीले लोकतान्त्रिक सविधान निर्माणको लागि छिटो निर्वाचन गराउन लोकतान्त्रिक सस्कृतिका साथ दलहरुलाई अघि बढ्न आग्रह गर्दै दलहरुलाई अहंकार छाड्न आब्हान गरे ।
उनले क्लबका अध्यक्षलाई सञ्चार क्षेत्रको आईडलको संज्ञा दिदै एक्लो ब्यक्तिले कति काम गर्न सक्छ भन्ने विषयमा रिपोर्टर्स क्लब र अध्यक्ष धमला उदाहरण भएको बताए ।
क्लबका अध्यक्ष ऋषि धमला
क्लबका अध्यक्ष ऋषि धमलाले स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस र लोकतन्त्रमा क्लबले कसैसँग कहिल्यै पनि सम्झौता नगर्ने स्पष्ट पार्दै क्लब सधै यी विषयको पक्षमा चट्टान झै उभिने प्रतिबद्धता ब्यक्त गरे ।
सकारात्मक सोचका साथ अघि बढ्न सबैलाई आब्हान गर्दै उनले संविधानसभाबाटै संविधान र सहमतिबाटै मुलुकलाई निकास दिदै अगाडि बढाउनु पर्ने बताए ।
उनले भने–अहिले भाषण होईन, एक्सन चाहिएको छ । संविधानसभाको निर्वाचन भयो भने मात्रै लोकन्त्र र समृद्धि हुन्छ ।