भारतबाट नेपाल फर्केका दुई युवा बेपत्ता

कञ्चनपुर-
भारतको अल्मोडा दुराकोटबाट मजदुरी गरी घर फर्कदै गरेका बर्दिया बनियाभारका दुई जना नेपाली युवा सीमावर्ती भारतीय बजार बनवसा क्षेत्रबाट बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बनियाभार–४ का ३९ वर्षीय छविलाल बोहरा र सोही ठाउँका ४३ वर्षीय इन्द्रप्रसाद ज्ञवाली रहेका छन् । दुवै जनाले चैत २१ गते अल्मोडाबाट फर्केर बनवसा पुगेको फोनमार्फत घर परिवारलाई जानकारी दिएका थिए ।

हालसम्म घर नपुगेपछि उनका आफन्तले खोजबिन सुरु गरेका छन् । खोजबिनका लागि महेन्द्रनगर पुगेका बेपत्ता युवाका आफन्त तपेन्द्र बोहराले दुवै जना घर नआएपछि खोजबिनका लागि भारतीय प्रहरी र नेपाल प्रहरीलाई अनुरोध गरिएको बताए ।

नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीलाई खोजबिनका लागि निवेदन दिँदा भारतीय प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार गरेको उनले उल्लेख गरे। "दुवै नयाँ वर्ष मनाउनका लागि घर फर्कदै गर्दा बेपत्ता भएपछि परिवारमा चिन्ता छाएको छ" उनले भने।
नागरिक न्युज 

SHARE THIS

Author:

Facebook Comment