पत्रकार महासंघको विधान संशोधनकालागि पर्सा शाखामा छलफल

क्राइमचेक प्रतिनिधि/
वीरगंज/प्रादेशिक संरचना अनुसारको विधान संशोधनकालागि नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले आह्वान गरेको सुझाव संकलन अन्तर्गत पर्सा शाखामा सो विषयमा छलफल गरिएको छ ।

प्रादेशिक संरचना अनुसारको विधान तयारी र  संशोधनकोलागि सुझाव संकलन गरेको छ ।
महासंघ पर्सा शाखामा विधान तयारी र संशोधनका लागि आयोजना गरिएको  सुझाव संकलन कार्यक्रममा सहभागीहरु संचारकर्मीहरुले पत्रकार महासंघको वर्तमान विधानमा केन्द्र र शाखाको निर्वाचन प्रणाली फरक फरक रहेकोले एकरुपता ल्याउनुपर्ने, विधान संशोधन गर्दा प्रत्येक प्रदेशमा कम्तीमा १७ सदस्यीय कार्यसमिति बनाउनुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै महासंघको सदस्यता वितरण गर्दा प्रयोगात्मक परीक्षाको व्यवस्था गर्नुपर्ने र कम्तिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने, सदस्यता वितरणमा पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई मात्र वितरण गर्नुपर्ने लगायतका सुझाव दिएको महासंघ शाखाका सचिव कृष्ण उदास खनालले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय संचारकर्मीहरुले सुझाव दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु केसी लामिछाने, अशोक तिवारी, शत्रुघ्न नेपाल, दीपेन्द्र चौहान तथा विभिन्न संचार संस्थामा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

फोटो सौजन्य कृष्ण उदास खनाल

प्रकाशन मितिः २०७२ चैत्र ०४ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment