राजेन्द्र महतोले भने– "प्रधानमन्त्रीले डिक्सनरी देखाएर प्रस्टिकरण दिनुभयो"

काठमाडौं, माघ ४ – आफूसँग माफी नमागेसम्म केपी ओलीसँग नभेट्ने अडान लिंदै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आइतबार बेलुकी मुसुमुसु हाँस्दै प्रधानमन्त्री निवास बालुवाटार छिर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई नमस्कार गर्नुभयो, हात र गला मिलाउनुभयो, मधेस आन्दोलन र समस्या समाधानबारे खुलेर कुरा गर्नुभयो, अनि प्रधानमन्त्रीको व्यवहार र कुराबाट प्रफुल्ल हुँदै बाहिरिनुभयो ।

बेलुकी झण्डै दुईघण्टासम्म ओली र महतोबिच बालुवाटारमा छलफल भयो । महतो बालुवाटारमा पुग्ने बित्तिकै ओलीले सुरुमै महतोको स्वास्थ्यबारे सोध्नुभयो । टाउकोको चोट नियाल्नुभयो र सोध्नुभयो ‘आपका सेहत अब कैसा है ?’

‘उहाँले धेरैबेर मेरै स्वास्थ्यबारे जानकारी लिनुभयो’ महतोले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘त्यसपछि हामीबीच राजनीतिक विषयमा कुराकानी भयो ।’ महतोका अनुसार ओली र उहाँ भेट हुँदा हिन्दी, मैथेली र नेपाली भाषामा कुरा हुन्छ । ‘हिजो पनि हामीबीच तीनवटै भाषामा कुरा भयो’ हाँस्दै महतोले भन्नुभयो, ‘धेरैपछि भेट भएको, खुलेरै कुरा भयो ।’

महतोका अनुसार प्रधानमन्त्री ओलीले यसअघि मधेसबारे आफुले दिएका अभिव्यक्तिको प्रष्टीकरण दिनमै समय खर्चनुभयो । ‘उहाँले डिस्नरी नै देखाएर मैले बोलेको अर्थ यो हो भनेर सुनाउनुभयो, प्रष्टीकरण दिन खोज्नुभयो’ महतोले भन्नुभयो ।

ओली–महतो खटपट र सम्बन्ध सुधार

ओली प्रधानमन्त्री हुनु पहिले नै महतोसँग खटपट भएको थियो । एक वर्षअघि सीमांकनकै विषयमा बालुवाटारमा दलहरुबीच बैठक भएको बेला ओली एमाले अध्यक्षको हैसियतमा उपस्थित हुनुहुन्थ्यो । महतो लगायतका अरु नेताहरु पनि बैठकमा थिए । त्योबेला बैठकमा महतोले नेपालको समथर तराईलाई मधेस प्रदेशमा समेट्नुपर्ने अडान राख्दा ओलीले जवाफ दिनुभएको थियो–त्यसो भए बिहार र यूपीलाई पनि मधेसमै मिलाउने ?
ओलीको जवाफ सुन्ने बित्तिकै महतो लगायत मधेसी मोर्चाका नेताहरु बालुवाटारको बैठक छोडेर निस्केका थिए । महतोले त ओलीले माफी नमागेसम्म आफु भेटघाटमा नजाने अडान नै लिनुभएको थियो । तर महतोको भनाईलाई ओलीले सुनेको नसुन्यै गर्नुभयो । माफी त परको कुरा, मधेसी मोर्चाको चाहना विपरीत प्रधानमन्त्रीमा निर्वाचित भएर बालुवाटार छिर्नुभयो ।
ओली प्रधानमन्त्री हुनुअघि र पछि मुख्य दल र मोर्चाबीच भएको बैठकमा महतो सहभागी हुनुभएन । मोर्चाका अरु नै नेताहरु संयुक्त सहभागी हुँदै आएका छन् । मोर्चाले मधेसमा आन्दोलन थालेपछि त झन् महतो काठमाडौं बस्नै छाड्नुभयो । कहिले सीमापारी र सीमावारी मधेसको क्षेत्रमा बसेर आन्दोलन चर्काउन लाग्नुभयो ।
यसै क्रममा पुस ११ गते विराटनगर–जोगबनी सीमानाकामा धर्ना दिन जाँदा प्रहरीसँग भएको झडपमा महतोलाई टाउकोमा चोट लाग्यो । त्योबेला पनि सद्भावना पार्टीले ओली सरकारले माफी माग्नुपर्ने अडान लियो । तर सरकारले माफी मागेन ।

पुस २४ गते महतो थप उपचारका लागि भन्दै धरानबाट हेलिकोप्टर चढेर काठमाडौं आउनुभयो र विमानस्थलबाट सोझै नयाँ दिल्ली पुग्नुभयो । त्यहाँ उपचारसँगै राजनीतिक भेटवार्ता गर्नुभयो । भारतीय नेताहरुले उहाँलाई सरकारसँग सहमतिको लागि दबाब दिए । त्यसपछि महतो पहिलेभन्दा नरम हुन थाल्नुभयो ।
मधेसप्रति अनुदार भन्ने आरोप खेपिरहेका प्रधानमन्त्री ओलीले पनि समस्या समाधान र सम्बन्ध सुधारको प्रयास गरिरहनुभयो । यही क्रममा तरार्ई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग उहाँले दिल्लीमा रहेका महतोको फोन नम्बर माग्नुभयो ।

दिल्लीमा हुँदा भारतीय नम्बर चलाएका महतोसँग प्रधानमन्त्रीले टेलिफोनमा बात गर्नुभयो । सञ्चो बिसञ्चो सोध्नुभयो । काठमाडौं आउन डाक्नुभयो ।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे सोधीखोजी गर्दै काठमाडौं बोलाएपछि महतो उत्साहित हुनुभयो र आइतबार दिल्लीबाट काठमाडौं आउनुभयो । अनि साँझपख प्रफुल्ल मुद्रामा बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गर्नुभयो ।

– प्रस्तुति : मिलन तिमिल्सिना/उज्यालो


उज्यालो अनलाइनमा प्रकाशित "राजेन्द्र महतोको चोट नियाल्दै ओलीले भने ‘आपका सेहत अब कैसा है ?’" शीर्षक परिवर्तन गरिएको ।

फोटो श्रोतः गुगल डटकम

SHARE THIS

Author:

Facebook Comment