वीरगंज डेस्क ।
नेपालमा बारम्बार आउँदै गरेको महाविनाशकारी भुकम्पबाट प्रभावित भएका आफ्ना जिल्लावासीको सहयोगमा पर्वत सेवा समाज इजरायलले पठाएको राहत सामग्री पर्वतेली पीडितहरुलाई हस्तान्तरण गरिएको समाजकी सचिव दीपिका भुषालले जानकारी गराउनु भएको छ ।

समाजले भुकम्पबाट अत्याधिक क्षतिपुगेका क्षेत्रहरु र बिपन्न वर्गका पिडितहरुको पहिचान गरी नेपाल प्रहरी, स्थानिय निकायका सरकारी कर्मचारीहरु, पर्वतमा रहेका संचारकर्मीहरु तथा स्थानिय समाजसेवीहरुको रोहवरमा छुट्टाछुट्टै स्थानमा गत ७ मई विहिवार र त्यसको एक सातापछि गएको दोस्रो महाविनाशकारी भुकम्पबाट भएको क्षतिलाई मध्यनजर गर्दै १४ मई विहिवार गरी दुई पटक राहत वितरण गरेको हो ।
पर्वत सेवा समाज इजरायलका सदस्यहरुद्वारा पर्बत सेवा समाजको कोषमा संकलित रकमबाट आकस्मिक बजेट निकासा गरी छुट्टाइएको रकमबाट पर्वतको दक्षिणी भेगमा रहेको रानीपानी गाविसका ३० घरपरिवार, ब्राचौर गाविस १३ घर परिवार र वाहाकी गाविसका ९ घर परिवार गरी कुल ५१ घर परिवारलाइ राहत वितरण गरिएको पर्वत सेवा समाज इजरायलले जनाएको छ ।
त्यस्तै समाजले दोस्रो चरणमा पर्वतको सुनटारी र पकुवामा रहेका भुकम्प पिडित बिपन्न ३६ घर परिवारलाई राहत वितरण गरिएको बताएको छ ।
पर्वत सेवा समाज इजरायलले इजरायलमा संचालन गरिएको भुकम्प पिडित सहोयग संकलन अभियान इजरायलमा आफ्नो सक्रिय उपस्थितीका वावजुध पनि संस्थाको कोषबाट रकम निकासा गरी पर्वतमा सहयोग पुर्याएको बताएको छ ।