"लक्ष्मी जस्ता कवि जगतमा दाँजने छन् कुनै कि?"


 शीर्षक :- छन्द कविता 
"लक्ष्मी जस्ता कवि जगतमा दाँजने छन् कुनै कि?"

"नेपालै हो शिर धरतीको पूज्य यो देवभूमि ,
झर्छन आत्मा अमर यसमा सम्झदै मातृभूमि ,
जस्तै सीता,जनक,पृथिवी ,बुद्ध जन्मै लिएका ,
त्यस्तै माली स्रिजनपथका देवकोटा भएका । १ । 

ती छन् आत्मा अजर प्रतिभा चेतनाले भरेका ,
नेपालीका दिल दिल पसी ज्ञान सारा दिएका
 साहित्यैको विविध ढुकुटी भर्दिने ज्ञानवेत्ता ,
छन् यी महाकविजी कविकै गर्व हुन् शान यौटा । २ । 

सहित्यैले अतिव करुणा भर्दिने सत्य भाव ,
त्यस्तै मायाँ चरम ममता पस्किने हो स्वभाव ,
बाला, बृद्धा,युवक,युवती पौढ़ सारा रमाए ,
नेपालीका ढुकढुकी बनी प्रीतका गीत गाए । ३ । 

म्हैन्दू ,शाकुन्तल, लुनी, कुसुम्, दिव्य सुन्को बिहानी ,
गाथा, गीति, सरस छ मुना औ मदन्को कहानी ,
साहित्यैका विविध छ विधा लेखनीमा झुलेका ,
भाषा ,दर्शन ,प्रगतिपथका चेतनामा फूलेका । ४ । 

नेपालीका हृदयपटमा सूर्य न्याना उदाए ,
स्वछ्न्दै छन् प्रवृति उनका पाठ धेरै सिकाए ,
नेपालैका वन र पहरा गाउँमा वा शहरमा,
धन्कीरन्छन् मधुर लहरी गीतका चेतनामा । ५ । 

हुन् यी नेता यस धरतीका सिर्जनाका हिमाल,
लक्ष्मी हाम्रै अद्धितीय कवि ज्ञान चक्षु विशाल
 तृष्णा, पीडा, मुटुभरि ब्यथा साथमा राखीराखी,
जल्दै आफु अमृत झरना पोखने हामीमाथि । ६ । 

लक्ष्मी जस्ता कवि जगतमा दाँजने छन् कुनै कि?
सृष्टि हुन् कि ? सृजन-फूलका साँच्ची नै देव हून यी ?
गर्छु श्रद्धा दिल फूल सरी पाउमा अर्पिएर
 भर्छु त्रृष्णा श्रिजित रचना ज्ञान सारा पिएर । ७ ।

नेपालीको शिरको चुचुरो रात्रिको दीपमाला 
 अक्षरैको बिबिध कुटुरो ज्ञानको धर्मशाला 
 यस्तो ज्योति हिमशिखरमा बालने हुन् उनै कि ?
लक्ष्मी जस्ता कवि जगतमा दाँजने छन् कुनै कि? । ८ । 

माहाकाव्य, कवित-झरना औ निबन्धै ऊमार्यौ,
यौटा युग्को रथ तिमी बन्यौ सारथी भै कुदायौ
 तिम्रा कीर्ति अमृत-फूल हुन् शिरमै मै उनूँ कि ? 
तिम्रो आस्था मुटुभरि भरी त्यैँ डुबी पौडिउँ कि ? । ९ । 

यौटा बुद्ध जसरी बनिए ज्ञानका दिव्य श्रोत 
 देवैकोटा त्यसरी जनिए भावनाका अठोट
 मोमैबत्ती सरी जली दिने छन् उज्यालो कुनै कि ?
लक्ष्मी जस्ता कवि जगतमा दाँजने छन् कुनै कि? । १० ।



निशा  खनाल  अर्याल 
जन्म राजविराज  सप्तरी 
इजरायल

SHARE THIS

Author:

Facebook Comment