दोहोरो चरित्रका कारण पत्रकारको अस्तित्व खतरामा


काठमाडौं, वैशाख २० । पत्रकारको दोहोरो चरित्रका कारण नेपाली नागरिक र पत्रकारको अस्तित्व खतरामा पर्दै गएको राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । डिबेटिङ क्लब, आरआर क्याम्पस र पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको अन्तरक्रियामा पत्रकारद्धय युवराज घिमिरे र प्रतिक प्रधानले पत्रकारले राजनीतिक रंगबाट मुक्त हुनुपर्ने बताए ।
‘संक्रमणकालीन अवस्थामा मिडियाहरुको भुमिका भनेको विविधता ल्याइदिने र राष्ट्रलाई बलियो बनाउने हो,’ वरिष्ठ पत्रकार युवराज घिमिरेले भने–‘पत्रकारले राजनीतिक रंग लगाएर पत्रकार हुँ भन्नु पत्रकारिता जगतको विकृती हो ।’ उनले पत्रकारहरुलाई आचारसंहिताको पालन गर्न आग्रह गर्दै, भर्खरै पत्रकारमाथि सर्वोच्च अदालतले इजलासमा जान रोक लगाएको प्रति खेद व्यक्त गरे ।
कारोबार आर्थिक राष्ट्रिय दैनिकका सम्पादक प्रतिक प्रधानले नेपालमा ९९ प्रतिशत पत्रकार, पत्रकार नभएको औंलाए । अन्य एक प्रतिशले मात्र पत्रकारिताको धर्म र मर्मलाई पालना गरिरहेको बताए । उनले भने–‘नागरिकको विचार राख्न पाउने अधिकारका लागि मात्र पत्रकारले लडने हो, अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्रको अक्सिजन भएकोले यसलाई बचाउने जिम्मेवारी पत्रकारको हो ।’ उनले भने–‘पत्रकारले अभिव्यक्ति स्वतन्त्रताका लागि लड्न राजनीतिक रंगबाट मुक्त हुनैपर्छ ।
’कार्यक्रममा मिडिया अध्येता शंकर तिवारी, स्ववियु सभापति राजकुमार राई, डिबेटिङ क्लबका अगुवा शैलेन्द्र शर्मा गौंडेल, गोविन्द मरासिनी लगायतले बोलेका थिए । पत्रकार नकुल अर्यालले सहजिकरण गरेको कार्यक्रममा पत्रकार तथा विद्यार्थीहरुले जिज्ञासा राखेका थिए । आजै नेपाल पत्रकार महासंघले विभिन्न क्याम्पसहरुमा अन्तरक्रिया गरेको छ ।

SHARE THIS

Author:

Facebook Comment