वीरगंज, बैशाख २१ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आगामी चुनावमा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीसंग चुनावी एकता हुन सक्ने बताउनुभएको छ ।
बाराको सिमरा विमानस्थलमा शनिबार विहान पत्रकारहरुसंग कुरा गर्दै उहाँले नेकपा–माओवादीले चाहे चुनाबी एकता गर्न तयार रहेको प्रष्ट पार्नुभयो ।
प्रचण्डले मधेशको भोजपुरा, मिथिला र अवधमध्ये कुनै एक क्षेत्रबाट आफुले उमेद्वारी दिने दोहोर्याउँदै पार्टीका दुवै उपाध्यक्षले पनि मधेशबाटै चुनाव लड्ने तयारी भइरहेको बताउनुभयो ।
सरकार विरुद्ध आन्दोलनरत दलहरुलाइ चुनावमा सहभागी गराउन संविधानसभा सदस्यको संख्या ४ सय ९१ जना राख्ने मुख्य दलको सहमतिमा पुनर्विचार गर्न सकिने उहाँले प्रचण्डको भनाई छ । मोहन बैद्य र उपेन्द्र यादव नेतृत्वका दललाई उच्च स्तरीय राजनीतिक संयन्त्रमा ल्याउन सकिने पनि उहाँले बताउनुभयो ।
लोकमान सिंह कार्कीलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन चार राजनीतिक दलको उच्चस्तरीय संयन्त्रले सिफारिस गरेपनि अहिले एमाले र कांग्रेस पछाडि हटेको भन्दै प्रचण्डले आक्रोश व्यक्त गर्नुभयो । पार्टी कार्यकर्ताको प्रशिक्षणका लागि प्रचण्ड सहित माओवादी शीर्ष नेताहरु सर्लाही पुगेका छन् ।