चीची पनि पापा पनि खोज्नेहरु –स्वयम्भुनाथ कार्की


वर्तमान नेपालमा एक स्वघोषित महाचतनशिल वर्गको अदुभुदय भएको छ । समाजका हरेक तहमा यो वर्ग चेतना व्याप्त छ । यो वर्गले आफुलाई सबैभन्दा चतुर भन्ठान्छ, अरुलाई त कुरैले अलमल्याउन सकिन्छ भन्ने भ्रम पालेर बसेको हुन्छ । तर विडम्वना, डोकाले छोपेको बस्तु सरह यस वर्गको सबै कुरा, चालामाला उदाङ्ग हुन्छ । कुनै विवादको वारेमा औपचारिक रुपमा प्रस्तुत हुनु पर्‍यो भने दुवै पक्षले समन्वय गर्नु पर्छ भनेर भन्ने गर्दछ । अझ दुवैको गलती देखाउन पनि पछि पर्दैन तर अनौपचारिक रुपमा कुनै एक पक्षको अन्धसमर्थक हुन्छ । आफ्नो पक्ष नै सही भएको नभए पनि कुनै महान लक्षको निमित्त गलत काम गरेको भनेर त्यसको वकालत गरिरहेको हुन्छ । आफ्नो कुरा सबैले सुन्नै पर्छ रआफुले अरुको कुरा सुन्न आवश्यक नै छैन जस्तो व्यवहार गरिरहेको हुन्छ । मध्यमार्ग अपनाउनु पर्छ भन्ने रटान त हुन्छ तर त्यो मध्यमार्ग आफ्नो पक्षमा हुनु पर्ने मान्यता राख्छ ।
यही चीची पनि पापा पनि खोज्ने प्रवृतिले गर्दा नेपालमा बुँदे सहमतीको बाढी आएको छ । सहमती पत्रमा हस्तक्षर गरेर बाहिर निक्लने वित्तिकै त्यस पत्रमा भएका शव्दहरुको आफु अनुकुलको व्याख्या शुरु भई हाल्छ । यो प्रवृतिले अर्को सहमती नितान्त आवश्यक बन्ने गर्दछ । अर्काको आङ्गको जुम्रा प्रष्ट देखिने र आफ्नो आङ्गमा भैसी पनि नदेख्ने प्रवृति यही वर्गको विषेशता हो । सर्वसाधारणले यी कुराहरु प्रष्ट देखेका हुन्छन तर पनि नदेखे झै गर्दछन । किनभने आफ्नो साधारण भन्दा साधारण काम निकल्न पनि यहि वर्गको मद्धत लिनु पर्ने वाध्यता छ । यसैले यो महारोग विस्तारै सर्वसाधारणमा पनि सर्दै गएको छ । पिपलपाते वा दहिचिउरे हुनु सर्वसाधारणको शौक हैन विवशता हो । भोली कुन पक्षको हाली मुहाली हुने हो त्यो अनिश्चयको भुमरीमा छ त्यसैले सबै पक्षको साखुल्ले हुन नसकेमा आफ्नो जीवन थप कष्टकर हुने कुराको चेतना सबैमा छ ।
वार्ता र सहमती भन्ने कुरालाई सबै समस्याको हल हो भनेर स्थापित गर्ने प्रचलन पनि यहि वर्गको आविष्कार हो । चोर र सिपाहीको विचको द्वन्दको समाधान के त भनेर सोध्यो भने यस्ताको जवाफ हुन्छ वार्ताद्वारा सहमती गर्नु पर्छ, मध्यमार्ग अपनाउनु पर्छ । हो वार्ता धेरै कुराको समाधान हो तर सबै कुराको समाधान भने हैन । दुवैलाई खुशी पार्न वार्ता गर्न पर्‍यो भनेपछि त आफ्नो दुवै हातमा लड्डु हुने नै भयो । अझ अमुर्त सल्लाह दियो भने त आफ्नो विद्वता पनि झल्कने भयो । त्यसैले मध्यममार्ग अपनाउने सल्लाह दि:दा आफ्नो बौद्धिक दरिद्रता पनि छोपिने भयो । तर यो प्रवृतिले मुलुकको भने सक्दो कुभलो गरेको छ । आफ्नो जिम्मको काममा पनि यस्तो हुनुपर्छ भनेर भाषण गर्ने प्रवृतिले कुनैकार्य सम्पादन हुन्छ भन्ने मान्नु नै ठुलो भुल हो जो आजको नेपालमा हरेक जसोले गर्दैछन । कोरा नारा र भाषणवाजी काम हैन तर आज सबैको देखाउने काम नै त्यही भएको छ ।
संविधानसभा बुख्याचाहरुको अस्थायी अखडा भएको छ । कसैले सुनोस वा नसुनोस रोष्टममा गएर आफुलाई खटाएको भाषण सक्यो अनि त्यहाबाट सुईकुच्चा ठोक्यो भै गयो । केही गरी आफ्नो बोल्ने पालो पर्खनु पर्ने भयो भने कि त मस्त संग निदायो कि मोवाइलमा खेलेर बस्यो । यस्ता अवस्थाका तस्विरहरु संचारमाध्यममा छ्यापछ्याप्ती छन । हुन पनि किन नहोस त न कसैको कुनै कुरामा प्रश्नोत्तर हुन्छ न मतदान गर्नु पर्‍यो भने कसैले त्यो सुनेर धारण बनाउन पाउछ । फेरी मिनेट तोकेर गराएको सुगा रटाई र रुद्री पाठ सुनाइमा के पो फरक पर्छ । फरक नै पर्ने भएको भए न्यायधिशहरुको संसदिय सुनवाई कर्मकाण्डी हुने नै थिएन । कुन दलको कतिजना छ त्यसले दलका नेताको आज्ञा पालन गरेर पक्षविपक्ष हुनु परेको तितो यथार्थ सर्वसाधारण समक्ष खुल्ला किताव सरह छदैछ ।
सबै काम र भाषण भने आफ्नो मर्जिको गर्दछन, अनि जनताको ईच्छाको आड लिन्छन । नेपालको वर्तमान दुरावस्थाको अन्त्य गर्न मध्यममार्गको रट लगाउने वा जनताले चाहे भने भनेर आड लिने प्रवृतिले समाप्त हुदैन । यस अवस्थामा त केही गर्छु भन्नेले कि त हस्तिनापुरको रजाई कि चपरी मुनीको वास भनेर हिम्मत गर्नु पर्ने हुन्छ । चमत्कार विरलै हुने कुरा हो, त्यस्तो चमत्कारको आशामा बसेको भए न चाणक्यले चन्द्रगुप्तलाई सम्राट बनाउन सक्थे न पृथ्वीनारायण शाहले आधुनिक नेपालको जग नै बसाउन सक्दथे । विना प्रयत्न र पुरुषार्थ समयको प्रतिक्षा गरेका भए पाण्डव वन मै भौतारी रहेका हुने थिए कौरव हतिनापुरको वैभव अकंटक भोग गरिरहेका हुने थिए ।
जनताले चाहे भने भन्ने कुराको जवाफ जनताले दिई सकेको छ । आफुले समर्थन जनाउन विश्व इतिहास मै कहिल्यै र काही नदेखिएको समर्थनको ओईरो लगाई रहेको छ । प्रचण्ड गर्मी होस वा आँधी वेहरी मुलुकका हरेक भागमा अपार भिडको रुपमा जम्मा भएर भन्दैछ हामीलाई तारणहार चाहियो । आफ्नो भूमिकामा आउनु पर्‍यो । जनताको यो कुरा बुझ्नै नसक्ने किसिमको त छैन । संसारले यो कुरा बुझिसक्यो , विकल्पको रुपमा स्विकार गरि सक्यो । अझ कुरा नबुझे झै गरेर बुझ पचाउने हो भने अब जनताले सोध्ने छ पुरुषर्थ देखाउने हिम्मत छ कि छैन भनेर । अब आश देखाएर मुलुकलाई अनिश्चयको बन्दी बनाइनु हुदैन । जनता कहिले पनि विकल्पहिन हुदैनन, जनता शक्तिमान हुन जनार्दन हुन । जनार्दन भनेको साक्षात बिष्णु हुन प्रतिक्षा छ ती बिष्णुको अंश बोकेर आउने तारणहारको आउने कि नआउने भन्ने निर्णय दिन अव ढिला गर्नु हुन्न । यही जनता जनार्दनको आवाज हो कि गर्नु पर्‍यो कि विकल्प खोज्न भन्नु पर्‍यो ।
विराटनगर १ २०७१।२।२४ (जनआवाज)


SHARE THIS

Author:

Facebook Comment