(स्वयम्भुनाथ कार्की)
जनता
जनार्दन हुन भन्ने कुरा आजकल भट्याउने मात्र भएको छ । जनतालाई राम्रो मुख गरेर
कसरी दास बनाउन सकिन्छ यो कौशललाई नै राजनैतिक कुशलता मान्ने गलत प्रचलन चलेको छ ।
अझ कुनै निर्वाचनको वेलामा त जनताहरुलाई आफ्नो खोरको भेडा बाख्रा सरह व्यवहार
गर्ने गरिन्छ । कुन विवशताले हो जनता आफ्नो यो चरम अपमानको घुँटकोलाई कुनै
स्वादिष्ट पेय जस्तो पिउने गर्दछ । एक्काईसौं शताब्दीका चेतनशील जनताको पगरी
भिराईएका जनता भने आफ्ना प्रतिनिधि भनिने नेता छान्न आफ्नो विवेक हैन कसैको खटनमा
चलेको छनक दिन्छन् । यो नेपालको मात्र कथा हैन दक्षिण एसियाका प्राय: सबै
मुलुकहरुको साझा कथा हो जुन मुलुकहरुमा चुनाव गरेर आफ्ना मालिकहरु चुनिने गर्दछ ।
जनताको आफ्नो शक्तिलाई नचिन्ने प्रवृतिले राजनीति पेशा भएका दलका महन्तहरु जनतालाई
आफ्नो दास नै ठान्छन् र यो कुरा भन्न आफ्नो गौरब ठान्छन् ।
नेपालको संविधानसभाको दोश्रो
निर्वाचनमा यो कुरा छताछुल्ल भएको छ । निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गर्नु
स्वभाविक कुरा हो, आफ्नो तर्फ ज्यादा मत तान्न विरोधिको
खुट्टा तान्नु पनि सामान्य प्रकृया नै हो । यो कुरा अलि हदमा गएर अभद्र प्रचार र
विरोध भयो भने नैतिक नभए पनि त्यससम्मलाई सहन योग्य मान्न सकिएला। तर, निर्वाचन पछि बहुमत लिएर आउने सरकार
जनताको फैसला आफ्नो पक्षमा मात्र आउछ
भन्नु नै जनताको अपमान हो,
सार्वभौभ जनताको अधिकार माथिको ठाडो
हस्तक्षेप अनि निर्वाचन जसरी पनि जित्ने दम्भ हो । यो दम्भको प्रदर्शन यस निर्वाचन
अवधिमा निर्लज्ज तरिकाले भएको छ । नेपालको अन्तरिम संविधान २०६३को ६३(३)(ग)मा
व्यबस्था भएको निर्वाचन पछि आउने मन्त्री परिषदले मनोनयन गर्ने छब्बीस जना मतदान
भन्दा पहिल्यै नै आफ्नो व्यक्तिगत सम्पत्ती सरह निर्वाचन विरोध चर्काई रहेको
माओवादीलाई दिने कुरा गर्नु झलक्क हेर्दा राम्रो कुरा लाग्ला । तर यो जनतामात्र
हैन जनताको कुनै अपनत्व नभएको आफुलाई सजिलो पार्ने कामको निमित्त बनाएर लागु
गरिएको अन्तरिम संविधानको पनि ठाडो अपमान हो । तर आश्चर्य जनताको यत्रो अपमान गर्ने
कुरा ल्याउनेलाई स्पष्टिकरण लिनु पर्नेमा आफुलाई सर्वज्ञ ठान्ने नेपालका संंचार
प्रभुहरु यसलाई ती नेताहरुको विशाल ह्दयको उदाहरणको रुपमा पेश गर्न थाल्छन ।
सम्पूर्ण नेपाल सबै नेपालीहरुको
सम्पत्ति हो । नेपालको हरेक कुरा कुना कन्दरा सबैमा हरेक नेपालीको अधिकार लाग्छ र
लाग्न रोकिएको छ भने त्यो रोक्ने अपराधी हो । यो सत्य जनताले बुझे भने कुनै एक
स्थानको कुनै एक चल्तापुर्जालाई थर्काएर, फकाएर, किनेर त्यस स्थानका सबै बासिन्दाको मत
हत्याउन सकिन्न, हरेक व्यक्तिले आफ्नो विवेक प्रयोग
गर्न थाल्यो भने आफ्नो राजनैतिक पसल चल्दैन । त्यसैले जसरी हुन्छ जनतालाई भ्रममा
पारेर सम्पूर्णमा दावा गर्नबाट रोकेर सानो स्थानमा नै सिमित पार्ने अभ्यास गरिएको
छ । आफ्नो जात, समुदाय वा सम्प्रदायमा सानो सानो समुह
बनाई मुलधारबाट टुक्र्याउन सफल भएका कारणले नै कोही निश्चित समुहलाई आफ्नो
सम्पत्ती ठान्छ । त्यो समुहको कुनै चल्तापुर्जालाई आफ्नो प्रभावमा लिएमा आफ्नो
दुनो सोझिन्छ , जनता भने आफु एकको हातबाट अर्काको
हातमा बेचिएको पत्तै पाउन्न ।
दलको सोझो गर्दा दुई पटक पद र
गोपनियताको शपथ लिन बाध्य उपराष्ट्रपतिले समेत नेपालमा अहिले चलिरहेको चार दलिय
जमिन्दारी पचाउन सकेनन् । नेपालमा चार दलले जे गर्यो त्यो हुने, राष्ट्रपति, आफू तथा प्रणालीका हरेक अंग उनीहरु कै
मर्जीमा चल्ने भनेर लाचारी व्यक्त गरेका हैनन् । बरु यो अबसर हो जनता अब जाग र
आफुलाई भेडा बाख्रा सरह व्यवहार गर्नेको उछित्तो काढ भनेको हो । यो निर्वाचनले नेपाली
जनताको भाग्य रेखा कोर्नु पर्छ । संविधानको पुस्तकमा लेखिदैमा नेपालीको कुनै
समस्या हल हुदैन, हुने भए अन्तरिम संविधानको धारा
१८(१)मा रोजगारीको हक लेखिएको छ , यो
हक कत्तिको प्राप्त भयो त्यो खाडी मुलुकमा गएर रगत पसिना बगाउन बाध्य पारिएका
नेपाली पौरखी पाखुरीलाई सोध्नुपर्छ । कोरिया जान भाषा परीक्षाको लाममा अघिल्लो
दिनदेखि भोकै प्यासै बस्ने बेरोजगार युवालाई सोध्नु पर्छ । त्यसै धाराको (३)ले
खाद्यसम्प्रभुताको हक दिएको छ, यो
हकले के दियो भन्ने कुरा दुई किलो चामलका निमित्त जिल्ला सदरमुकाममा सिडियो
कार्यालयमा लाईन बसेर सिडियोको तोक पर्खने जनतालाई सोध्नु पर्छ ।
यो निर्वाचन भए पनि वा नभए पनि अब
नेपाली जनता जाग्नु पर्छ । पहाडे मधिसे भएर हैन, मतवाली तागाधारी भएर हैन नेपाली भएर जाग्नु पर्छ र आफु माथि
जमिन्दारी जमाउनेहरुको साम्राज्य समाप्त पार्नु पर्छ । कोही दलित रहनु हुन्न, दलित शब्दलाई अब इतिहास पार्नु पर्छ, कोही पिछडिएको रहनु हुन्न, सबैलाई अगाडी ल्याउनु पर्छ । यो काम
नेपाली भएरमात्र गर्न सकिन्छ , यसका
निमित्त मुलुकमाथि हैकम चलाउने नव अधिनायकहरुको समाप्ती गर्नु पर्छ । यसका निमित्त
बन्दुक उठाउन आवश्यक छैन,
लाठी बर्साउनु पर्दैन । निर्वाचन भएमा
आफ्नो मत केवल आफ्नो विवेकको आदेशमा दिए पुग्छ
। निर्वाचन नभएमा पनि तिमीहरुको हैकम अब हामी मान्न तैयार छैनौं भन्ने
सन्देश आफ्नो क्षमता अनुसार सिधै वा परोक्षरुपमा दिए पुग्छ । मानसिक दासता छोडेर जनता
जाग्ने वेला हो यो, भोली आफ्ना नाती पनातीले आफ्नो नाम
लिंदा गौरव गरुन भन्ने सोच्ने वेला हो । (प्रकाशित मिति २०७० कार्तिक २८ गते
बिहीबार)
