(जनकमान डंगोल)
अलिगढ़
भारतको उत्तर प्रदेशमा पर्छ र त्यहाँ बनाएको साँचोलाई चोरको बाउ चण्डालले पनि
फुटाउन सक्दैन भन्छन् । त्यहि अलिगढ़को ताला प्रभुको इशारा नेपाली कांग्रेस र एमाले
फुटाएर मदेशी दल बनाउन सुर्याउने नं. १ नेता महन्थ ठाकुर, नं. २ नेता ह्दयेश त्रिपाठी, नं. ३ नेता राजेन्द्र महतो र अरु ऐरे
गैरे नत्थु खैरेको मुखमा लागेको देखिन्छ भने मधेशी नेतामा पुर्वेली गच्छेदार एक्लै
हुंकार्दै छन् ।
गच्छेदार
छाती ठोकेर भन्दैछन्, “अब हुने निर्वाचनपछि मेरो अनुपस्थिति
बिना न राष्ट्रपति चुनिन्छ न सरकार । सिधा र सहि अर्थमा भन्ने हो भने अंग्रेजी
भाषामा उनि एक्लैले अरु ३ ठूलादललाई च्यालेन्ज अर्थात् चुनौती दिंदै छन् । उनको
च्यालेन्ज सहि या गलत के हो त्यो त निर्वाचनपछि थाहा भई नै हाल्छ । हामीलाई बहुमत
दिनुभयो भने संविधान बन्छ तर बहुमत दिनु भएन भने कुनै हालतमा संबिधान बन्दैन यो
धम्की दिने अरु कोहि नभएर एसियाको सबै भन्दा धनि
पार्टी एनेकपा माओवादीको अध्यक्ष
एवं स्वयम घोषित राष्ट्रपति पुष्पकमल दाहाल भनिने क.प्रचण्डको हो र उनको यो भाषामा
कोरस गाउनेमा उनी पछिका दुई ठूला नेताहरू डा.क.बाबुराम भटराई र नारायण काजी
श्रेष्ठ पर्दछन् भने अरु ऐरे गैरे नत्थु खैरेको के हिसाब गराई भो ।
हाम्रो पार्टीलाई भोट दिनुस् । हाम्रो
पार्टीले बहुमत ल्याएन भने कुनै पनि हालतमा संबिधान बन्दै बन्दैन । म ठोकुवाको साथ
भन्न सक्छु अलिनो र मलिनो स्वरमा नेपाली कांग्रेसको सभापति शुसिल कोइराला पनि यहि
धम्की दोहोर्याउँछन् र उनको धम्कीमा देउसुरे मिलाउनेमा उनी पछिका दोश्रा र तेश्रा
शेर बहादुर देउवा तथा रामचन्द्र पौडेल पनि छन् भने अरु भुराभारिको के हिसाब गराई
भो ।
यस्तै लय तथा स्वरमा धम्कीको भैलो
भट्याउनेमा एमाले नामको कम्युनिस्ट पार्टी पनि पर्दछ । कम्युनिस्ट पार्टी त्यहि
माथि हिजो अल्पमतको चिट्ठा परेर ९ महिना सरकार हाँक्दा पपुल्यारिटी नेप्सेको सेयर
सूचकाँक जस्तै ह्वात्तै माथि पुग्या तर ५६ मा पार्टी फुटेपछि पपुल्यारिटी स्वात्तै
तल झरेको पार्टी हो एमाले । त्यहि माथि यो ८ बर्षको दौरानमा विपक्षीहरूले तेश्रो
लिंगी, न पोथी न भाले एमाले भनेर गिज्याउन
समेत बाँकी राखेको छैन । हिजो नम्र बोल्थे तर संगत गुनाको फलले होला आजकल जेमा पनि
धम्कीको भाषा प्रयोग गर्दछन् ।
यी माथिका ठूला पार्टी बाहेक राजनीति
वृतमा अछुत झैं ब्यबहार गरिएको एउटा पार्टी छ त्यो रा.प्र.पा.नेपाल । हुन त यहि
नामको आर्को पार्टी रा.प्र.पा पनि छ जसलाई हिजोको माहापञ्च सूर्य बहादुर थापा, प्रकाश चन्द लोहनी, पशुपति शम्सेर राणाहरुले हाँकेका छन् तर
त्यो पार्टीले कांग्रेस कम्युनिस्टले झैं धर्म निरपेक्ष तथा गणतन्त्र ठिक भन्न
थालेको छ ।
यी सबै पार्टी भन्दा अलग नाम र पहिचान
हिजो पंचायतकालको तर २०४७ सालको संविधानलाई आत्मसात गरेर हिंडेको पार्टी भनेको कमल
थापाले नेतृत्व गरेको रा.प्र.पा.नेपाल हो । जसको मुख्य माग भनौं वा मुद्दा २०४७
सालको प्रजातान्त्रिक संविधान किन र के कारणले हटाइयो ? को कसको इसारामा जनताको मत नलिई
रातारात चोर बाटोबाट धर्म निरपेक्ष गणतन्त्र घोषणा गरियो ? हामीलाई विजयी गराउनु भो भने हामी २०४७
सालको संबिधान पुन: लागु गराउँछौ । यस्तो भन्दै याचनापूर्ण भाषामा भोट माग्न
हिंड्दै छन् ।
तर, जनताको घर दैलोमा भोट माग्न जाने
बेलामा ठूला पार्टी हौं भन्नेहरूका उम्मेदवारहरु सिन्दुरे जात्रा गर्दै घाँटीमा
खादा र माला अनि राताम्य भएर घर दैलोमा पुग्छन् । अगाडी अगाडी तिनका कार्यकर्ताहरु
कोहि आयो क्रान्तिकारी पार्टी भनेर एमाओवादीकाले रातो कम्युनिस्टको झण्डा
हल्लाउँछन् । रुखले दिन्छ सितल, रुखले
छेक्छ घाम भन्दै कांग्रेसका, आयो
एमाले सररर भन्दै एमालेका । मुखबाट निस्कने शब्द यति मात्रै हो । त्यो भन्दा बढी
बोल्दा पनि बोल्दैनन् र बोल्न पनि चाहँदैनन् किनभने तिनका कार्यकर्ताहरुलाई पनि
राम्रैसित थाहा छ २४ बर्षमा पार्टी र नेताले माखो मारेको छैन भनेर ।
संविधानसभाको यो नाटकरुपी चुनाव यदि भै
नै हाल्यो भने मत दिनु पर्छ तर जुनसुकै पार्टीका किन नहुन युवा, सक्षम, नया जोस जाँगर र देश र जनताकोलागि गर्छु भन्ने भावना बोकेकोलाई दिनु पर्दछ
। देशभक्त तथा राष्ट्रलाई माया गर्ने सबै पार्टीमा छन् । मत दिनु भन्दा अगाडी
सोध्नुहोस् २०४७ सालको संविधान जस्तै बनाउछौ कि बनाउँदैनौ भनेर तर बिर्सेर पनि २४
वर्ष देसमा हाली मुहाली गर्ने ती छेपारे प्रवृत्तिकालाई चैं भोट नदिउँ । (प्रकाशित
मिति २०७० कार्तिक २८ गते बिहीबार)
