वैद्य समुहको वहिष्कारले निर्वाचनलाई खल्लो बनायो: अध्यक्ष थापा

क्राइमचेक प्रतिनिधि/
वीरगंज/राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकको ध्यान संविधानसभा निर्वाचनमा केन्द्रित भएको बेला माओवादी बैद्य समुह लगायतको मोर्चाले गरेको बहिष्कारले निर्वाचनलाई खल्लो, अधुरो र असहज बनाएको बताउनुभएको छ ।
            वीरगंजमा बुधवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताउनु भएको हो । वहाँले संकटको चक्रब्युहमा फसेको मुलुकलाई संविधानसभाको निर्वाचनले मात्रै निकास दिनेकुरामा जोड दिनुभयो ।
            उहाँले जातियताको आधारमा संघियता आफ्नो दललाई मान्य नहुने र नेपाललाई नेपाली जनताले हिन्दुराष्ट्रको रुपमा स्थापित गराई छाड्ने दाबी गर्नुभयो ।
            अध्यक्ष थापाले एकिकृत माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र मधेसी मोर्चाको एकाधिकारवादी सोचाई र निषेधको राजनितीले असहज स्थिती सृजना भएको आरोप लगाउदै देशले भोग्नु परेको पीडाको निकास निर्वाचन बाहेकको अन्य बिकल्पबाट नहुने समेत बताउनुभयो ।
            उहाँले १६ हजार मान्छे मार्ने, मराउने काम गरेर यत्रो वर्ष बिनासित्तै खेराफालेर तथा १ सय अर्ब रुपैया खर्च गर्दा पनि संविधान दिन नसक्नु दूर्भाग्यपूर्ण बिषय भएको बताउँदै ठूला दलको ओठे प्रतिबद्धतालाई
नेपाली जनताले राम्रोसँग बुझिसकेका छन् भन्नुभयो ।
            अध्यक्ष थापाले कुनै एउटै पार्टीले बहुमत ल्याए संबिधान बन्न नसक्ने बताउँदै संविधान सहमति र सम्झौताको आधारमा निर्माण गरीने दस्ताबेज भएको हुँदा एकदलीय रुपमा बन्ने संबिधान नेपाली जनतालाई मान्य हुन नसक्ने बताउनुभयो ।
            उहाँले काँग्रेस र एमाले ७ वर्षदेखि गणतन्त्र लगायतका एजेण्डामा माआवोदीको पुच्छर बनेको कारण मुलुकले निकास पाउन नसकेको समेत आरोप लगाउनुभयो ।
      कार्यक्रममा राप्रपा नेपालको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार बबिता तिवारी, क्षेत्र नं. २ का उम्मेदवार राजिव पराजुली लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । (प्रकाशित मिति २०७० कार्तिक २८ गते बिहीबार)

SHARE THIS

Author:

Facebook Comment