भत्ताको
विषयमा विवाद हुँदा तालिम अवरुद्ध
क्राइमचेक
प्रतिनिधि/
वीरगंज/निर्वाचन
कार्यालयले सञ्चालन गरेको मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको तालिममा
भत्ताको विषयलाइ लिएर विवाद उत्पन्न हुँदा झण्डै ५ घण्टा तालिम अवरुद्ध भएको छ ।
तालिममा सहभागी ७ सय ५० जना मतदान
अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई निर्वाचन कार्यालयले तालिममा सहभागिता जनाए
बापत ३ हजार ९ सय ५० रुपैया दिनु पर्नेमा १ हजार रुपैयाँ मात्रै दिने सुचना टाँस
गरे पछि सहभागी कर्मचारीहरु विरोधमा उत्रदा तालिम नै अवरुद्ध हुन पुगेको हो ।
तालिम चलिरहेको श्रीपुर उच्च मावि
परिसरमा नाराबाजी र निर्वाचन विरुद्ध प्रदर्शन हुन थालेपछि त्यसलाई साम्य पार्न
प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय, ५
वटै क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयका प्रमुखहरु पुगेका थिए ।
आक्रोशित कर्मचारीहरुले निर्वाचन
कार्यालयले कर्मचारीको संख्या
तोकेर लाखौको भ्रष्टाचार गर्न लागेको र ४० रुपैयाँको
नास्तामा ४ सयको बिल तथा ८ सयको ब्यागमा १२ रुपैयाँको किटव्याग थमाएको भन्दै तालिम
परिसरमा कागज पत्र र किटव्याग छरेर प्रदर्शन समेत गरेका थिए ।
निर्वाचन कार्यालयले मतदानका लागि
खटाउने कर्मचारीका लागि आयोजना गरेको तालिममा लाखौँको भ्रष्टाचार गर्न खोजिएको
भेटिएपछि आफुहरुले त्यसको विरोध गरेको तालिममा सहभागी सहायक मतदान अधिकृत रविनन्दन
सिंहले बताउनु भयो ।
यता निर्वाचन कार्यालय पर्साका प्रमुख
मधुकर पोखरेलले निर्वाचन आयोगको निर्देशन बमोजिम आफूहरुले तालिम लिन आएका
कर्मचारीलाई टिए, डिए र आर्थिक नियमावली अन्तर्गत उपलब्ध
गराउन सक्ने भत्ता मात्र दिने अधिकार रहेको हुँदा सोहि मुताबिक गर्दा कर्मचारीहरु
विरोधमा उत्रेको बताउनु भयो । अन्य जिल्लामा आयोगको निर्देशन विपरित काम भएको समेत
पोखरेलले बताउनु भयो । पोखरेलले बारा जिल्लामा निर्देशन विपरितको काम हुँदा
पर्सामा समेत निर्वाचन कार्यालयलाई जबरजस्ती भत्ता उपलब्ध गराउन बाध्य बनाइएको
समेत खुलासा गर्नु भयो ।
यसैबीच तालिममा सहभागि मतदान अधिकृत र
सहायक अधिकृतहरु नै मत हाल्ने तरिकाबाट अनभिज्ञ बनेका छन् । तालिममा सहभागिलाई नमुना
मतदान गराएर देखाउनु पर्ने भए पनि नमुना मतदान गर्ने कार्य नै नगरी तालिम समापन
गरिएको हुँदा निर्वाचनमा खटिने अधिकृतहरु अन्यौलमा परेका हुन् । तालिममा सहभागिता
जनाए पनि मतदान अधिकृत र सहायक अधिकृतहरु निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने
विषयमा समेत अन्यौल रहेको सहभागीहरुले बताएका छन् ।(प्रकाशित मिति २०७० कार्तिक २८
गते बिहीबार)