नवलपरासी, बैशाख १२ – जिल्ला वन कार्यालय नवलपरासीका सात जना कर्मचारी फरार भएका छन् ।
खयरको काठ बिक्री गर्न कागजपत्र मिलाएको आशंकामा वन कार्यालयका कर्मचारी छानविनमा परेपछि ७ जना कर्मचारी फरार भएका हुन् ।
तत्कालिन निमित्त जिल्ला वन अधिकृत उपेन्द्र चौधरी, सहायक वन अधिकृत सुरेश गुप्ता, इलाका वन कार्यालय कावासोतीका सहायक वन अधिकृततद्वय विष्णु न्यौपाने, बलराम खकुराल मुकुन्दसेन, रेञ्जपोष्टकी सहायक वन अधिकृत भगवती बगाले, फरेष्टर विष्णु थापा र वन रक्षक टंक गोतामे फरार भएका हुन् ।
खयरको काठ बरामद भएपछि रतनपुर गाविसका सचिब सुर्य पराजुली र नापी कार्यालय कावासोतीका अमिन हरि भट्ट पनि छानविनमा परेका छन् ।
क्षेत्रिय बन निर्देशनालय पोखरा र जिल्ला वन कार्यालय नवलपरासीले खयर बिक्रीका बारेमा अनुसन्धान थालेको छ । तर बयानका लागि कर्मचारी नै फरार भएकाले समस्या भएको अनुसन्धान अधिकृत काफ्लेले बताउनु भयो ।
अनुसन्धानका लागि बैशाख ५ गते उनीहरुलाई पत्र काटिएको थियो । धनञ्जय पौडेल नयाँ जिल्ला वन अधिकृतको रुपमा आएपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको हो ।
ना ४ ख २६७९ र ना ४ ख ४२८० नम्बरको खयर लोड भएको ट्रक सहित दुई ड्राइभर सहित काठ बिक्री गर्ने सन्तबहादुर नेपाली र खरिद गर्ने चितवनका गौरब पौडेल पक्राउ परेको जिल्ला वन कार्यालयले जनाएको छ ।