काठमाडौं, बैशाख १२ / यातायात व्यवस्था कार्यालय वीरगञ्जका चारजना कर्मचारी निलम्वनमा परेका छन् ।
मृतकका नाममा सवारी चालक अनुमतिपत्र जारी गर्ने काममा संलग्न भएको अभियोगमा यातायात व्यवस्था विभागले नायव सुब्बा घनश्याम बोगटी, रामवहादुर बराल, प्रेमकुमार भट्टराई र खरिदार भीम बहादुर केसीलाई निलम्वन गरेको हो ।
मृतकका नाममा लाइसेन्स जारी गरेको विषयमा छानवीन गर्न विभागका निर्देशक देवीराम भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको विभागका निर्देशक चन्द्र फुयाँलले जानकारी दिनुभयो ।
टोली छानवीनका लागि वीरगञ्ज गएको फूयाँलले जानकारी दिनुभयो ।
विभागले अस्ति १० गते यातायात व्यवस्था कार्यालय वीरगंजका शाखा अधिकृत इश्वरी ढकाललाई पनि निलम्वन गरेको थियो ।