नारी अस्मिता

–सीता पौडेल

“तातै खाउ जल्दै मरौ” भन्ने जस्तो प्रवृत्ति भएकाहरुले नै आफैंद्वारा आफ्नै लागि नर्कको बाटो खोलिरहेका हुन्छन् । शरीर र उमेरले परिपक्व भए पनि कहिलेकाहीँ वुद्धिले परिपक्व हुन नसकेकाहरु नै प्राय: खाडलमा खस्ने गरेका छन् ।

उमेर संगसंगै बढ्दै गरेको आफ्नो जवानीमा उन्मत्त भएर हिंड्नेहरुले नै गरेको गल्ती या पाप लुकाउन आत्महत्या जस्तो बाटोलाई अंगाल्न पुग्छन् । शिक्षा अनि चेतनाको यति विकास हुँदा पनि आफ्नो बुद्धिमा बिर्को लगाएर आफु रमाउने वातावरण खोजिरहेका हुन्छन्, फलस्वरूप पछि गएर उनीहरुको अगाडी आएर उभिइदिन्छ ।

हुन त म पनि एउटा नारी नै हु र यो पनि देखिरहेकी छु कि नारीहरुका स–साना गल्तीहरुलाई एउटा चलचित्रको पर्दामा चरीत्रको पर्दाफास गरे जस्तै समाजमा पनि नंग्याउने काम भै रहेको हुन्छ भने त्यही समाजले नै पुरुषहरूद्वारा भएका गल्तीहरुलाई विभिन्न कुराहरूको उदाहरण दिएर ढाकछोप गरि राखेको हुन्छ ।

बारम्बार महिला अधिकार हनन भयो भन्ने आवाजले अझैं गन्तव्य पाएको छैन, जानी नजानी भएका गल्तीहरुलाई एकातिर राखेर अर्कोतिरको छेउबाट पनि हेरौं जहाँ कति नारीहरु आफ्नै घरपरिवारबाट अपहेलित भै ज्यान सम्म गुमाइ रहेको अवस्था पनि छ । तर त्यहाँ पनि छानबिनको कुरा नभई पैसाले कुकर्म गर्नेहरूलाई प्रोत्साहित गरि रहेको हुन्छ, बलात्कारको केसमा पनि पुरुषलाई भन्दा नारीलाई नै नभएको दोष देखाइने गरिएको छ ।

घर घर भित्रको कथामा पनि अपहेलित बुहारीहरुको वेदनाले चिच्याई चिच्याई गुहार मागी रहेको हुन्छ तर त्यो आवाज शुन्यतामा गएर बिलाउने गर्छ , हाम्रो समाजले सधैं यी कुराहरूलाई बिर्सी रहेको हुन्छ कि जुन घरमा नारीको सम्मान हुँदैन त्यस घरमा कहिल्यै पनि सुख शान्ति हुँदैन ।

जान्दाजान्दै पनि गरिएका गलत प्रवृत्तिलाई नारी आफैंले भोग्ने गरेका छन् । तर ती पीडित नारीहरु जसले आफूसँग प्रशस्त दाइजो नल्याउँदा वा छोरा नजन्माउँदाको आरोपमा जुन मार खेपिरहेका छन् तिनीहरुको घाउमा मलहम लगाउने काम कहिले पनि भएन । यस्ता घटिया सोचले ग्रसित भएका मानिसहरुको जरैदेखि नै अन्त्य गर्न जरुरी भएको छ ।

महिलाको लागि महिला नै शत्रु भएको थुप्रै उदाहरणहरु छन्, त्यसैले गर्दा पनि महिला अधिकारको आवाजले गन्तव्य पाएको छैन या भनौं बुलन्दित भएको छैन । वास्तवमा महिला अधिकारलाई हनन हुन नदिई गन्तव्य सम्म पुर्याउने हो भने नारीले नै नारीको सम्मान गर्दै अगाडी बढ्न जरुरी छ । आफ्नो रक्षा र आफ्नो अस्मिताको चिरफार नगराउन नारी आफैंले पनि सजक हुनु जरुरी छ, र पुरुषहरुले पनि यो बुझ्न जरुरी छ कि नारी आमा हो सृष्टिकर्ता हो र भगवानले दिएको एउटा अमुल्य उपहार हो जसको रक्षा गर्नु मूल कर्तव्य पनि हो ।

प्रकाशन मिति:२०७२ फागुन २० गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment