पृथ्वी नारायण शाहको जय–जयकारले गुञ्जियो वीरगंज

पौष २७/वीरगंज/गणतन्त्र स्थापनापछि सरकारले राष्ट्रिय एकताका प्रतीक र राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाउन रोक लगाएपनि राष्ट्रभक्त देशभक्त नागरिकहरूले देशभर विभिन्न कार्यक्रमको आयोजना गरी २९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाइरहेका छन् ।

यसैक्रममा पर्सा जिल्लावासी नागरिकहरूले पनि सदरमुकाम वीरगंजमा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएका छन् ।

स्थानीय होटेल सम्झनामा आयोजित एक कार्यक्रममा पृथ्वी नारायण शाहको पूर्ण कदको फोटोमा विधिपूर्व पुष्पगुच्छा, माल्यार्पण र र अबिर लगाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानबारे चर्चा गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रमपश्चात कार्यक्रममा सहभागी हजारौं सर्वसाधारण नागरिकहरूले बिभिन्न बाजा गाजा सहित “पृथ्वी नारायण शाह अमर रहुन्, राष्ट्रि एकता जिन्दावाद, राजासितको सझौता कायम गर,  सनातन हिन्दू राज्य कायम गर, अखण्ड नेपाल कायम गर, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका अनेकौं गगनभेदी नारा लगाउँदै घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया चोक, कैलास चोक, घडिअर्वा लगायतका ठाउँमा नगर परिक्रमा गर्दै मनाइएको सो समारोहका वक्ताहरूले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदान बिर्सिनेलाई इतिहासले माफी नदिने चेतावनी दिए । साथै राज्यले पृथ्वी नारायण शाहको योगदान बिर्सिएपनि हरेक राष्ट्रवादी नेपालीको मन मुटुमा नेपालको अस्तित्व कायम रहेसम्म पृथ्वी नारायण शाह बिराजमान रहिरने कुरामा कसैको दुईमत नरहने बताए ।


नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय पर्सा, नेपाल विद्वत परिषदको संयुक्त अगुवाइमा आयोजित सो कार्यक्रममा एकताको सन्देश दिंदै अर्का राष्ट्रवादी राष्ट्रिय नागरिक संघर्ष समिति पर्सा पनि ब्यानर सहित बीचबाटोमै आएर संयुक्त रुपमा कार्यक्रम गर्न तथा नगर परिक्रमामा सँगै आएपछी सहभागीहरूमा थप हौसला र उत्साहको माहौल देखिएको थियो ।

कार्यक्रममा समाजसेवी पशुपति बिक्रम शाह–श्रीमति उषा शाह दम्पत्ति, नेपाल राष्ट्रवाद संघ पर्साका केन्द्रिय अध्यक्ष जनकलाल साह, नेपाल विद्वत परिषदका केन्द्रिय सदस्य नरेशराज गिरी, राष्ट्रिय नागरिक संघर्ष समितिका अध्यक्ष दिनानाथ यादव  पशुपति रौनियार, राम नारायण साह, अरुण बिक्रम शाह, प्रणय कुमार, सन्तोष मिश्र, गजेन्द्रदेव ठकु, राजसंस्था पुनर्स्थापना संघर्ष समितिका राजकिशोर चौबेलगायत हजारौं सर्वसाधारण नागरिकको उपस्थिति थियो ।

यता पृथ्वी नारायण शाहकै जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा वीरगंजका स्थानीय युवाहरूको एक समुहले साँझ पाँच बजे पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन लागेको स्थानीय राजन रौनियारले बताएका छन् ।



SHARE THIS

Author:

Facebook Comment