
असोज मै संविधान जारी नगरे आकाशै खस्छ भने जस्तो गरियो । मानविय सम्वेदना शुन्य चरित्र प्रदर्शन गरेर जसरी भए पनि संविधान जारी गरी छोड्ने हठले जित्यो । कयौं नेपालीको मृत्युले हठ छुटेन । मुलुकका विभिन्न भागमा भुईचालो पीडितलाई तत्काल सहायता स्वरुप पठाईएका चामल सडदैछन । यो भन्दा ठूलो मानविय सम्वेदना हराएको अरु प्रमाण के हुन सक्छ ?
महिनौं मुलुक ठप्प पारेर आफ्नै मुलुकका नागरिकहरु बीच वैमनश्यताको बिउ रोप्न खोजेर तथाकथित उपलब्धी संस्थागत गरियो । प्रकृति प्रकोप पीडितहरुको पिडा बढाएर कयौंको ज्यानधन असुरक्षित पारेर बलियो पारेको भनेको उपलव्धी अहिले आएर ढोडको तोक्मा भएको छ । त्यसैले उपलब्धीका जननी भएर विगत दशकमा ढलीमली गरेकाहरुको मुख सुकेको छ । डरले थर्कमान भएका छन्, अनि जताततै बर्बराउदै हिंडदैछन “नेपालमा राजसंस्था फर्कन्न” ।
उनिहरुको यो डर, यो बर्बराहट नै अव छिटै राजसंस्था फर्कदैछ भन्ने कुराको बलियो आधार हो । त्यसैले राजसंस्थामा आस्था राख्नेहरुले यस्ता बहुलट्टी कुराको उत्तरमा समय र श्रम खर्च गर्ने आवश्यकता छैन । बरु दशकौदेखिको संत्रास, अभाव र कठिनाईमा प्राण धान्न विवश नागरिकको बारेमा सोच्ने समय हो । परिवर्तको भोलीपल्टदेखि नै केही सुधार भएको जनतालाई अनुभूति गराउनुपर्ने समय आउदैछ ।
छयालीसको परिवर्तन जनसाधारणको निमित्त आएन, त्यस्तै ०६३को परिवर्तनमा पनि जनताले सुविस्ता हैन थप कष्ट भोग्नु पर्यो । त्यसैले जनता हमेशा यस्तो एक परिवर्तनको खोजीमा छन् जसले तत्कालदेखि नै सुविस्ता होस् । झण्डै अढाई दशकदेखि जनताको भागमा कोरा आश्वासन सिवाय केही परेको छैन ।
हिजो आफुले गाँस काटेर गुन्दुक र ढिडो खुवाएकाहरु आज तारे होटल वा रिसोर्टको बाहेक अरु खाना नरुच्ने भएका छन् । भुक्के चप्पल आलपिनले घोचेर लगाएकाहरु लाखौ करोडौको गाडी अनि हेलिकप्टर बाहेक बाहिर निस्कनै नसक्ने भएका छन् । तर आफ्नो भांडो भने रित्तदो छ, आ·को लुगा सत्र ठाममा दुलो परेको छ । केही वर्ष पर्ख सुनौलो भविष्य आउँदैछ भन्ने भाषण सुन्नु बाहेक काम नै छैन ।
जो सम्पूर्ण नेपालीको साझा सम्पत्ति हो त्यसलाई लुटको धन झै भागवण्डा लगाएको विवश भएर हेर्नु बाहेक उपाय छैन । काम गरौ इलमका मुहान नै बन्द छन्, भोक लाग्यो भोजन छैन । गरिव र धनीको विचको खाडल वारीपारी देख्न पनि कठिन हुने विशाल छ । प्राकृतिक प्रकोपका वेला आफुलाई संसार भरकाले पेट काटेर पठाएका खाद्य सामाग्री समेत भागवण्डा नमिलेर डोजरले पुरेको देख्नु परेको छ । यो आजको वास्तविकता हो ।
नेपाल अब फेरी परिवर्तनको संघारमा पुगेको छ । केही दिन, केही हप्ता वा केही महिना हुन सक्ला तर मुलुकमा परिवर्तन अवश्यांभावी छ । तर प्रश्न यहाँ पनि त्यही नै छ, के यो परिवर्तन पनि पहिलेका जस्तै केही सिमितको निमित्त होला ? एकथरी पछि अर्को थरी गर्दै आफ्नो योगदानको कचौरा थाप्नेको भिडले जनता फेरी वाल्ल पर्नु पर्ला ?
आशा गर्न सकिन्छ यो पटक जनताको भागको सुविस्ता योगदानका कचौरा थाप्नेहरुले हरण गर्ने छैनन् । परिवर्तनमा आस्थावान भएका वा योगदान गरेकाहरुले यसलाई बाली भित्र्याउने अवसरको रुपमा लिने छैनन् । बरु यसलाई चुनौतीको रुपमा लिनेछ, देशको, जनताको मुहार हँसिलो बनाउने चुनौती । परिवर्तन अगावै उनीहरुसँग कार्य योजना तैयार हुनेछ । विना एक पल विलम्व मुलुकलाई प्रगतिमा लैजान मेहेनत गर्ने आधारभूमि तैयार भैसकेको हुनेछ ।
हरेक राष्ट्रभक्त परिवर्तनमा योगदानको भत्ता माग्न हैन थप योगदान पुर्याउन तैयार हुनै पर्दछ । वास्तविक परिवर्तन भनेको के हो र यसले कसरी मुलुक र जनताको मुहार उज्यालो बनाउँछ त्यो अनुभुति गराउनै पर्ने हुन्छ । त्यसको निमित्त के गर्दा हुन्छ सोच्ने बेला आईसकेको छ । काम गर्न पद वा मान नै चाहिने संस्कारलाई छोडेर मातृभूमिको ऋण तिर्न आफ्नै वर्कतले काम गर्ने चुनौती लरतरो हैन । यो चुनौतीमाथि राष्ट्रभक्तले विजय प्राप्त गर्नै पर्दछ ।
विराटनगर–१