पत्रकारहरुको हक हितको सवाल

– सन्तोषकुमार मिश्र
नेपाल भरका झण्डै ८ हजार संचारकर्मी सदस्य रहेका पत्रकारहरुको छाता संगठन  नेपाल पत्रकार महासंघको राष्ट्रिय महाधिवेशन आगामी बैशाखमा हुँदैछ । यतिखेर नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुको कार्य समितिका पदाधिकारी र केन्द्रिय प्रतिनिधि (सभासद)को निर्वाचन जारी छ । छापा, टेलिभिजन, रेडियो (एफ.एम.) अनलाइनमा कार्यरत संचारकर्मीहरु राजनीति पार्टीको भातृ संगठनको रुपमा रहेको प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, मधेशी पत्रकार संघ, जनजाति पत्रकार संघ लगायत एक दर्जन भन्दा बढी पत्रकारहरुको हकहितका लागि भनेर स्थापना भएका, संघ र संगठनमा आवद्ध छन् । सबै संघ र संगठनमा आवद्ध भएका संचारकर्मीहरु नेपाल पत्रकार महासंघको झण्डा मुनि बिभिन्न विचार र स्वार्थ लिएर गोलबन्द छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र जिल्ला शाखाका कार्यसमितिहरुले पत्रकारहरु तथा संचार माध्यमको हकहितसंरक्षण, पेशागत मर्यादा र सुरक्षाका लागि उपलब्धिमूलक र उल्लेख्य काम केही गर्न सकेका छैनन् । संगठन छ तर संगठनबाट पुग्नुपर्ने सहयोग केही छैन । संचारमाध्यममा प्रत्याभूतिका लागि पत्रकार महासंघले ठोस काम गर्न सकेको
छैन । रचनात्मक र सिर्जनात्मक कामहरु, राष्ट्र, राष्ट्रियता र स्वाधीनता रक्षाका लागि पत्रकारहरुलाई प्रतिबद्ध र कटिवद्ध बनाउन, आइपरेको बेला एकता प्रदर्शन गर्न, सशक्त दबाब सिर्जना गर्न नेपाल पत्रकार महासंघले सकेको छैन । प्रत्येक तीन वर्षमा संघको चुनाव हुन्छ चुनावको समयमा पत्रकारहरुमा सक्रियता आउँछ, एउटा थलोमा भेट हुन्छ, बिभिन्न प्रश्नहरु उठाइन्छ, चुनावपछि ती सबै वेकामे बन्ने गर्दछन् । संचारकर्मीहरु लगभग नयाँ पुस्ताका छन्, उनीहरुको संख्या ठूलो छ, शिक्षा, सीप र दक्षता पनि देखापरेको छ । युवापुस्ता हरुमा राष्ट्र र समाजलाई संचार माध्यमबाट केही योगदान दिउ भन्ने भावना पनि छ । त्यो जनशक्तिलाई नेपाल पत्रकार महासंघले सदुपयोग गर्न, संगठित पार्न र योजनाबद्ध र उद्देश्यमूलक ढंगले कार्यक्षेत्रमा अघि बढ्न जे जस्ता प्रयास गर्नु पर्दथ्यो त्यो गर्ननिकै विलम्ब भएको छ । पत्रकारितामा संख्यात्मक वृद्धि भयो गुणात्मक वृद्धि भएन भन्ने कुरालाई पनि सम्बन्धित पक्षले गम्भीरता पूर्वक लिएको पाइदैन । विद्युतीय र छापासंचार माध्यमहरुले मुलुकको सुरक्षा र समृद्धिको लागि खेल्नु पर्ने अनिवार्य आवश्यकताका भूमिकाहरु धेरै छन् । त्यसका लागि नेपाल पत्रकार महासंघले निरन्तर तालिम, गोष्ठी अन्तरक्रिया राख्नु पर्ने हो तर चुनाव पछि कार्य समितिको बैठक समेत नबस्ने, पत्रकारहरुका बीचमा कार्यगत एकता नहुने जुन दूर्भाग्य छ अबको अधिवेशन पछि नदोहोरियोस् ।

SHARE THIS

Author:

Facebook Comment