'छोरी भए पनि केही हुन्न आजकालको जमानामा'


–जमुना शर्मा वर्षा
पश्चिमाञ्चल गण्डकी अस्पतालको प्रसुती वार्डतिर लाग्दा असह्य वेदनाका चित्कारले एकचोटी स्तब्ध पार्छ। जीवनमा आमा भैसकेकाहरु एकचोटी अतीत सम्झन्छन् भने हुने प्रक्रियामा रहेकाहरु एक प्रकारको त्रासमा देखिन्छन्। यो माझमा पुरुषहरु भने ती चित्कारबाट अपरिचित हुन्छन्। हाँस्दै आफ्नो बाटो लाग्छन्। 
 
म सुत्केरी महिलाको तथ्यांक बुझ्न पश्चिमाञ्चल गण्डकी प्रसुति वार्डको वरिपरि घुमिरहेकी थिएँ। सबैजना आआफ्नै धुनमा थिए। प्रसुतिवार्डको भित्र महिलाहरु चिच्चाएको आवाजहरु आइरहेका थिए। यही परिवेशमा सेरी ग्लासाको एक भनाइ “महिलाहरु किन बच्चा जन्माउँदा मृत्युवरण गर्छन् भन्ने मैले महसुस गरेकी छु। किनकी मृत्यु त्यसभन्दा कम पीडादायी हुन्छ।” यो भनाइलाई एकचोटि स्मरण गर्न पुगे। 
 
यो एउटा प्रक्रिया हो, जुन चित्कार क्षणभरमै खुसी र आनन्दमा परिणत हुन्छ। जीवनमा एउटा नयाँ नामकरणको शुरुवात हुन्छ। ती महिला आमा बन्छिन्। एकछिन अगाडि जीवन र मृत्युको दोसाँधमा रहेर पुकार गरिरहेकी महिला टाउकोमा रुमाल बाँधेर काखमा बच्चालाई न्यानो स्पर्श गर्दै मुसुक्क हाँस्छिन्। अब भने उनको जीवनले नयाँ मोड लिएको छ। उनले ती सबै वेदना अहिले जीवनको नयाँ प्राप्ति अर्थात सन्तान प्राप्तिले मेटाइदिएकी छिन्। यी सारा दृष्य साँच्चै कुनै नाटक एवं फिल्मका दृष्य जस्ता लाग्छन्। तर यो त्यसो नभई वास्तविक जीवनको सच्चा नाटक हो। 
 
संयोगले भेट भएकी एक पात्र थिइन् पहिलो पटक आमा बनेकी २४ वर्षीया सम्झना कार्की। उनको अनुहारमा खुशीको चमक नियाल्न सकिन्थ्यो। हल्का मुस्कान दिँदै प्रसुति वार्डबाट ह्विलचियरमा बसेर जनरल वार्डतिर लागिन्। उनीसँगै म पनि भित्र पसेँ। यो सृष्टिको एउटा प्रक्रिया हो। यी आवाज विस्तारै शक्तिमा परिणत हुन्छ। अनि छुट्टै आनन्दले मन रोमाञ्चित हुन्छ। यो खुशी भने सबैमा बाँड्न सकिन्छ। उनको भनाइको सार यही थियो। 
 
जीवन मरणको दोसाँधबाट मुक्तिको सास फेरेर नयाँ जीवनमा पदार्र्पण गरेकी ती नायिका आमालाई बाहिर भेट्न इष्टमित्र आफन्त शुभचिन्तक बसिरहेका थिए। विस्तारै उनीतिर सबैको पाइला बढ्यो। सबैले बडो सहानभूति राखे र बधाइ दिन थाले। बधाई दिइरहँदा अधिकांश उनका इष्टमित्रले उनलाई सम्झाउने पाराले अमूर्तशैलीमा भनिरहेका थिए, ‘छोरा भएको भए ढुक्क हुन्थ्यो तर छोरी भए पनि केही हुँदैन आजभोलिको जमानामा।’ 
 
पहिलो चोटि आमा बनेकी सम्झनालाई भने जनरल वार्डतिर आएपछि मात्र महसुस गरेको हुनुपर्छ मैले सन्तान होइन ‘छोरी’ जन्माएकी रहिछु भनेर। ‘पहिलो पटक छोरी जन्मेको राम्रै हुन्छ। लक्ष्मी हुन् केहि हुँदैन, हेर कति गोरी सलक्क परेकी, साह्रै राम्री हिरोइन नै हुने भइन्,’ विभेदको संवादहरु निकै दोहोरिरहेका थिए। मलाई यी सारा कुरा बोल्ने र भन्ने कुरै नपाएर गरिएका गफ जस्तो लागेको थियो। सुत्केरी भेट्न आएकी एकले त यसो पनि भनिहालिन्, ‘अहिले त छोरीको लहर चलेको छ। धेरैले छोरी पाएका छन् यहाँ पनि ... विचरा त्यो हिजो यता बस्ने बहिनीको त पहिले पनि छोरी रहिछ, अहिले पनि छोरी नै पाइ कति पीर मानेकी थिई।’ 
 
भर्खर प्रसुति वार्डबाट असहृय पीडालाई तिलाञ्जलि दिएर नयाँ जीवनको अनुभूतिलाई राम्रोसँग आत्मसात् गर्न नपाउँदै उनका वरीपरी झुम्मिएकाहरुको एकोहोरो संवादले सुत्केरी आमको मनमा पक्कै धेरै कुरा खेलेको हुनुपर्छ। उनको मनमा खेलेका कुराहरु शब्दबाट बाहिर आएका थिएनन्। उनले पुलुक्क बच्चा तिर हेरिन् र फेरी भेट्न आएकाहरुलाई हेर्दै उनीहरुका गफलाई अरुचिपूर्वक सुन्दै थिइन्। मैले छोरो जन्माएको भए सायद यहाँ यस्ता कुरा उठ्दैन थिए होलान्। 
 
यहाँ भइरहेका कतिपय दृष्य एवं संवाद मेरो जीवनसँग पनि मेल खाएका थिए। सायद यही भएर होला मैले यो अवस्था र यो अवस्था पछिको संवाद एवं व्यवहार बुझ्न समय लागेको थिएन। आमा हुनुको गर्व र पहिलो सन्तानको रुपमा छोरी पाउँदा यस्ता कतिपय संवाद आफ्नो जीवनसँग मेल खाने थिए। सम्झना रहेको बेडको उतापट्टि बेडमा छोरा जन्माएकी एक महिला सायद काँहु तिरकै हुनुपर्छ (उनीहरुले गरेको कुराकानीको आधारमा)। उनको घर मैले सोधिन। पहिलो सन्तानको रुपमा छोरा पाएकोले होला सबैको अनुहार चम्किलो देखिन्थ्यो। उनका आफन्त र भेट्न आउनेहरुले उनलाई जोड जोडले बधाइ दिइरहेका थिए। 
 
‘छोरो भयो ढुक्क भयो, अब चिन्ता लिनु पर्दैन,’ सायद ति आमाले पनि बल्ल थाहा पाएकी हुनुपर्छ मैले सन्तान मात्र जन्माएकी छैन ‘छोरो’ पो पाएकी छु। सायद उनमा अब दम्भ पो चढ्न थाल्यो कि। उनलाई भेट्न आउनेहरुले त्यस्तै अभिव्यक्ति दिएका छन्। उनी पनि नजानिँदो तरीकाले त्यसै अभिव्यक्तिमा फस्दै गएकी छिन्। सुषुप्त रुपमा उनमा फैलिएको दम्भ विस्तारै समाजमा देखिने छ अनि छोरी जन्माएकी आमा र छोरा जन्माएकी आमा बीचको खाडल फराकिलो हुनेछ र विभेदको अर्को अध्याय शुरु हुनेछ। 
 
यहाँ भइरहेका संवादहरुलाई तत्काल प्रतिवाद गर्ने साहस मैले राखिनँ। म विल्कुल नौलो थिए उनीहरुको लागि र यो वकालत गर्ने उचित ठाउँ पनि थिएन। म त केवल प्रसुति वार्ड इन्चार्ज करुना अर्याललाई कुरिरहेकी थिएँ। यी कुराहरु सुनिरहँदा धेरै कुरा भन्न मन लागेको थियो। यो अवस्थामा यी कुराहरु पक्कै राम्रा होइनन्। हजुरहरुले बोलिरहेका प्रत्येक शब्दले सम्झना र उनको छोरीलाई मात्र होइन, तपाईं स्वयंलाई पनि अपहेलित गरीरहेको छ। तर अहँ.. सबै कुरा मनमनै राखे किन भने म भन्दा नजिकका आफन्त र इष्टमित्रको अगाडि म बोल्नु भनेको अनावश्यक जान्ने बन्न खोज्नु मात्रै थियो। 
 
यत्तिकैमा एक स्टार्फ नर्स दिदीले बोलाउनु भयो करुना अर्याललाई भेट गराउन। म मेरो काम तिर लागेँ। श्रोतःसेतोपाटी
फागुन १७ गते शनिवार

SHARE THIS

Author:

Facebook Comment