संसदीय दलको नेता बन्न एमाले र एमाओवादीमा तछाड मछाड

काठमाडौं, माघ १२ ।  एमालेको संसदीय दलको नेतामा अध्यक्ष झलनाथ खनाल, स्थायी समिति सदस्य केपी ओलीसहित चार शीर्ष नेताहरु दावेदार देखिएका छन् । नवौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने बहस प्रारम्भ भएलगत्तै संसदीय दलको नेतामा खनाल, ओली, उपाध्यक्षद्वय वामदेव गौतम र विद्यादेवी भण्डारी दावेदार देखिएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालले भने दलको नेतामा रुचि देखाएका
छैनन् । २०४८ सालयता पार्टी प्रमुख नै संसदीय दलको नेता हुँदै आएको भन्दै उनी संसदीय दलमा सर्वसम्मत नेतृत्व चयनको पक्षमा छन् । चार शीर्ष नेताको दावेदारीसँगै दलको नेता र नवौँ महाधिवेशनपछिको आगामी नेतृत्वबारे अहिल्यै सर्वसम्मति हुन नसके दलको नेतामा पनि निर्वाचन हुने सम्भावना बढेको छ ।
यता एकीकृत नेकपा माओवादीमा पनि संसदीय दलको नेता को बन्ने विवाद कायमै छ । यसबारे छलफल गर्न आजपनि बैठक बस्दैछ । हिजो बसेको बैठकका दास्रो पुस्ताको नेतालाई दलको नेता बनाउने प्रचण्डको प्रस्तावमा दोस्रो तहकै नेताले विरोध गरे ।
अध्यक्ष प्रचण्डले आफू र डा. बाबुराम भट्टराई बाहिरै बसेर कृष्णबहादुर महरालाई संसदीय दलको नेता बनाउने संकेत गरेपछि प्रचण्डनिवास लाजिम्पाटमा बसेको बैठकमा अरु नेताले विरोध गरेका हुन् । पूर्वपोलिटब्यूरो बैठकमा सहभागी अधिकांश नेताले प्रचण्डको प्रस्ताव अस्वीकार गरेका हुन् ।
प्रचण्डले महराको नाम नतोकी आफू र डा. भट्टराईबाहेक दोस्रो पुस्ताबाट संसदीय दलको नेता बनाउने प्रस्ताव राख्नासाथ धेरै नेताहरुले अस्वीकार गरेका थिए । शीर्ष नेता बाहिर बस्दा संविधान निर्माणमा असर पर्छ भन्दै अध्यक्षले नै संसदीय दलको नेता बन्नुपर्छ भन्ने सुझाव दिइएको थियो ।

SHARE THIS

Author:

Facebook Comment