
वीरगन्ज १२ माघ । पर्सा जिल्लाको विभिन्न भारतीय सीमा नाकाबाट अहिले दैनिक ५० लाखभन्दा बढी मूल्यका दैनिक उपभोगका सरसामान तस्करी हुने गरेको छ । भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्र्याइने गरेका त्यस्ता सामान ओसार्दा कसैले रोकछेक गर्दैन । राति अबेर र एकाबिहानै तस्करहरुले बढी मात्रामा सामान नेपाल ल्याउने गरेका छन् । सीमावर्ती स्थानीयवासीका अनुसार जिल्लामा रहेका नेपाल प्रहरीका विभिन्न सीमाचौकी र घुमुवा प्रहरी तथा सशस्त्रका सीमा सुरक्षा चौकी, बेस क्याम्प र घुमुवाहरुको मिलेमतोमा दैनिक लाखौंको सरसामान भारतबाट नेपाल तस्करी हुने गरेको छ । जिल्लाका सीमा चौकीका प्रहरीहरु र घुमुवाहरुले मोटै रकम लिएर केही तस्करलाई दैनिक कारोबार गराइरहेको आरोप सीमावर्ती गाउँका बासिन्दाले लगाएका छन् । उनीहरुका अनुसार रातिराति प्रहरीका घुमुवाहरु तथा पोसाकमै पनि प्रहरीहरु गाउँका सुनसान बाटोमा घुमिरहेका देखिन्छन् भने उनीहरुसँगै तस्करहरु पनि विभिन्न सवारी साधनमा मालसामान बोकेर हतारहतार आफ्ना गन्तव्यतिर गइरहेका देखिन्छन् ।
SHARE THIS