ओठे प्रतिवद्धताले सामाजिक कुरीरितको अन्त्य हुँदैन


–कल्पना खरेल मैनाली(परदेशी चेली )


वहुबिभाह
हाम्रो समाजमा जति परिवर्तनको कुरा गरे पनि पुरुष प्रधान हाम्रो समाज बहु विवाह जस्तो लाचार घृणित कृयाकलापले डेरा जमाई रहेकोछ । हाम्रो समाजमा  “मर्दको दश वटा” भन्ने यो नमिठो अपच्य शब्दको उखान साबित भईरहेकोछ । पुरुषहरूको वहुविवाहलाई हाम्रो समाजले सहर्ज स्वीकार गरिरहने भएकोले समाजमा बहुविवाह जस्तो जघन्य अपराधले प्रोत्साहन पाईरहेको हुन्छ “घरमा भएको श्रीमति एवं बाल–बच्चालाई लत्याएर अर्कै नयाँ गुड बनाई नया संसारमा रमाउने स्वार्थी पुरुषहरूको संख्यामा अहिले पनि कुनै कमि आएको छैन ।  आफ्नो जिम्मेवारी एवं दायित्त्वलाई बिर्सिएर आफ्नो मात्र खुशी नयाँ रंगिन संसारमा हराउने चलन पुरुष प्रधान समाजमा अझै पनि कायम नै छ । एक जना पुरुषको विश्वासघातको कारण परिवारमा भएको बाल–बच्चा एक नारीको जीवन लाखा–पाखा भईदिन्छ । विवाहपछि एक नारी को जिन्दगीको खुशी भनेको आफ्नो श्रीमान हुन्छ  । त्यही श्रीमानबाट नै मुटुमा छुरा धसिएपछि जिन्दगीनै अन्धकारमय भई कष्टकर र पीडादायी बन्ने गरेको हुन्छ । आफ्नो श्रीमानले धोका दिई हेला गरेको दिन समाज र परिवारले समेत हेला गर्ने चलन चलि आयको छ  । सबैले बलेको आगो
ताप्ने हुन् निभेको आगो कस्ले ताप्छ र ? वहुविवाहका कारण हाम्रो समाजमा कैयौं नारीहरू यस्तै नियति भोग्न विवश छन् ।
विधुवा प्रथा
जब एउटा नारीले आफ्नो अद्र्धान्गोलाई गुमाएकी पीडामा उनको सबै सिंगार रातो कपडा गहना खोलेर विरुप अर्थात् कुरुप बनाइन्छ  । उनको एक्लोपनलाई समाज र घर परिवारले अपहेलित गरिरहेको हुन्छ । घर परिवारबाट उनको जीवन साथी गुमाएको सम्पूर्ण दोष उनैको टाउकोमा थोपारिन्छ । जताततै समाजले तगारो लगाई जेलको बन्दि जस्तो बनाई रहेको हुन्छ  । समाजले उनको एक्लोपनलाई निहालेर हेरिरहेको हुन्छ । उनको एक्लोपनलाई मुख खोलेर कुरा गर्नको कुनै कमि हुदैन । युवा अवस्थामै विधुवा हुनेहरूलाई समाजका केहि कु–दृष्टीहरूले उनको अस्मितालाई गिद्धे नजर लगाईरहेको हुन्छ  । उनलाई अस्मिता जोगाएर हिंड्न निकै गाह्रो हुन्छ । सबै तिरबाट उनलाई शोषण भैरहेको हुन्छ । हरेक मोडमा ठोक्किदै लड्दै एउटा जिउँदो लास भएर बाँच्न विवश बनाईन्छ “एउटा नारीले आफ्नो अद्र्धाङ्गोलाई गुमाएको पीडामा हुन्छिन् । उनको के दोष हुन्छ ? यो प्रश्न यो समाजलाई । किन उनको एक्लो पनलाई सबै तिरबाट शोषण गरिन्छ ? यो प्रश्न यो समाजलाई । सति युग (सति प्रथा) मा विधुवा नारीलाई एकै पटक जालाईन्थयो २१ औं शताब्दीमा किन जिन्दगभरि जलाईन्छ ? यो प्रश्न यो समाजलाई । २१ औं शताब्दीको शिक्षित भन्ने हाम्रो समाज कहिलेसम्म अन्धविश्वासको ढोंग ओढेर हिंड्छ ? यो प्रश्न यो समाजलाई  । यो समाजमा कहिलेसम्म अन्ध विश्वासको रुढीवादी सोंचले डेरा जमाईरहने हो ? कहिले सम्म एकल नारीले जिउँदो लाश भएर जिउनुपर्ने हो ? अझै पनि हाम्रो समाजमा एकल नारीहरू जिउँदो लाश भएर बाँच्न विवश छन् । समाजको हरेक मानिसमा सोच परिवर्तन गर्न जरुरी देखिन्छ ।
बाल विवाह
कानुनले बाल–विवाह निश्चित गरेपनि अझैं पनि गाउँ दूर दराज को अविकशित ठाउँमा बाल– विवाहको चलनले जरो गाडेको छ  । उमेर नपुगी सानो उमेरमा विवाह गर्दा शारीरिक मानसिक विकास भइसकेको हुँदैन  । पाउनु पर्ने शिक्षा–दिक्षामा पनि अपरोध आउँछ  । छोरीहरूलाई १४,१५ वर्षको उमेरमा विवाह गर्ने चलन अझै समाप्त भइसकेको छैन । छोरीहरू १४,१५ वर्षसम्म पनि विवाह योग्य भईसकेको हुदैन । बालिका पूर्णरुपमा शारीरिक मानसिक विकास भैसकेको हँुदैन । पूर्णरुपमा यौन सम्पर्ककोलागि योग्य नभई सकेको कारण पनि बालिकाले आफुलाई बलात्कृत भएको महसुश गरिरहेको हुन्छ  । जीवनसाथीको साथ कष्टकर महशुस गरिरहेको हुन्छ । शारीरिक एवं मानसिक पूर्णरुपमा विकास नभई सकेको अवस्थामा गर्भवती हुँदा आमा र बच्चा दुवैको ज्यान जाने खतरा पनि हुन्छ । सानो उमेरमा पारिवारिक झमेलामा फस्नुको कारण बाल विवाहले आफ्नो जीवनलाई नै निश्चित गन्तव्य तिर डोर्‍याउनलाई अवरोध पुर्‍याएको हुन्छ  । सानो उमेरमा कतिपय बच्चाहरूले प्रेम गरि विवाहमा परिणत हुन्छन् “त्यस्तो अवस्थामा सबै आमा बुवाहरूले आफ्नो बच्चाहरूलाई आफ्नो साथीझैं व्यवहार गरी सम्झाउनु पर्छ । मधेशको डुम समुहमा अझै पनि आमाको दूध खाँदा–खाँदै विवाह गर्ने चलन चलिनैरहेको छ । हाम्रो समाजमा सबै मानिसमा चेतनाको विकास हुन जरुरी छ । यस्तो कृयाकलापहरूको अन्त्य हुनु पर्छ ।
घुम्टो प्रथा
समाजमा जतिसुकै परिवर्तन भएपनि मधेशका नारीहरूले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । अहिले पनि मधेसका नारीहरू घुम्टो भित्र नै पिल्सीरहेका छन् । जब घुम्टो भित्र बस्न बाध्य बनाइन्छ, तब उनीहरूमा शिक्षा र ज्ञानको अभाव भैरहेको हुन्छ  । शिक्षाको अभावका कारण उनिहरू आत्मनिर्भर हुन सकिरहेका छैनन् । गरिबी, अशिक्षा, अज्ञानता एवं अन्धविश्वासले ग्रसित मधेसी महिला विवश र निरीह रुपमा बाँच्न बाध्य छन् ।
समाधान
जति दिवश, कोठे बैठक, गोष्ठी, अन्तरकृया र सेमीनार तथा भाषण गरिएपनि महिलामाथि हुने हिंसाका घटनामा कमी आउन सकेको छैन । महिलाकोलागि शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्त्व स्थापित गरी कुरीति र कुसंस्कारको रुपमा रहेको विधुवा प्रथा, घुम्टो प्रथा, बहु बिवाह प्रथा, बाल तथा अनमेल विवाह जस्ता सामाजिक कुरिती अन्त्य गरिनु पर्छ । नारी हिंसा सम्बन्धि १६ दिने अभियान मात्र होइन । वर्ष दिनभरि सर्वसाधारण तथा गाउँ–गाउँसम्म पुग्ने जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । त्यति मात्र होइन आफूमाथि हुने यस्ता अन्यायविरुद्ध नारीहरू स्वयं प्रतिकारमा नउत्रिएसम्म महिलाहिंसा तथा सामाजिक कुरितीको अन्त्य हुन सक्दैन । सामाजिक कुरीति अन्त्यकालागि ओठे प्रतिवद्धता मात्र होइन कडा कानुन र त्यसको कार्यान्वयन पनि हुनु जरुरी छ ।
(बर्दिया गुलरिया घर भएकी खरेल हाल वैदेशिक रोजगारीमा हुनुहुन्छ ।
(पर्साको वीरगंजबाट प्रकाशन हुने क्राइम चेक साप्ताहिकमा मिति २०६९ पुस ५ गते बिहीवार  प्रकाशित )

SHARE THIS

Author:

Facebook Comment