सशस्त्र प्रहरीद्वारा महिला हिंसा विरुद्ध जनचेनामूलक र्‍याली


राकेश चौरसिया
वीरगंज/महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत पर्साको सबैठवामा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टको आयोजनामा जनचेतना मूलक र्‍याली निकालिएको छ ।
महिलालाई दाइजो नल्याएको कारण दु:ख दिने, यातना दिने, चेलीबेटीलाई स्कूल नपठाउने, घरेलु काममा बढी प्रयोग गर्ने, सानैमा विवाह गरिदिने, यौनहिंसा जस्ता सामाजिक कु–व्यवस्था नेपालको तराई क्षेत्रमा र खासगरी ग्रामिण भेगमा बढी हुने गरेको तथ्यलाई बुझ्दै  १६ दिने अभियान अन्तर्गत गाउँमा जनचेतना फैलाउने उद्देश्यले र्‍याली निकालिएको सशस्त्र प्रहरी निरीक्षक योग्य बस्नेतले जनाए ।  
सो जनचेतना मूलक र्‍यालीमा नेराप्रावि सबैठवाका शिक्षक, शिक्षिका,
विद्यार्थी, स्थानीयबासी, स्थानीय महिला, कृषि विकास कार्यालय अन्तर्गतका कृषि सेवा केन्द्र पोखरीया महिला समुह सबैठवामा आवद्ध महिलाहरूलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
सो जनचेतनामूलक र्‍यालीमा सहभागीहरूले महिला हिंसा रोक्ने सन्देश अंकित विभिन्न प्ले कार्डहरू बोकेर गाउँ परिक्रमा गरी नेरा प्रावि सबैठवामा आएर कोणसभामा परिणत भएको थियो ।
सो कोणसभामा पूर्व गाविस अध्यक्ष, स्कूलका प्रधानाध्यापक, शिक्षिका लगायतले समाजमा महिला हिंसा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै त्यसको अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । ( प्रकाशित मिति २०७० मंसिर २० गते बिहीवार )






SHARE THIS

Author:

Facebook Comment