नेपालगञ्ज, बैशाख ११ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको चुनाव सफल बनाउनको लागि भारतसंग सहयोगको आग्रह गर्ने बताउनुभएको छ ।
नेपालगञ्ज न्यूरोडमा बुधबार शहीद सेतु विकको शालिक अनावरण गर्दै उहाँले केही दिनमै आफू भारत भ्रमणमा जाने र चुनावका लागि सहयोगको आग्रह गर्ने बताउनुभएको हो ।प्रचण्डले भन्नुभयो ‘छिमेकी भएका कारण संविधानसभा निर्वाचनको सफलताका लागि सहयोगको आग्रह गर्छु, आर्थिक समृद्विका लागि पनि कुरा गर्छु ।’ जनआन्दोलन र जनयुद्वको बल
मा मुलुकमा युगान्तकारी परिवर्तन भएको भन्दै प्रचण्डले आगामी संविधानसभा मार्फत संविधान बनाउने प्रतिबद्धता समेत गर्नुभयो ।
जिल्ला विकास समिति बाँकेले करिब १ लाख ५ हजार रुपैयाँमा शहीद सेतु विकको अर्धकदको शालिक
निर्माण गरेको हो ।
कांग्रेस, एमालेको विरोध
माओवादी अध्यक्ष प्रचण्डबाट शालिक अनावरण गराएकोमा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलले विरोध जनाएका छन् ।
कांग्रेस, एमाले, नेकपा–माओवादी लगायतका राजनीतिक दलका प्रतिनिधि बुधबार आयोजित कार्यक्रमको मञ्चमा समेत गएनन् । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गृह जिल्लामा कोइराला नेपालगञ्जमै भएको अवस्थामा माओवादी अध्यक्षबाट शालिक अनावरण गराएकोमा कांग्रेसले विरोध जनाएको छ ।
यसअघि चार बर्षअघि निर्मित शहिद विकको शालिक नचिनेका मान्छेको समूहले तोडफोड गरेको थियो । जनआन्दोलनका क्रममा २०६३ साल बैशाख ५ गते प्रहरीको अश्रुग्यांस लागेर विक शहीद हुनुभएको थियो ।