वीरगन्ज,२० फागुनः वीरगन्ज नगरमा सञ्चालनमा रहेका अधिकांश निजी विद्यालय र क्याम्पसले विद्यार्थी बोक्ने वाहनमा सीट क्षमताभन्दा बढी विद्यार्थी राखिने गरेको छ ।
पुरै शहरबाट विद्यार्थीहरु संकलन गरेर विद्यालय पु¥याउँदासम्म बालबालिकाले बसभित्र सिट नपाउँदै उभिएरै आधा घण्टाभन्दा बढी यात्रा गर्नुपर्छ । आधा घण्टासम्म उभिनुपर्दा विद्यार्थी थकित भएर कक्षा कोठामा पढाइएको कुरा बुझ्न नसकेर चिढचिढे हुने गरेको गुनासो शिक्षकहरुले गरेका छन् ।
विद्यार्थीहरु कोच्नेमा नाम चलेका विद्यालयहरुको संख्या बढी रहेको छ । बसभित्र कोच्चम कोच गरेर विद्यार्थी ओसार्ने समस्या कादम्बरी एकेडेमी, डिपिएस, गौतम मावि, जिएपी मावि, हरिखेतान बहुमूखी क्याम्पसको बसमा बढी देखिएको जिल्ला
ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विद्यार्थीहरुलाई कोच्चमकोच गरेर स्कूल बसमा नओसार्न आग्रह गर्दै चेतावनी दिंदा बस भाडा बढाउने वा एक दुई दिन विद्यार्थीलाई लिनका लागी बस नै नपठाएर अभिभावकहरुमार्फत् ट्राफिक प्रहरीमािथ दबाब सिर्जना गर्ने काम निजी विद्यालयका सञ्चालकबाट हुने गरेको छ ।
जिल्ला शिक्षा कार्यालय पर्साले यसपटकदेखि विद्यालयलाई बढी विद्यार्थी ओसार्ने काममा उन्मुक्ति नदिइने बताएको छ । जिल्ला शिक्षा अधिकारी हरिहर वस्तीले सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कूल बसलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर सञ्चालकविरुद्ध कारवाही गरिने चेतावनी दिए । मन्त्री परिषद्ले गत फागुन ४ गते नै संस्थागत मापदण्ड तथा सञ्चालन निर्देशिका जारी गर्दै बस वा भ्यानभित्र दुईवटा सिटमा बढीमा तीनजना विद्यार्थी मात्र राख्नुपर्ने प्रावधान जारी गरेको छ । मन्त्री परिषद्ले जारी गरेको निर्देशिकाको पूर्णरुपमा पालना गरिने जिशिअ वस्तीले दाबी गरे ।