पथलैया,२० फागुनःतराई यातायात व्यावासायी संघको अध्यक्षमा पुन ओमकृष्ण कार्की निर्वाचित भएका छन् ।
सिमरामा शनिबार सम्पन्न मतदानको आइतबार बिहान प्रकाशित नतिजा अनुसार कार्कीले अध्यक्ष पदका अर्का उम्मेदवार उदयबहादुर श्रेष्ठलाई ७४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । कार्कीको नेतृत्वमा तीन वर्षे आगामी कार्यकालका लागी उनको प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् । श्रेष्ठ प्यानलबाट वरिष्ठ उपाध्यक्ष र पूर्वी क्षेत्र उपाध्यक्ष बाहेक अरु सबै पदमा कार्कीकै प्यानलले जित हात पारेको छ ।मतगणना अनुसार कार्कीले ५ सय ३ मत र श्रेष्ठले ४ सय २९ मत पाएका छन् । कार्कीले निवर्तमान् कार्य समितीका पदाधिकारीलाई नै पुनः आफ्नो प्यानलमा नयाँ कार्यकालका लागी उम्मेदवारी दिलाएकाले नयाँ कार्य समितीमा पनि पुरानै अनुहार दोहोरिएको छ ।
वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ प्यानलका विजय शर्माले आफ्ना प्रतिद्वन्द्वी दिपकराज शर्मालाई ४७ मत पराजित गरेका छन् ।उत्तरी क्षेत्र उपाध्यक्षमा कृष्ण प्रसाद ढुङ्गेल २६ मत , दक्षिण क्षेत्र उपाध्यक्षमा सोहम अख्तर अन्सारी ५४ मतान्तरले बिजयी भएका छन् । पूर्वी क्षेत्र उपाध्यक्षमा प्रकाश महासेठलाई १ मतको झिनो अन्तरले श्रेष्ठ प्यानलका संजय साहंले पराजित गरेका छन् । सचिवमा पुरानै अनुहार शंकर कुमार बिष्टले निकटतम प्रतिद्धन्दी अर्जुन अधिकारीलाई ४८ मतले हराए छ । आफ्नो प्रतिस्पर्धी पेशल मुल्मीलाई १४३ मतको फराकिलो मतान्तरले हराउदै जिवन कुमार श्रेष्ठ सहसचिवमा निर्वाचित भएका छन् । कोषाध्यक्षमा १ मतको झिनो अन्तरले निकटतम प्रतिद्धन्दी नारायाणी रायमाझीलाई हराउदै राम प्रसाद अधिकारी बिजयी भएका छन् ।
सदस्य पदमा देव कुमार श्रेष्ठ , हिरा बहादुर गुरुङ्, लोकराज पौडेल , प्रमोद सिम्खडा , बम बहादुर श्रेष्ठ , सुरेश लामा , शेखर घिमिरे , ओम रौनियार र दिनेश सुवेदी निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष ओमकृष्ण कार्कीले आफ्नो जितमा सहयोग गर्ने व्यावसायीलाई धन्यावाद दिंदै आफूले उम्मेदवारी घोषणा गर्दा गरेको प्रतिबद्धता पुरा गर्ने आश्वासन दिए ।