कारागार प्रमुखको सातमहिनाको आम्दानी–पचास लाख

क्राइमचेक प्रतिनिधि/
वीरगंज/ कारागार शाखा वीरगंजका प्रमुखले अनियमितता गरि पछिल्लो सात महिनाको अवधिमा रु. ५० लाख भन्दा बढी अवैध रकम कमाउन सफल भएको रहस्य खुलेको छ ।
प्राप्त समाचार अनुसार वीरगंज कारागारमा रहेका झण्डै १ हजार ३ सय भन्दा बढी कैदीले नियमत पाउने जाडो तथा गर्मीका  कपडा, कैदीहरुको सरुवा, चौकीदार नियुक्ति र कारागार भित्रका पसल संचालनबाट पछिल्लो ७–८ महिनको अवधिमा रु. ५० लाख
भन्दा बढी रकम संकलन गरेको कारागार श्रोतबाट बुझिन आएको छ ।
कारागार प्रमुख धिराज मरासिनीले गृह सचिव नविन घिमिरे आफ्नो अंकल भएको धक्कु लगाउदै मातहतका कर्मचारी तथा कारागार सुरक्षामा खटेका सुरक्षाकर्मीहरुलाई पाखा लगाएर एकोहोरो रुपले कैदी बन्दीहरुलाई जाडोको बन्दोबस्तीका
सामानहरु सिरक र ढसना खरिदका लागि प्रति कैदी रु. २ हजार ९ सयका दरले दिनुपर्ने ठाउमा रु. १ हजार ९ सयका दरले मात्र दिएर रु. २ हजार ९ सयका दरले भरपाई गराएको एक कैदीले आफ्नो नाम नबताउने शर्तमा बताएका छन् ।
त्यसैगरी गर्मीको कपडाका निम्ति प्रति कैदीले रु. ९ सयको दरले पाउनुपर्नेमा कारागार प्रमुख मरासिनीले रु. ४ सयको दरले वितरण गरि भरपाई भने रु. ९ सयकै दरले गराएको समेत उक्त कैदीले बताएका छन् ।
कारागार श्रोतकै अनुसार मरासिनीले कैदीहरुलाई सरुवा गर्नका लागि प्रति कैदी रु. २५ हजार देखि रु. १ लाख सम्म असुल गरि २०८ जना कैदीलाई सरुवा समेत गरिएको छ ।
कारागार प्रमुख मरासिनीले गरेको भ्रष्टाचारको चिठ्ठा खोल्ने क्रममै एक कैदीले बताए अनुसार कारागारको वर्तमान चौकीदार भन्दा अघिका चौकीदारलाई अनावश्यक बहानामा सरुवा गरि रु. १५ लाख असुलेर नियुक्ति गरिएको समेत खुलासा गरेका छन् ।
त्यसरी नै कारागार भवन निर्माणका लागि आएको रु. ६ लाखबाट निर्माण गरिएको भवनको गुणस्तर र लगानी सम्बन्धमा समेत छानविन भए ५० प्रतिशत भन्दा बढी कारागार प्रमुख मरासिनीले भ्रष्टाचार गरेको ठहरिने कारागारश्रोतको दावी छ ।
यस सम्बन्धमा कारागार प्रमुख मरासिनीको मोबाइलमा फोन गर्दा फोन उठाएनन् ।
प्रकाशित मिति २०७० साउन ३ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment