२० फागुन, तीन बर्षअघि सुनसरी नरसिंह १ मा चिनियाँ लगानीमा स्थापना भएको सिम्याक्स फुड प्रातिले यो बर्ष १ सय कन्टेनर प्रशोधित मासु निर्यात गरिसकेको छ । कम्पनीले राँगा र भैंसीको प्रशोधित मासु चीन निर्यात गरेको हो । गत बर्ष ६० कन्टेनर मासु उता पठाएको कम्पनीले यसपालि एक बर्ष नबित्दै सय कन्टेनर पठाउन सफल भएको हो । राँगा भैंसी अभावमा कम्पनीले हाल मागअनुसार उत्पादन गर्न नसकेको नेपाली सञ्चालक लीलु पौडेलले बताए ।
‘चाहिनेजति राँगा भैंसी नपाउँदा उताबाट माग आएजति पठाउन सकेका छैनौं,’ उनले भने, ‘आवश्यक कच्चा पदार्थ पाए अझ धेरै निर्यात गर्न सकिन्छ ।’ कम्पनीले पठाउने एक कन्टेनरमा २८ टन मासु निर्यात हुन्छ । यो हिसावले चालू बर्षभित्र कम्पनीले २ हजार ८ सय टनभन्दा बढी मासु निर्यात गरिसकेको छ ।
म्ुलुककै विभिन्न स्थान र भारतबाट समेत ल्याएका राँगा भैंसी कम्पनीको आधुनिक बधशालामा काटिने नागरिक दैनिकमा खबर छ ।
त्यसपछि मासु प्रशोधन गरी सात आठ किसिमका बनाइन्छ । यस्तो मासु २४ घन्टासम्म माइनस ४० डिग्री सेल्सियस तापक्रममा राखिन्छ । त्यसपछि माइनस १९ डिग्री सेल्सियसमा कन्टेरनमा राखेर कोलकाता हुँदै चीन निर्यात हुने गरेको छ ।
कुखुरापालनका लागि विदेशी लगानी आउने
सरकारले कुखुरापालन व्यवसायमा विदेशी लगानी ल्याउन दिने भन्दै प्रक्रिया अघि बढाएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ ले किटान गरेका २३ वटा ‘विदेशी लगानी संवेदनशील सूची’ मा कुखुरापलन क्षेत्र पनि परेकाले यसमा विदेशीले सहजै लगानी गर्न पाउँदैनन् । ऐनको दफा ९ ले कुखुरापालन व्यवसायमा विदेशी लगानी रोक्छ ।
एक साताअघि बसेको औद्योगिक प्रर्वद्धन बोर्ड बैठकले कुखुरापालन व्यवसायबाट पनि पर्याप्त विदेशी लगानी भित्र्याउन सकिने भन्दै पोल्ट्रीफार्ममा विदेशीलाई लगानी गर्न दिने प्रस्ताव गरेको छ । उद्योग मन्त्रालयका अनुसार यो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेमात्रै कार्यान्वयन प्रक्रिया अघि बढ्ने खबर कारोबार दैनिकले छापेको छ । ऐन संशोधनका लागि बोर्डका अध्यक्षसमेत रहेको उद्योगमन्त्री अनिलकुमार झाले गत मंगलबार प्रस्ताव पेस गरिसकेका छन् ।
