वीरगंजमा अपराधीहरू सल्बलाउँदै निशानामा स्कूले विद्यार्थीहरू


क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷वीरगंज र पर्सा जिल्लामा केही समय देखि पुनः अपराध र असुरक्षाको कालो बादलले डेरा जमाउन थालेको संकेतहरू पुनः देखा पर्न थालेका छन् ।
केही वर्ष अगाडी नेपालकै प्रमुख आपराधिक कृयाकलाप र अपराधीहरूको मूख्य आश्रयस्थलको रुपमा रहेको वीरगंज क्षेत्रमा यसअघि प्रहरी उपरीक्षकमा रमेश खरेल आएपछि उनको कार्यकालभरि कुनै आपराधिक कृयाकलाप हुन सकेको थिएन ।
वीरगंजका व्यापारी, उद्योगपति, व्यवसायी, विभिन्न पेशासँग सरोकार राख्ने व्यक्तित्व, विद्यार्थी, शिक्षक लगायत सबै सर्वसाधारण नागरिकहरू जतिबेला पनि निर्धक्ककासाथ भयरहित
वातावरणमा हिंडडूल गरिरहेका देखिन्थे भने विभिन्न आपराधिक कृयाकलापका साथै अवैध कारोवारमा संलग्नहरूले यस क्षेत्रबाट बसाई नै सरिसकेका थिए । तत्कालिन प्रहरी उपरीक्षक रमेश प्रसाद खरेलको वीरगंज वसाईको ९ महिने अवधिभर वीरगंजमा शान्ति सुरक्षाको राम्रो प्रत्याभूति पाएका स्थानीयहरू भने हाल आएर पर्सा जिल्ला र वीरगंज क्षेत्र पुनः रमेश खेरल आउनुभन्दा पहिलाकै वीरगंजमा परिणत हुन थालेको देखेर चिन्तित बन्न थालेका छन् ।
यसैबीच वीरगंज क्षेत्रमा पुनः आपराधिक कृयाकलापमा संलग्न अर्थात विभिन्न प्रकृतिका अपराधीहरू सलबलाउन थालेको समाचार प्राप्त हुन आएको छ । केही वर्ष अर्थात करिब डेढ वर्षसम्म अपहरणको काण्ड नभएका वीरगंजमा गएको तीनमहिना यता विभिन्न अपरहणको घटनाकाहरू प्रकाशमा आउन थालेका छन् ।
यसैक्रममा स्थानीय उद्योगी व्यवसायीका छोराछोछोरी पढ्ने स्कूलमा गएर अपहरण गर्ने प्रयास पनि अपहरणकारीले गर्न तल्लिन रहेको जानकारीमा आएको छ । गत आइतवार वीरगंजको माइस्थान क्षेत्रमा रहेको एक बोर्डिङ स्कूलमा अपरहणको उद्देश्यले एउटा व्यक्ति एकजना साना व्यवसायीको छोरीलाई अपहरण गर्ने उद्देश्यले गएको नाम नछाप्ने सर्तमा ती व्यवसायीले क्राइमचेकलाई बताए ।
ती व्यवसायीका अनुसार उनको ७ वर्षीय छोरी पढ्ने स्कूलमा एकजना अपिरिचित व्यक्ति गई “मलाई फलानो विद्यार्थीको बुवाले बच्चालाई लिन पठाउनुभएको छ त्यो बच्चा मलाई दिनुस्” भनेर स्कूलमा भनेपछि ती बालिकालाई बोलाएर लिन गएको मान्छेलाई चिन्छौ भनि विद्यालय प्रशासनले सोध्दा बालिकाले उनलाई नचिनेको बताएपछि विद्यालय प्रशासनलाई शंका लागि बच्चालाई लिन गएका व्यक्तिसँग सोधपुछ गर्न खोज्दा उम्किन सफल भएका थिए । ती व्यक्ति मोटरसाइकलमा गएको कुरा अभिभावकलाई स्कूलले बताएको थियो ।
विद्यालय प्रशासनको चनाखो र  सहि निर्णयको कारणले एक बालिका त अपहरणमा पर्नबाट जोगिए तर माानिलिउँ कुनै दिन कसैको बच्चा घरबाहिर खेलिरहेको अवस्थामा अपहरण भए त्यसको जिम्मेवारी कसले लिने ? भन्दै ती अभिभावकले प्रश्न गरे ?  अपहरण गरी अभिभावकसँग मोटो रकम फिरौतीबाट लिने उद्देश्यका साथ अपहरण व्यवसाय केही समय वीरगंजमा राम्र्रै फस्टाएको देखिन्छ । हुन त केही अपहरण काण्डमा प्रहरीले अपहरितलाई सकुशल उद्धार गर्न सफल पनि नभएको होइन तर वीरगंजका हरेक, चोक, गल्ली र टोलमा दिनरात खटिरहेका अर्थात ड्युटी गरिहेका प्रहरीहरूलाई समेत चुनौती दिंदै यसरी आपराधिक गतिविधि गर्ने व्यक्तिहरूको सलबलाहट अर्थात चलखेल पक्कैपनि पर्सावासीकोलागि शुभ संकेत होइन ।
हुन त प्रहरी प्रशासन एक्लैले कुनै पनि आपराधिक कृयाकलाप नियन्त्रण गर्न नसक्ने भएपनि प्रहरीले चाहेमा उसको क्षेत्रबाट एउटा सियो समेत चोरी नहुने धारणारहिआएको छ ।
यद्यपि खुल्ला सीमानाका कारण भारतीय अपराधीहरूले समेत वीरगंजलगायतका क्षेत्रलाई आफ्नो कृडास्थल बनाइरहेको समयमा आफ्नो सुरक्षाकोलागि स्वयं अभिकभावक, विद्यालय लगायत हरेक नागरिक सचेत रहनुपर्ने आवश्यकता देखिन्छ ।

SHARE THIS

Author:

Facebook Comment