अपहरणको नाटकमा–प्रहरीको नाकाबन्दी


क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷आफू अपहरणमा परेको भन्दै एक बालकले पर्सा प्रहरीलाई शिकार बनाएको छ । मंगलवार गरिएको अपहरणको उक्त नाटकका कारण पर्सा प्रहरीले साँझ केहीबेर वीरगंजमा नाकाबन्दी समेत गर्नु परेको थियो ।
                आफू अपहरणमा परेको भन्दै १२ वर्षीका बालले वीरगंजमा रहेका प्रहरीका उच्च अधिकारीहरूलाई केहीबेर तनावमा समेत पारेका थिए । ती बालकले अभिभावकलाई दिएको जानकारीका आधारमा प्रहरीले साँझ साढे सात बजेदेखि पुरै नगरमा नाकाबन्दी र छापामारी गर्दै बालकको उद्धारकालागि खटिनु परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, प्रहरी नायब उपरिक्षक राजेन्द्र विष्टको टोली बालकको खोजी गर्न पूरै शहरमा दौडधूप गरिरहेका देखिन्थे । करिब एक घण्टासम्मको खोजतलाशपछि बालक आफ्नो घर नजिकै फेला परेपछि उनले नाटक गरेको खुलेको थियो ।
                यसरी प्रहरीलाई झुक्याउने ती बालक हुन्, वीरगंजको नगवा घर भई रेशमकोठीस्थित त्रिभूवन हनुमान माविमा कक्षा ६ मा अध्ययनरत सन्नी चौरसिया । उनी हाल मलेशियामा मजदुरी गरिरहेका शिवप्रसाद चौरसियाका छोरा हुन् । प्रहरी नायब उपरिक्षक राजेन्द्र विष्टका अनुसार यी बालक अपहरणमै नपरेपनि झूठो खबर दिएर अभिभावक र प्रहरी दुबैलाई तनावमा पारिदिएका थिए ।

SHARE THIS

Author:

Facebook Comment