अवैध हतियार बुझाउ

जिल्ला प्रहरी कार्यालय बारा, पर्सा र रौतहटले सार्वजनिक सूचना जारी गरी अवैध हातहतियार बुझाउन अनुरोध गरेको छ । स्थानीय प्रहरीले दिएको म्यादभित्र राजीखुशीले अवैध हतियार बुझाउन नचाहनेलाई बडा भन्दा कडा कानुनी कारवाही हुने र घर–घरमा पसेर प्रहरीले अवैध हतियार जफत गर्नेछ । तराईका जिल्लाहरूमा अवैध हतियार ठूलो परिमाणमा छ । अपराधीहरूले अवैध हतियार प्रयोग गरी नानाथरिका गम्भीर अपराध गर्दै आइरहेका छन् । शान्तिसुरक्षामा प्रभावकारिता ल्याएर शान्ति सुरक्षाको अवस्था सुदृढ पार्ने दायित्तव प्रहरी प्रशासनको हो । मानवअधिकार रक्षाकालागि प्रहरीसंगठन प्रतिवद्ध भए निश्चित रुपमा शान्ति सुरक्षाको अवस्थामा सन्तुलन कायम हुन सक्दछ । हत्यारा, पेशेवर अपराधीहरू खुल्लेयाम घुमिरहेको अवस्थामा बारा, पर्सा र रौतहट प्रहरीले फरार अभियुक्तहरूको गिरफ्तारी र अवैध हतियार कब्जा गर्ने अभियान सञ्चालन गरी अपराध नियन्त्रणमा थप पाइला चालेको छ

। यसलाई सकारात्मक कदम मानिएको छ । सधैं अपराध विरोधी शक्ति र व्यक्तिहरूबाट प्रहरीको यस कदममा सक्दो सहयोग र समर्थन मिल्ने छ । हतियार बोकेर अपराधमा संलग्न व्यक्तिहरूले तराईमा श्रृङ्खलावद्ध अपराध गरी आतंक नै मच्चाएका छन् । भारतसँग सीमा जोडिएको नेपालको तराईका जिल्लाहरूमा भारतीय अपराधीहरूले हात हतियार भित्रयाएर डेरा जमाइरहेका छन् । स्थानीय प्रहरीको हतियार बुझाउ अभियानले अपराध नियन्त्रणमा निकै राम्रो नतिजा मात्र ल्याउने होइन, दीर्घकालिन रुपमा यो अभियानको ठूलो प्रभाव पर्नेछ ।
संविधानसभाका चुनावकालागि तयारी भइरहेको छ । अवैध हतियार चुनावको तिथिभन्दा अगावै जफत गर्न प्रहरी संगठन सफल भए चुनावमा शान्ति सुरक्षा कायम गर्न र भयमुक्त वातावरणमा निष्पक्ष र स्वतन्त्र चुनाव गराउनमा ठूलो सघाउ पुग्ने छ । गाउँ र शहरका घर–घरमा रहेका अवैध हतियार कब्जामा लिन प्रहरी सफल भए अपराध नियन्त्रणमा उल्लेख्य र ऐतिहासिक सफलता पाउने छ । अवैध हतियार जफत गर्ने कार्यक्रमलाई अभियानको रुपमा निरन्तरता दिनुपर्छ तबमात्र अपराधीहरू सुरक्षित र असंरक्षित हुन जानेछन् । अपराधीहरूले अपराध गर्ने ठाउँ र बाटो पाउने छैनन । प्रहरी प्रशासन अपराधमुक्त समाज बनाउन सफल हुनेछ । ईच्छाशक्ति र प्रभावकारी अभियान भएमा यो विषय असंभव छैन । भारतीय अपराधी र नेपालका अपराधी पहिचान गरी उनीहरूले लुकाई–छिपाई राखेको हतियार जफत गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छापामारी गर्दा जुन घरबाट हतियार फेला परेको हो त्यस घरको धनिले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने र कानुनी कारवाही व्योहोर्नुपर्ने कडा नीति प्रहरी प्रशासनले लिनुपर्दछ ।
निकै ढिलो भएपनि अवैध हतियार जफत अभियान सञ्चालन गरेर प्रहरीले वाह ! वाह ! लुटेको छ । यस अभियानले आम जनतालाई सुरक्षित रहेको अनूभूति गराउने छ । शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न प्रहरी संगठन सफल भएको मान्न सकिनेछ । अवैध हतियार अपहरणकारी, डाँका, गाँजा तस्कर, काठ तस्कर, नेपाल–भारतबीच चोरी पैठारी निकासीमा संलग्न व्यक्ति र गिरोहले प्रयोग गरेको पाइन्छ । केही पार्टीका नेता र कार्यकर्ताले पनि अवैध हतियार बोकेको चर्चा छ । ती सबै अवैध हतियार खोसिनुपर्छ । शान्ति ! शान्ति !!
२०६९ फागुन १७ गते क्राइम चेकमा प्रकाशित

SHARE THIS

Author:

Facebook Comment