सेजको जग्गामा भूमाफियाको रजाइँ

सिमरा ।  साविकको वीरगंज चिनी कारखाना लि. उखु फार्म सिमराको जग्गा हाल उद्योग मंत्रालय, विशेष आर्थिक क्षेत्र विकास समितिका नाममा हक हस्तान्तरण भएको ८३३ बिगाहा जग्गा मध्ये भूमाफियाहरुले १४ कित्ता करिब २० बिगाहा जग्गा व्यक्ति विशेषका नाममा अनियमित तवरले बिक्री गरेको यकिन हुन आएको छ । कृत्रिम जग्गा धनी खडा गरी सेजका नाममा रहेको सिमरा गाविस र डुमरवाना गाविसमा रहेको जग्गा भूमाफिया, गाविस कार्यालयका कर्मचारी, नापी कार्यालय बाराका कर्मचारी, मालपोत कार्यालय बाराका कर्मचारी, केही कानून व्यवसायी, केही लेखनदास समेतको मिलोमतोमा करिब २० बिगाहा बिक्री गरी २० सौ करोडको भ्रष्टाचार गरेको तथ्य प्रमाण फेला परेका छन । भ्रष्टाचारका अभियुक्तहरुका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी छानविन, अनुसन्धान कार्य अगाडि
बढेको चर्चा भएपछि मुख्य अभियूक्तहरु फरार अवस्थामा रहेको समाचार स्रोतले बताएको छ ।
वि.सं. २०२२ सालमा वीरगंज चिनी कारखाना लि. उखु फार्म सिमराका नाममा जग्गा धनी दर्ता प्रमाण पूर्जा रहेको डुमरवाना गाविस कित्ता नं. १९० को क्षेत्रफल एक बिगाहा १५ धुर जग्गा २०६५ सालमा विशेष आर्थिक क्षेत्र बिकास समितिका नाममा हक हस्तान्तरण भएको पाइन्छ । उक्त जग्गा २०७० साल श्रावण २४ गते डुमरवाना गाविस वडा नं. ४ निवासी जग्गा धनी राम भजन थारुको बुहारी सरजुग रायको पत्नी दलति देवीका नामबाट भक्तपुर निवासी श्यामकृष्ण (दुगु) श्रेष्ठ, श्याम कृष्ण प्रजापति, सोनाम मानन्धरका नाममा मालपोत कार्यालय बाराबाट रजिष्ट्रेशन पास भएको तथ्य प्रमाण फेला परेको छ । गाउँ बिकास समितिको कार्यालय डुमरवाना बाराका गाविस सचिव कमल प्रसाद भूर्तेलले मालपोत कार्यालय बाराका नाममा सिफारिस २०६९ साल पुस २५ गते गरेको र २०७० साल बैशाख २३ गते चलानी गरिएको सिफारिस पत्रमा सो जग्गाका सम्बन्धमा सही सत्य देखिएकोले निज जग्गा धनी राम भजन थारुको नाममा दर्ता रहेको ऐ.ऐ. को कि.नं. १९० को ज.वि. १–०–१५ जग्गा निजको छोरा बुहारी तथा सरजुग रायको पत्नी ऐ.ऐ. बस्ने दलती देवी रायको नामसारी गरी दिनु हुन सिफारिस साथ अनुरोध छ भनिएको छ । गाविसका कार्यालय सहायक कृष्ण चौधरी र सचिव कमल प्रसाद भूर्तेलले सो किर्ते सिफारिस नगर्न कहीं कतैबाट दबाव आउँदा पनि २ लाख रुपैया घुस लिएर सिफारिस गरेको थाहा हुन आएको छ । मालपोत कार्यालय बाराका कर्मचारी ५ लाख रुपैया र नापी कार्यालय बाराका कर्मचारीले एक लाख रुपैया लिएर सेजको नाममा रहेको जग्गा अनियमित तवरले व्यक्ति विशेषका नाममा रजिष्ट्रेशन पास गरी आवश्यक कागजात सबै कार्यालयबाट गायब गरेको गोप्य स्रोतले जनाएको छ ।
यस अनियमित तवरले जग्गा सुक्रिबिक्री गर्ने भ्रष्टाचार प्रकरणमा हुलास स्टिल इण्डस्ट्रिज सिमराका स्थायी मजदुर सरजु रायका छोरा रामशिष राय फोरम लोकतान्त्रिकका तर्फबाट डुमरवाना गाविसका सर्वदलीय सयन्त्रका प्रतिनिधि कृष्ण बाबु चौधरी, सिमरा गाविसका श्याम वि.क., हेटौडा निवासी प्रेम सिंह बलामी, कृष्ण बाबु चोधरी लगायत संलग्न रहेको बुझिएको छ ।
डुमरवाना गाविस वडा नं. ६ निवासी मालपोत कार्यालय बारामा लेखनदासको काम गर्ने कृष्ण अधिकारी, कलैयाका कानून व्यवसायी प्रेमलाल चौधरी समेतले सो जग्गा सम्बन्धी अनियमित कार्य भ्रष्टाचार प्रकरणलाई सहयोग पुर्‍याएको सूत्रले बताएको छ ।
कि.नं. १९० को १ बिगाहा १५ धुर जग्गाको बर्तमान मूल्य झण्डै चार करोड पर्दछ । सेजको स्वामित्वमा रहेको हाल व्यक्तिबाट व्यक्तिमा सुक्रिबिक्री हुन गएको कि.नं. १९० को जग्गा दलती देवी रायसँग भक्तपुर निवासी सोनाम मानन्धर, श्याम कृष्ण (दुगु) श्रेष्ठ, श्यामकृष्ण प्रजापतिले ६० लाख रुपैयामा खरिद गरी ११ लाख रुपैया नगद दिएको र बाँकी ४९ लाख रुपैया सो जग्गामा रहेको २ वटा टहरा हटाएपछि मात्र दिने भनि घरायसी कागज गरेको थाहा हुन आएको छ ।
सेजको स्वामित्वमा रहेको कि.नं. १९० को एक बिगाहा १५ धुर जग्गा किर्ते गरी दलती देवीको नामबाट भक्तपुरका श्याम कृष्ण प्रजापति लगायत तीन जनाको संयुक्त नाममा मालपोत कार्यालय बाराबाट रजिष्ट्रेशन भएता पनि जग्गा खरिदकर्ताले आफू किर्ते जालसाजी तरिकाबाट ठगिएको महसुस गरी ठगहरुका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएर आफूहरु कारबाही हुनबाट उम्किन खोजेका छन् । मालपोत कार्यालय बाराबाट नामसारीका लागि गरिएको सिफारिस पत्र र १०४६ नं. को मिसिल र श्रेस्ताको पाना गायब छ । प्रमाण नष्ट गरे उम्कन सकिने जुक्ति मालपोत कार्यालय बाराका संलग्न कर्मचारीहरुले गरेको पाइन्छ ।
सेजको स्वामित्वको डुमरवाना गाविस वडा नं. ४ कि.नं. ४२ को ३ बिगाहा जग्गा रामसेवक थारुका नाममा नामसारी भइ आएको छ । सेजको स्वामित्वको जग्गा भनिएको कि.नं. ४२ को जग्गलाई लिएर डुमरवाना गाविस–४ का रामसेवक चौधरी थारु र दोहरी गाविस–३ निवासी श्रीखाँ थारु बीच बारा जिल्ला अदालतमा अंश मुद्दा चलिरहेको छ । २०२२ सालमा जग्गा अधिग्रहण गरी बी.चि.का.लि. को नाममा लालपूर्जा बनेको नि.नं. ४२ को ३ बिगाहा क्षेत्रफलको जग्गामा अंश मुद्दा चल्नु आफैमा रहस्यमय छ ।
वि.सं. २०२० सालमा अधिग्रहण गरिएको सिमरा उखु फार्मको नामको जग्गामा मोही कायम गराई डुमरवानाका लेखनदास कृष्ण अधिकारी र रामसाहीका छोरा कृष्ण चौधरीले १० कट्ठा जग्गा आफ्नो नाममा दर्ता गराएको चर्चा छ । काठमाण्डौ निवासी बद्री प्रसाद उपाध्यायका नातिले पनि बीचिकालीको १९ कठ्ठा जग्गा आफ्नो नाममा दर्ता गराई तिमिल्सिना बाजेलाई बेचेको भूमाफिया गिरोह बीच चर्चा छ । बीचिकालि कै जग्गा कृष्ण अधिकारीले किर्ते जालसाजीको माध्यमबाट दुई लाखमा नरेन्द्र लुइटेललाई बेचेका थिए ।
डुमरवाना गाविस वडा नं. ५ को बीचिकालिको नाममा जग्गा धनी प्रमाण पूर्जा रहेको ७ कित्ता जग्गा कृष्ण अधिकारी बेचेको कुरा गाउँघरमा गाँइगुइ चलिरहेको छ । डुमरवाना गाविस वडा नं. ६ निवासी रामशरण चौधरीको घर भन्दा पूर्वको तीन बिगाहा बीचिकालि कै स्वामित्वको जग्गा पनि कृष्ण अधिकारीले आफ्नो नाममा दर्ता गराई सो जग्गामा आफैले खेतीपाती गरी रहेका छन् । पहाडिया र थारुको बिवाद चर्काउन महत्वपूर्ण भूमिका खेल्ने लेखनदास कृष्ण अधिकारीले भारती चौक स्थित बीचिकालीको जग्गा ८ कठ्ठा किर्ते जालसाजीबाट आफ्नो नाममा गराई सुन्दरबस्तीको एक तामाङलाई बेचेका छन् । भूमाफियाहरु निकै सक्रिय छन् । सेजका कर्मचारी निष्क्रिय छन् । भूमाफियाले सेजको जग्गा बेचबिखन अभियान नै चलाएको छ ।

SHARE THIS

Author:

Facebook Comment