काठमाडौं, माघ १२ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति सुशील कोइराला निर्वाचित हुनुभएको छ ।आइतबार दिउँसो सकिएको मतदानमा कोइरालाले एकसय ५ मत ल्याएर संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । अर्का प्रतिष्पर्धी तथा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले ८९ मत ल्याउनुभयो । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा कांग्रेसका सबै एकसय ९४ सभासद सहभागी भएका थिए ।
विद्युतीय मतदान भएकाले परिणाम छिटो सार्वजनिक भएको हो । यसअघि संसदीय दलको नेतामा दावी गर्दै आएका उपसभापति रामचन्द्र पौडेलले कार्यवहाक सभापतिको आश्वासन पाएपछि कोइरालालाई समर्थन गर्नुभएको थियो ।
संसदीय दलको नेतामा निर्वाचित भए लगत्तै कोइराला भावी सरकारको प्रधानमन्त्री बन्ने पक्का भएको छ । कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने प्रावधान छ । कांग्रेस संविधानसभाको सबैभन्दा ठूलो दल हो ।