राप्रपा नेपालको समर्थनमा व्यापक जनलहर


क्राइमचेक प्रतिनिधि/
वीरगंज/नेपाललाई संवैधानिक राजतन्त्रसहित सर्वधर्म सम्मानका साथै हिन्दु राष्ट्र नेपाल कायम र वैदेशिक हस्तक्षेप बन्द गर्ने उद्घोषकासाथ चुनावी मैदानमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको गाई छापमा मतदान गर्न व्यापक जनलहर देखिएको छ ।
      नेपाल हिन्दु राष्ट्र रहँदासम्म कुनै पनि धर्ममाथि हस्तक्षेप, जबरजस्ती धर्म परिवर्तन, धार्मिक स्वतन्त्रताको हनन हुने गरेको थिएन । धर्म निरपेक्ष राज्य घोषणा भए यता नेपालमा धार्मिक युद्ध गराउन विदेशीहरूले धार्मिक स्वतन्त्रता हनन गराउन विभिन्न चलखेल गरिरहेको अवस्थामा विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाललाई पुन: हिन्दु राष्ट्र कायम गराउने अठोटका साथ चुनावी मैदानमा उत्रिएको छ ।
      हिन्दु राष्ट्र नेपालको भनिएपनि राप्रपा नेपालले मुस्लिम उम्मेदवारलाई नेपालको सबै राजनीतिक पार्टीभन्दा बढी सिट दिएर सर्वधर्म सम्मानको उदाहरण दिएको छ । यसले भोलिको दिनमा अर्थात् हिन्दु राष्ट्र नेपाल कायम पनि सबै धर्मावलम्बीहरूलाई धार्मिक स्वतन्त्रता कायम रहने संकेत दिएको छ ।
      त्यस्तै नेपालको हरेक आन्तरिक मामिलामा हुने वैदेशिक खासगरि पश्चिमा मुलुकहरूको बढ्दो हस्तक्षेप विरुद्ध पनि राप्रपा नेपालले पनि आवाज उठाउने भएको देखेर यस क्षेत्रका मतदाताहरू राप्रपा नेपालको गाई छापमा मत दिन उन्मुख भएको चर्चाले व्यापकता पाएको छ ।
      राप्रपा नेपालको तर्फबाट प्रत्यक्षतर्फ पर्सा निर्वाचन क्षेत्र नं. १, २ र ४ मा क्रमश: बबिता तिवारी, राजिव पराजुली र चन्द्रिका सहनीले उम्मेदवारी
दिएका छन् ।
      बबिता तिवारी स्व. काशी तिवारीका धर्मपत्नी हुन् । स्व. तिवारी हिन्दु युवा संघ नेपालको अध्यक्ष रहि हिन्दु राष्ट्रकोलागि संघर्ष गरिरहँदा उनको हत्या भएको थियो । स्व. तिवारीको नेतृत्वले वीरगंजमा एमाओवादीको बन्दलाई विफल तुल्याएको थियो । उनकै धर्मपत्नी बबिता तिवारी अहिले चुनावी मैदानमा उत्रिएर हिन्दु राष्ट्र कायम गराउन राप्रपा नेपालको चुनावचिन्ह गाई छापमा भोट दिन सबैसँग अपिल गर्नुभएको छ ।
      त्यसैगरी पर्सा क्षेत्र नं. २ का उम्मेदवार राजिव पराजुलीले पनि नेपाललाई सर्वधर्म सम्मान र राजासहितको हिन्दू राष्ट्र कायम गराउन राप्रपा नेपालको गाई छापमा मत माग्ना आफ्नो चुनावी क्षेत्रमा जाँदा मतदाताहरूको व्यापक समर्थन पाएको बताएका छन् ।
      त्यस्तै ४ नं. क्षेत्रका प्रत्यक्ष उम्मेदवार चन्द्रीका सहनी पनि राप्रपा नेपालको चुनाव चिन्ह गाई छापमा मतदान गर्न राष्ट्र, राष्ट्रियता र धर्मको रक्षा गर्न मतदाताहरूसँग अपिल गर्न जाँदा सो क्षेत्रका स्थानीय मतदाताहरूले उत्साहपूर्वक सहभागिता हुने गरेको उनले बताए ।

SHARE THIS

Author:

Facebook Comment