वीरगंज । दाईजोको कारण छोरीको सानै उमेरमा बिबाह गरिदिने सामाजिक परम्पराअनुसार मधेसका अधिकांश महिला तथा किशोरीहरुमा कलीलै उमेरमा आङ खस्ने र यौनरोगको संक्रमण देखिएको छ ।
सानै उमेरमा बिबाह गरेका ग्रामिण मधेसी महिलाहरुमा पाठेघर तथा यौन रोगको समस्याले ग्रसित हुने गरेका छन् । पाठेघर तथा यौनांगको विकास नहुँदै बैबाहिक जीवन सुरु गरेको कारण उनीहरुमा पाठेघर खस्ने तथा यौन रोगको संक्रमण बढेको हुनसक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजका बरीष्ठ स्त्रि रोग बिशेषज्ञ डाक्टर मन्जुलता अग्रवालले पाठेघर खस्ने समस्या पहाडी क्षेत्रका महिलामा मात्र हुने भन्ने धारणा गतल भएको बताउदै तराईका महिलाहरुमा पनि यो समस्या उत्तीकै मात्राको जोखिममा रहने हुदा तराईका महिलाहरुमा खासगरी मधेशी महिलाहरु
मा सानै उमेरमा विवाह गर्ने सामाजिक प्रचलन छ । सानो उमेरमा उहाँहरुको पाठेघर र यौनांगको विकास नै भएको हुदैन यस्तो उमेरमा गर्भवती हुँदा यो समस्या हुने अत्याधिक खतरा भएकोले तराईमा पनि अति नै जोखिममा परेको बताउनु हुन्छ ।’
अर्कोतिर ग्रामिण मधेशी महिलाहरु अशिक्षा अन्धविश्वास र सामाजिक लाजको कारण यौन तथा यौनांग संम्बन्धि समस्याले ग्रसित भए पनि आफ्नो रोग तथा समस्या अरुलाई नभन्ने हुँदा उनीहरु झनै समस्यामा पर्ने गरेको पाईएको छ ।
समाजिक परम्परा अनुरुप सानै उमेरमा बैबाहीक बन्धनमा बाँधिने गरेका ग्रामिण मधेशी महिलाहरुमा पाठेघर खस्ने समस्याले ग्रसित हुने गरेको पाईएको हो ।
पर्साको ग्रामिणक्षेत्र पोखरीयामा हालै गरीएको स्वास्थ्य परीक्षणको क्रममा गाउमा बसोबास गर्ने ग्रामिण मधेशी महिलाहरुमा यो समस्या अत्याधिक भएको तर उनीहरु समाजिक लोकलाजको कारण आफ्नो समस्या बाहिर ल्याउन नचाहेको भेटिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
निशुल्क स्वास्थ्य शिबिरमा खटिनु भएकी बरीष्ठ स्त्रिरोग बिशेषज्ञ डाक्टर मन्जुलता अग्रवालले ’सानै उमेरमा विवाह गरिदिने र उनीहरुमा व्याप्त अशिक्षा र अज्ञानताको कारण रोग भन्नु भन्दा पनि लुकाउने प्रबृत्ति बढि भएको बताउदै ग्रामिणक्षेत्रमा बसोबास गर्ने २३ वर्षदेखि ६७ वर्षसम्मका मधेशी महिलाहरुममा यो समस्या देखिएको बताउनुभयो ।
स्वास्थ्य परीक्षणमा लंगडीबाट आएकी रम्भावती देबी आफै महिला स्वयमसेविका हुन, सानै उमेरमा बैवाहिक बन्धनमा बाँधिएकी उनमा पनि यो समस्या दोस्रो चरणमा पुग्दा समेत लुकाएरै बसेको अवस्थामा भेटिएको थियो । अहिले उनको उपचार हुँदै छ ।’ अधिकांशले आफ्नो पीडा घरपरिवारलाई जानकारी दिंदा लोग्नेले अर्को विवाह गर्ने र परिवारबाट अपहेलित हुनु पर्ने डरले आफ्नो रोग बाहिर नभन्ने गरेको खुलाशा भएको छ ।
यस्तै जानकीटोलाकी नेशा खातुन ५ बच्चाबच्चीको आमा पनि आफ्नो समस्या लुकाएको कारण उनी पनि पाठेघर खस्ने समस्याको दोस्रो स्टेजमा पुगेको अवस्थामा स्वास्थ्य शिबिरमा आएकी थिईन् । उनले खुलेर मधेशी महिलाहरु आफ्नो समस्या राख्न नसकेको कारण उनीहरुमाथि रोगले च्याप्दै जाने गरेको आफ्नो अनुभव बताईन । पोखरीयामा हालै सम्पन्न महिलाको निशुल्क स्वास्थ्य शिबिरमा ८६ जना मधेशी महिला पाठेघर खस्ने रोगबाट ग्रसित अवस्थामा भेटिएको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।
पोखरीया शिबिर मधेसको एउटा उदाहरण मात्र हो । मध्य तथा पुर्बी तराईका जिल्लाहरुमा महिलाहरुको उमेर नपुग्दै बिबाह हुदा उत्पन्न हुनसक्ने समस्याको बारेमा जबसम्म अभिभाबकहरु सचेत हुदैनन् तबसम्म यो समस्या यथावत रहने सामाजीक कार्यकर्ता गंगाबहादुर थापा बताउनुहुन्छ ।
