विश्वकै इतिहासमा दोश्रो पटक नेपालमा संविधान निर्माणकालागि संविधानसभा सदस्यको निर्वाचन अति भयरहित वातावरणमा जनाको सहभागितामा सम्पन्न भएको छ । संविधानसभाबाट संविधान निर्माणलाई जटिल प्रकृया मानिन्छ । संविधानसभाको निर्वाचन पटक–पटक हुने कुरा होइन । जेजस्तो परिणम आएपनि जे जस्तो उपलब्धी दिनेभएपनि मंसिर ४ गतेका दिन ऐतिहासिक रुपमै सक्रिय चुनाव बहिष्कार चुनाव विथोल्ने अभियानलाई चुनौती दिंदै नेपाली जनताहरूले महत्त्वपूर्ण अवसरका रुपमा देश्रो संविधानसभालाई उपभोग गरे । संविधानसभामा १२३ वटा राजनीतिक दलले भाग लिए,
३३ दलले शान्तिपूर्ण वहिष्कार नगरेर चुनाव विथोल्न सकेसम्मको आतंक मच्चाए । नेपाली मतदाताहरूले राष्ट्रको राजनीतिक निकासकालागि मतदानमा भाग लिएर ठूलो साहस देखाइ बहिष्कारवादीहरूलाई ठूलो गतिलो जवाफ दिए । हुन त चुनाव हुनु मात्र ठूलो कुरो होइन, यसको परिणाम र उपलब्धी के हुने हो, चुनावको सफलता/असफलता त्यसमा भर पर्दछ । नेपाली जनता आन्दोलनको पक्षमा भन्दा शान्ति प्रक्रिया र विकासको पक्षमा छन् भन्ने कुरा चुनावबाट देखिएको छ । तर जनताको ईच्छा, आकांक्षा र मर्म बुझेर राजनीतिक तालमेल, दलीय सहमतिका साथ नेपालको संविधान जारी गर्ने वुद्धि र विवेक पलाउला भन्ने देखिंदैन । अब पनि चुनावको सदुपयोग भएन भने नेपाली जनताले नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीलाई माफ दिने पक्षमा छैनन् । प्रतिकूलताको बावजूद पनि मेरो गोरुको बाह्रै टक्का नभनि संविधानसभामा पुगेका दलहरूले जतिसक्दो छिटो संविधानसभाबाट संविधान निर्माण गर्न सक्नु पर्दछ । विदेशीको सहयोगमा अति ठूलो धनराशीको खर्च गरी गरिएको संविधानसभाको निर्वाचनले संविधान निर्माणमा जति बिलम्ब गर्छ त्यति राजनीतिक संक्रमण लम्बिएर देशमा अनिष्ट र अनर्थ हुन्छ । चुनावमा जनताले दिएको मतको परिणाम अनुसार सन्तुलित सबै पक्षलाई मान्य संविधान निर्माण गर्न सक्नु पर्दछ । तब मात्र राष्ट्र र पार्टीहरूको सफलता मान्न सकिन्छ । पहिलो संविधानसभाको जस्तो हाल भोलिको दिनमा भयो भने केही राजनीतिक दलहरूको इतिहास मेटिएर जानेछ । जनताले मत दिएर फर्किएपछि अब पनि संविधानसभाबाट संविधान बनेन भने आफ्नो मत खेर गयो भने के गर्ने भन्ने शंका मनमा लिईरहेका छन् । राष्ट्रिय अखण्डताको रक्षा, सामाजिक मर्यादा, भेदभावरहित समाजको निर्माण र आर्थिक समृद्धि नै जनताको चाहना हो । जनताको चाहना र राष्ट्रको आवश्यकता संविधानले पूरा गर्न सक्दछ । राजनीतिक दलहरूको सहभागितामा देशको मूल कानुन संविधान निर्माण भयो । संविधानसभामा भाग लिएका दलहरूले विदेशीको दलाली र सेवालाई छोडेर देश र जनताको मर्मलाई बुझे भने संविधानसभा निर्वाचनको परिणामले उपलब्धी पनि दिन सक्छ । संविधानसभामा कसैको पनि दुई तिहाई बहुमत आउदैन । जनताले मतदानमार्फत जुन धारलाई बलियो पारेका छन् त्यसलाई सबैले स्वीकार गर्नै पर्छ । निर्वाचन विथोल्ने र वहिष्कार गर्ने सबै शक्तिलाई राजनीतिक प्रकृयामा समावेश गर्नु जरुरी छ । तबमात्र सबैखाले द्वन्द्वको अन्त्य र संविधानसभाको सदुपयोग हुनेछ ।
