वीरगन्ज २८ वैशाखः सविधान सभा निर्वाचनको मिति अविलम्ब घोषणा गर्नुपर्ने मुख्य माग राख्दै आन्दोलनमा उत्रिएको सदभावना पार्टीले रिले अनशनलाई निरन्तरता दिंदै आइतबार मधेश बन्दको आह्वान गरेको छ ।
घण्टाघर चोकस्थित अनशन स्थलमा मधेशी पत्रकार समाजद्वारा आयोजित पत्रकार सम्मेलनमा सद्भावनाका केन्द्रिय सदस्य नेजामुद्दिन समानीले तीन दिनसम्म रिले अनशन गर्दा पनि सरकारले मागप्रति चासो नदेखाएपछि अनशनलाई निरन्तरता दिंदै तराई मधेशका २२ जिल्लामा बन्दको आह्वान गरिएको बताए ।
चुनावको मिती घोषणा गर्नुपर्ने माग गर्दै सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहत्ता र सुनसरी जिल्ला उपाध्यक्ष देवराम यादवले दश दिनदेखि आमरण अनशन जारी नै राखेका छन् ।
बन्द आह्वानका क्रममा आइतबार शिक्षण संस्था, विद्यार्थी र शिक्षक बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्सलगायतका सवारी साधनको सञ्चालनमा पर्सा जिल्लामा कुनै अवरोध नगरिने केन्द्रिय सदस्य नेजामुद्दिन समानीले बताए ।
तेश्रो दिनको आमरण अनशनमा वीरगन्जको घण्टाघर चोकमा बिहान १० बजेदेखि जिल्ला अध्यक्ष इमदाद गद्दी, कोषाध्यक्ष रामाशिष धानुक, सदस्य रामचन्द्र गिरी, क्षेत्रिय उपाध्यक्ष राजकुमार साह, क्षेत्रिय सदस्य रहमान मियाँ, विद्यार्थी मञ्चका केन्द्रिय सदस्य शिवकुमार साह २४ घण्टे रिले अनशनमा बसेका छन् ।
सदभावना पार्टीले विभिन्न १० सुत्रिय माग राख्दै शुक्रबारदेखि वीरगन्जको घण्टाघर चोकमा रिले अनसन शुरु गरेको हो । निर्वाचन क्षेत्र पुनर निर्धारण आयोग गठन गर्नुपर्ने, नागरिकता वितरण निर्देशिका २०७० को शंसोधन गरी आमाको नागरिकताको आधारबाट पनि नागरिकता प्रदान गर्नुपर्ने माग गरेका छन । त्यसैगरी भारतीय रुपैयाँ बिनिमयमा भइरहेको कालाबजारी नियन्त्रण गर्नका लागि अत्यावश्यक स्थानमा भारु सटही काउन्टरको व्यवस्था मिलाउनु पर्ने, किसानका लागि मल, खाध, बिउ लगायत कृषी औजार खरीदमा पर्याप्त सुविधा लिन अगाडी बजेटमा व्यवस्था मिलाउनु पर्ने लगायत १० बुन्दे माग राख्दै आन्दोलन जारी छ ।