पाठेघरको अपरेसन गर्दा महिलाको मृत्यु

बझाङ/ सदरमुकाम चैनपुरमा सञ्चालन भएको स्वास्थ्य शिवरमा पाँच दिनअघि पाठेघरको अपरेसन गरेकी एक महिलाको मृत्यु भएको छ। 
उक्त शिविरमा पाठेघरको अपरेसन गरेकी थलाराकोटभैर गाविस–६ की सत्यदेवी पाण्डेको बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्कने क्रममा मृत्यु भएको हो। 
चिकित्सकहरूले स्वास्थ्यको ख्याल नगरी अपरेसन गर्दा महिलाको मृत्यु भएको उनका पति जनक पाण्डेले बताए । उनले भने– ‘बुधबार अस्पतालबाट डिस्चार्ज गरी घर लैजान पत्नीलाई एक होटलमा लगेर राख्यौं, तर राति नै उनको मृत्यु भयो।’ 
नवजीवन अस्पताल धनगढीले आयोजना गरेको आङ खसेका महिलाहरूको अपरेसन शिविरमा वैशाख २१ गते सत्यदेवीको अपरेसन भएको थियो।
पतिले रुँदै भने– ‘पत्नी कमजोर भएकाले चिकित्सकहरूलाई पछि केही खतरा हुने हो कि भनेर सोधें। तर उनीहरूले सामान्य छ, अप्रेसन गरे हुन्छ भने। तर पछि उनी झन कमजोर हुँदै गइन्। अपरेसनकै कारण मेरी पत्नीको ज्यान गयो अब मेरा बाल बच्चाको बिजोग हुने भयो।’
वैशाख १८ देखि २२ गतेसम्म सञ्चालन भएको शिविरमा नवजीवन अस्पतालका स्त्री रोग विशेषज्ञ डा. राजन न्यौपाने आएका थिए। शिविरमा ९० जना पाठेघर खसेका महिलाको अपरेसन भएको थियो। अपरेसनमा संलग्न चिकित्सकसँग बुझ्न खोज्दा उनीहरू सम्पर्कमा आउन चाहेनन्।

SHARE THIS

Author:

Facebook Comment