अख्तियारमा लोकमान, लोकसेवामा यमी नियुक्तिका लागि सिफारिस

काठमाडौं, वैशाख २२ । ०६२/०६३ सालको जनआन्दोलन दबाउन भूमिका खेलेको आरोप लागेका तत्कालीन मूख्य सचिव लोकमानसिंह कार्कीको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस भएको छ । आज बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई अख्तियार प्रमुख बनाउन सिफारिस गरेको हो ।

कार्कीलाई अख्तियारको प्रमुख बनाउने विषयमा विवाद भएपनि एकीकृत माओवादीको प्रस्तावमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चा सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले एक मतले परिषद्लाई सिफारिस गरिसकेको आधारमा परिषद बैठकले सिफारिस गरेको कायममुकाम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले बताए ।
 
त्यसैगरी संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगको प्रमुखमा कयोदेवी यमी र महालेखा परीक्षकको नेतृत्व भानुप्रसाद आचार्यलाई सुम्पन सिफारिस गरिएको हो ।

लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषदको बैठक सिंहदरबारमा बसेको थियो ।


कार्कीलाई अख्तियारको प्रमुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको मुद्दामा नियुक्ति नै नगरिएको अवस्थामा विषयमा प्रवेश गरिरहनु नपर्ने भन्दै सर्वोच्चको संयुक्त इजलाशले मुद्दा टुंग्याइदिएको थियो ।

यद्यपि, न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले भने अन्तरिम आदेश दिँदै नियुक्तिका लागि सिफारिश गर्ने चार दलीय संयन्त्रको वैधानिक हैसियतबारे समेत प्रष्ट गर्न भनेको थियो ।

SHARE THIS

Author:

Facebook Comment