काठमाडौं, वैशाख १७ । निर्वाचन आयोगले समलिङ्गी तेश्रोलिङ्गीलाई फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन कुनै कठिनाई नहुने प्रतिवद्धता जनाएको छ । निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव सहितका आयोगका पदाधिकारीसँग पाँच विकास क्षेत्रबाट आएका समलिङ्गी तेश्रोलिङ्गी प्रतिनिधिले गरेको छलफलमा आयोगले नाम दर्ता गराउन कुनै कठिनाई नहुने प्रतिवद्धता जनाएको हो ।निर्वाचन आयुक्त यादवले समलिङ्गी, तेश्रोलिङ्गीले सहज रुपमा मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेमा ढुक्क हुन आग्रह गरे । महिला, पुरुषसँगै तेश्रोलिङ्गी र अन्य उल्लेख गरेर नाम दर्ता गराउन सक्ने व्यवस्था आयोगले गरेको यादवको भनाई छ । आयुक्त यादवले नागरिकता लिएर आएका सबै समलिङ्गी, तेश्रोलिङ्गीले सहज र सरल रुपमा नाम दर्ता गराउन सक्ने र नागरिकता नलिएका तर २०६४ सालको मतदाता नामावलीमा नाम भएका समलिङ्गी तेश्रोलिङ्गीले पनि नाम दर्ता गराउन सक्ने जानकारी दिए ।
उनले नागरिकता लिनका लागि आएका समस्याबारे गृहमन्त्रालयलाई घचघच्याउन सुझाव समेत दिए । समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले फोटो सहितको नामावली संकलनमा नागरिकता आवश्यक पर्ने र नागरिकता लिनका लागि झन्झट व्यहोर्नु परेकाले समलिङ्गी, तेश्रोलिङ्गी मताधिकारबाट बञ्चित नहुन भनेर आयोगको ध्यानाकर्षण गराएको बताए ।
आयोगले नागरिकताको समस्याबारे गृहमन्त्रालयसँग समन्वयन गरेर फोटो सहितको मतदाता नामावली संकलनमा सहभागी हुने र मताधिकारबाट वञ्चित नहुन सुझाव दिएको छ । निर्वाचन आयोगका प्रवक्ता मधुप्रसाद रेग्मीले अहिले सम्म १ सय ७१ जना समलिङ्गी तेश्रोलिङ्गीले फोटो सहितको मतदाता नामावलीमा नाम लेखाई सकेकाले बाँकीले पनि नाम दर्ता गराउन कुनै समस्या नभएको बताए ।
नील हिरा समाजका कार्यकारी निर्देशक पन्तले सहज रुपमा नागरिकता पाउन, मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि आवश्यक निर्देशन र परिपत्र जारी गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा निवेदन दिइसकेका छन् ।