निर्वाचन आयोगमा दल दर्ता शुरु


काठमाडौं, वैशाख १७ । संविधानसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आयोगमा दल दर्ता सुरु भएको छ । विहान १० बजेदेखि दल दर्ता सुरु गर्ने तय गरिएकोमा दलहरुको तँछाड–मछाडका कारण निर्धारित समय भन्दा निकै ढिलोगरी दल दर्ताको क्रम सुरु भएको थियो ।

अहिलेसम्म दर्ता भएका दलमा नेकपा एमाले पहिलो, एकीकृत नेकपा माओवादी दोस्रो, राप्रपा नेपाल तेस्रो र नेपाली कांग्रेस चौथो नम्वरमा रहेका छन् । त्यसैगरी तमलोपा, सद्भावना, नेकपा माले लगायत अहिलेसम्म ११ वटा दलले आयोगमा दर्ता गरेका छन् ।

एकीकृत माओवादी र एमालेका नेताबीच आफ्नो दल एक नम्बरमा दर्ता हुनुपर्ने विषयमा चर्को विवाद भएको थियो । दर्ताका लागि आयोग पुगेका नेताहरुबीच तनाव भएपछि विवाद मिलाउन शीर्ष
नेताहरु नै आयोग पुग्नु परेको थियो ।

एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई, कांग्रेस महामन्त्री कृष्ण सिटौला लगायतका नेता आयोगमा पुगेर आयोगका पदाधिकारीहरुसँग छलफल गरी विवाद सुल्झाएका थिए । दल दर्तापछि शीर्ष नेताहरुहरुले दलहरु चुनावमा केन्द्रित हुन थालेको बताए ।

आफ्नो पार्टीलाई पहिलो नम्बरमा दर्ता गर्नका लागि नेताहरु विहान उज्यालो हुने वित्तिकैदेखि आयोगको कार्यालय अगाडि पुगेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल विहानै आयोग कार्यालय पुगेका थिए ।

दल दर्ताका लागि दलहरुबीच देखिएको उत्साहले निर्वाचन आयोगलाई निर्वाचन गराउन थप प्रेरित गरेको निर्वाचन आयोगका प्रवक्ता मधुप्रसाद रेग्मीले हामीलाई बताए ।

आजदेखि सुरु भएको दल दर्ताको क्रम जेठ १५ गतेसम्म रहने छ । दर्ताका लागि दलको नाम र प्रधान कार्यालयको ठेगाना, कार्यसमितिको नाम र ठेगाना, दलको आयब्यय र स्रोतको विवरण खुलाएर निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।

लोकतान्त्रिक पद्धतिबाट चल्ने, पाँच वर्षमा एकपटक दलका प्रत्येक तहमा निर्वाचन गरिने, कार्यसमितिमा महिला, दलित लगायत उपेक्षित र उत्पीडित क्षेत्रबाट समावेशी प्रतिनिधित्व रहने व्यवस्था पनि हुनुपर्ने छ ।

राजनीतिक दलको नाम, उद्देश्य, चिह्न वा झण्डा मुलुकको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा मुलुकलाई विखण्डित गर्ने प्रकृतिको वा त्यस्तो दलको विधान वा नियमावलीमा निर्दलीय वा एकदलीय व्यवथा सम्वद्र्धन र संरक्षण गर्ने उद्देश्य रहेमा दल दर्ता नहुने पनि आयोगले प्रष्ट गरेको छ ।

दल दर्ताका लागि १० हजारको हस्ताक्षर बुझाउनुपर्ने यसअघिको प्रावधानमा यसपटक भने हस्ताक्षर प्रमाणित नै गर्नुपर्ने गर्ने व्यवस्था गरिएको छ । एकै व्यक्तिले एउटा दलमा मात्रै हस्ताक्षर गर्नुपर्ने छ ।

यसअघि दर्ता भइसकेका दलले पनि आयोगले तोकेको ढाँचामै निवेदन दिनुपर्नेछ । तर, विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने दलका लागि यो प्रावधान लागू हुनेछैन । ती दलहरुले आगामी निर्वाचनमा भाग लिने जानकारी सहितको निवेदन दिए पुग्ने छ ।

यसअघि आयोगमा १ सय १९ दल दर्ता भएपनि २०६४ सालको निर्वाचनमा ५४ दलले मात्र भाग लिएका थिए ।


SHARE THIS

Author:

Facebook Comment