कुरियरबाट घरमै कन्डम


तपाईंलाई कन्डम चाहिएको छ ? पसलमा किन्न जान लाज लाग्छ ? लाज लाग्छ भने चिन्ता नगरे हुन्छ । तपाईं नेपालको जुनसुकै स्थानमा भए पनि बैंक खातामा पैसा जम्मा गर्नासाथ अब तपाईंको हातमा कन्डम आइपुग्ने छ । त्यो पनि सुरक्षित कुरियरमार्फत । नारायणगढस्थित चितवन कन्डम हाउसले सुरक्षित यौन सम्पर्कका लागि यस्तो अभियानको थालनी गरेको हो ।

पछिल्लो समय जनचेतना हुँदाहुँदै पनि लाज र संकोचले गर्दा कन्डमको प्रयोगबिना नै यौन सम्पर्क गर्दा एचआईभी एड्स लाग्ने खतरा बढेर गएको छ । त्यसैले कन्डम हाउसले फोन सम्पर्कमार्फत बैंकमा पैसा जम्मा गर्नासाथ कन्डम मात्र होइन, सेक्स टोय (यौन खेलौना) समेत फोनको भरमा कुरियर गरेर पठाउने व्यवस्था मिलाएको छ ।



अहिले यो हाउसबाट बुटवल र नेपालगन्जमा कुरियरमार्फत कन्डम पठाउने गरिएको छ । 'सुरक्षित यौन सम्पर्कका लागि हामीले बैंक ब्यालेन्स गर्नेलाई कुरियरमार्फत कन्डम र सेक्स टोय पठाउन सुरु गरेका छौं,' कन्डम हाउसका सञ्चालक तुलसी रिमालले भने, 'अभियान सुरु भएको धेरै नभए पनि प्रभावकारी बनेको छ ।'

उनले फोन गरेर बैंक खातामा पैसा जम्मा गर्नासाथ चाहिएका अस्थायी साधन हातमा पर्ने गरी कुरियर गरेर पठाउने बताए । तीन वर्षअघि सञ्चालनमा आएको कन्डम हाउसमा दैनिक कन्डम लिन आउनेको भिड लाग्छ । १५ वर्षका युवायुवतीदेखि ७८ वर्ष उमेरका वृद्धसम्म कन्डम र सेक्स टोयका सामान लिन आउँछन् । कन्डम र सेक्स टोय मासिक एक लाख रुपैयाँभन्दा बढीको बिक्री हुने गरेको छ । हाउसमा ५ रुपैयाँदेखि ८ सय मूल्यका कन्डम छन् । त्यस्तै, २ हजारदेखि १७ हजार मूल्यसम्मका सेक्स टोयका विभिन्न्ा साधनहरू राखिएका छन् ।

हाउसले निःशुल्क रूपमा समेत कन्डम वितरण गर्दै आएको छ । 'पहिले कन्डम लिन आउन लजाउने धेरै थिए,' कन्डम हाउसका नेत्र पौडेलले भने, 'अहिले त श्रीमान्-श्रीमती नै सँगै आएर आफूले चाहेका अस्थायी साधन छानेर लैजान्छन् ।' पहिलेभन्दा अहिले कन्डम प्रयोगकर्ताको संख्या बढेको उनले बताए । सेक्स टोय भने वृद्धवृद्धाहरूले लिएर जाने गरेका छन् । महिला-पुरुष दुवैलाई यौन चाहना पूरा गर्ने सेक्स टोय तथा कन्डम बिक्री गर्दै आएको कन्डम हाउसले जनायो ।

'हाम्रो उद्देश्य सबैमा यौन सम्पर्क गर्दा कन्डम प्रयोग गर्नुपर्ने जनचेतना फैलाउनु हो,' हाउसका सञ्चालक रिमालले भने, 'त्यसैले कुरियरमार्फत कन्डम र सेक्स टोय पठाउने अभियानलाई प्राथमिकता दिएका छौं ।' उनले खातामा रकम आउनासाथ नेपालको जुनसुकै कुनामा पनि यस्ता साधन पठाउन आफूहरू तयार रहेको बताए

SHARE THIS

Author:

Facebook Comment