कम्प्युटरमा डेस्कटप भएन भने कस्तो होला ? कल्पना गरौं त । कम्प्युटर अपरेटिङ सिस्टम (ओएस) मा एकछत्र बजार हिस्सा लिइरहेको माइक्रोसफ्टको विन्डोज नयाँ संस्करणमा डेस्कटप हराउने भएको छ । सुधारिएको संस्करणमा डेस्कटप हटाएर माइक्रोसफ्टले के गर्न खोजेको हो ? यसको उत्तरका लागि केही समय कुर्नै पर्ला ।
विन्डोज ८ पछि माइक्रोसफ्टले नयाँ संस्करण (विन्डोज ९ वा अरू केही नाममा) ल्याउँदैछ भन्ने अनुमान सबैले गर्नु स्वाभाविकै हो । किनकि उसले हरेक वर्षजस्तै विन्डोजका नयाँ संस्करण बजारमा उतार्दैछ । भर्खरै माइक्रोसफ्टका कर्पोरेट कम्युनिकेसन भाइस प्रेसिडेन्ट फ्रयाङ्क एक्स सले माइक्रोसफ्टको आधिकारिक ब्लग साइट ब्लग्स डट टेकनेट डटकममा नयाँ संस्करणको तयारी गरिरहेको खुलासा गरे ।
उनले यसको नाम विन्डोज 'ब्लु' हुने पनि बताएका छन् । यसको स्टार्ट अप स्क्रिनमा देखिने रंगजस्तै । माइक्रोसफ्टले आधिकारिक रूपमा नयाँ संस्करणबारे केही बताएको छैन । यद्यपि यसका केही नयाँ फिचर आधिकारिक जस्तै गरी बाहिर आएका छन् । माइक्रोसफ्टले सम्भवतः जूनतिर सार्वजनिक गर्ने नयाँ विन्डोजका केही नयाँ विशेषता पुरानोमा भन्दा निकै फरक हुनेछन् ।
त्यसमध्ये एउटा हो, कम्प्युटरको स्क्रिनलाई दुई भागमा बाँडेर काम गर्न पाउनु । यसमा दुई वटा काम गर्न स्क्रिनलाई ५०/५० प्रतिशत भागमा बाँडेर काम गर्न सकिन्छ । विन्डोज ८ मा भने दुई वटा काम गर्न ७५/२५ मात्र गर्न सकिन्थ्यो । नयाँ विन्डोज औंलाले खेलाउँदै चलाउने खालको 'फिंगर फ्रेन्डली' हुनेछ । यसको सेटिङ ट्याब्लेट चलाएजस्तै हुनेछ ।
पीसी सेटिङमा क्लिक गर्दा होम, लक स्त्रिmन, एकाउन्ट, स्काइड्राइभ, प्राइभेसी, डिभाइसेज, नेटवर्क, एप्स, इजी टु एक्सेसजस्ता छनोट अप्सनले पीसी चलाउनुको छुट्टै आनन्द दिनेछन् । यसको अर्को विशेषता यसमा सुपर स्काई ड्राइभ छ । विन्डोज ८ मा डेस्कटप स्काई ड्राइभ थियो । यसमा पहिले स्टोर गरिएका फाइलमा मात्र एक्सेस हुन्थ्यो ।
विन्डोज ब्लुमा भने कम्प्युटरमा भएका फाइलहरू पनि सिंक्रोनाइज हुनेछन् । सुपर स्काई ड्राइभ निकै शक्तिशाली हुनेछ । विन्डोज ब्लुसँगै इन्टरनेट एक्स्पोरर ११ इन्स्टल हुनेछ । माइक्रोसफ्टको पछिल्लो पुस्ताको वेब ब्राउजरले नयाँ सुविधाहरू प्रदान गर्नेछ । विन्डोज ८ मा इन्टरनेट एक्स्प्लोरर १० थियो ।
विन्डोजको ब्लु संस्करण नयाँ एप्लिकेसन्स(एप्स) युक्त हुनेछ । ब्लुको स्टार्ट स्क्रिनमै
अलार्म, क्यालकुलेट, साउन्ड रेकर्ड र मुभी मोमेन्टजस्ता एप्स हुनेछन् । विन्डोज ८ ले यसका टाइललाई दुई वटा साइजमा मात्र बदल्ने अप्सन दिएको थियो, एउटा मध्यम खालको वर्गाकार साइजमा र अर्को ठूलो आयाताकार साइजमा ।
विन्डोज ब्लुले टाइललाई थप दुई नयाँ साइजमा बदल्ने सुविधा दिएको छ । एउटा सानोसानो वर्गाकार (मिडियम साइजको चौथाइ आकार) र अर्को ठूलो आयाताकार साइजको दोब्बर जत्रो । विन्डोज ८ मा रहेको सामान्य क्लिकमै लाइभ टाइल्स यताउता सर्ने समस्याबाट विन्डोज ब्लुुले मुक्ति दिनेछ ।
विन्डोज ब्लुलाई पर्सनालाइजेसन गर्न निकै सजिलो छ । यसले सेटिङ अप्सनमै पर्सनालाइजेसनलाई सामेल गरेको छ । यसको स्त्रिmन सट सेयर गर्न पनि निकै सजिलो छ । बिल गेट्स कुनै बेला संसारकै धनी थिए । अहिले उनी धनीको सूचीमा दोस्रो नम्बरमा झरेका छन् । फोब्र्स पत्रिकाका अनुसार उनीसँग अहिले ६७ अर्ब डलर -करिब ५८ खर्ब ५५ अर्ब रुपैयाँ) बराबरको सम्पत्ति छ ।
उनले यति धेरै सम्पत्ति कम्प्युटर ओएस बेचेरै कमाएका हुन् । कम्प्युटरमा माइक्रोसफ्टको विन्डोज ओएस प्रयोगको हिस्सा विश्वमा सबै भर्सनको गरेर करिब ९२ प्रतिशत छ । प्रविधिमा आएको परिवर्तनसँगै माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टम (ओएस) मा पनि समयानुकूल परिवर्तन गर्दै आएको छ ।
सन् १९७५ बाट सुरु भएको माइक्रोसफ्टले अस्सीमा आएर एमएस-डस लिएर ओएस बजार प्रवेश गरेको थियो । त्यसपछि विन्डोज १, २, ३, ९५, ९८, २०००, मी, एक्सपी, भिस्टा, ७ हुँदै भर्खरै विन्डोज ८ सम्म उसको ओएस उत्पादन आइपुगेको छ । माइक्रोसफ्टले विन्डोज ८ लाई केही नयाँ विशेषतासहित बजारमा ल्याएको थियो ।
विन्डोज ओएसका यसअघिका संस्करणमा उसले सामान्य परिवर्तन गर्ने गरेको थियो । यसमा परम्परागत स्टार्ट मेनुको ठाउँमा टाइलजस्तै देखिने फरक किसिमका मेनु थिए ।
ती टायलले नयाँ संस्करण ब्लुमा पनि निरन्तरता पाउने छन् । नयाँ संस्करण अपग्रेडेड भर्सन हो वा विल्कुलै नयाँ ? थाहा पाउन माइक्रोसफ्टले औपचारिक रूपमा यसलाई सार्वजनिक गर्ने बेलासम्म कुर्नै पर्छ ।
