वीरगन्ज,१७ वैशाखः महानगरिय प्रहरी प्रभाग र अपराध अनुसन्धान महाशाखा हनुमान ढोकामा पर्सामा सुरक्षा प्रमुख रही सकेका दुईजना अधिकृतहरुले जिम्मेवारी पाएका छन् ।
प्रहरी वरिष्ठ उपरिक्षक( एसएसपी ) विजय कायस्थ अपराध अनुसन्धान महाशाखामा कार्यरत छन् भने प्रभागमा एसएसपी सुबोध घिमिरेको सरुवा गरिएको छ ।
प्रभाग प्रमुख एसएसपी रणबहादुर चन्दको व्यक्तिगत आचरण ठीक नभएको आरोप लगाउँदै गृह मन्त्रालयले उनलाई हटाएर घिमिरेलाई सरुवा गरेको हो । एसएसपी रणबहादुर चन्दलाई विवादमा ल्याउनका लागी उनकी कान्छी श्रीमती भनिएकी विराटनगरकी महिला गोमा सुवेदीको प्रयोग गरिएको थियो । हेडक्वार्टर सम्बद्ध श्रोतका अनुसार गोमालाई चन्द कार्यालयमा नभएको बेला हनुमान ढोका प्रहरी प्रभागमा पठाएर बितण्डा मच्चाउन लगाउँदै चन्दलाई बद्नामी गराउने योजना बुनिएको थियो ।
कायस्थ र घिमिरे दुबैजना एसपी पदमा हुँदा जिल्ला प्रहरी कार्यालय पर्सामा उनीहरुको पोष्टिङग भएको थियो । विजय कायस्थले आफ्नो कार्यकालमा पर्सामा भारतीय अपहरणकारी गिरोहको नेटवर्क ध्वस्त बनाएका थिए भने अनुसन्धानमा पोख्त घिमिरेले भारतीय नक्कली नोटका कारोबारी गिरोहको लामो फेहरिस्त तयार पार्नुका साथै १८ लाख भारुभन्दा बढी नोटसहित एकजना मुख्य कारोबारीलाई पक्राउ गर्न सफलता पाएका थिए ।