पत्रकार महासंघमा के.सी. लामिछानेको मनोपरी सूचना लुकाउने र महासंघमा हुकुमत गर्ने अभियान

सन्तोषकुमार मिश्र/
के.सी. लामिछाने
वीरगंज/नेपाल पत्रकार महासंघलाई पत्रकारहरूको छाता संगठनको रुपमा परिभाषित गरिएको भएपनि पर्सा शाखाका अध्यक्ष केसी लामिछानेको मनोपरीका कारण महासंघ सम्पूर्ण पत्रकारहरूको छाता संगठन नभई केही व्यक्तिहरूको क्लवको रुपमा स्थापित हुने पाइलातर्फ अग्रसर भएको छ ।
पदीय जिम्मेवारी र दायित्व बिर्सेर कहिले अदालतमा हंगामा मच्चाएर त कहिले एकपक्षीय निर्णयहरू गरेर महासंघ लगायत यस क्षेत्रमा कुख्याती कमाउँदै आएका नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष के.सी. लामिछानले पत्रकारहरूकै लागि
आएको सूचना लुकाएर अहिले चर्चामा छन् ।
प्राप्त जानकारी अनुसार सूचनाविभागको निर्देशनानुसार संचार केन्द्र हेटौडाले पर्साबाट प्रकाशित हुने पत्रपत्रिकालाई प्रकाशित भएको मितिले १५ दिन भित्र संचार केन्द्रमा पठाइसक्नुपर्ने जानकारी गराईदिनुहुन नेपाल पत्रकार महासंघ पर्सा शाखालाई लिखित अनुरोध गरेको दुई हप्ताभन्दा बढी बितिसक्दा पनि महासंघ पर्साले त्यो सूचना पर्साका स्थानीय
पत्रपत्रिकाहरूलाई सो विषयमा जानकारी गराएको छैन ।
यसरी महासंघमार्फत पाउनुपर्ने जानकारी स्थानीय पत्रपत्रिकाले नपाएपछि पत्रकारहरु अन्यौलमा परेका छन् । वीरगंजबाट करिब ४ दर्जन साप्ताहिक र दुई दर्जन दैनिक पत्रिका प्रकाशित हुँदै आएकोमा अधिकांश पत्रिकाका पत्रकारहरू संचारकेन्द्रले पठाएको जानकारी अर्थात् सूचनाबाट वञ्चित भएका छन् ।
पत्रपत्रिकाकैलागि आएको सूचना लुकाएर महासंघ पर्सा शाखा अध्यक्ष लामिछानेलाई कुन लाभ हुने हो वा होइन, उनले नै बुझुन् तर सूचना नपाएर महिनाभरीको पत्रिका दर्ताकोलागि सञ्चारकेन्द्रमा एकैचोटी पठाउने पत्रकारहरूलाई भने निकै समस्या हुने भएको छ ।
महासंघ छाता संगठनरहेको दाबी गर्ने तर गुट–उपगुट सिर्जना गरी पत्रकारहरूबीचमै द्वन्द्व निम्त्याउने र रमाउने बानी परेकाहरूका कारण महासंघ पर्सा शाखा केही समय यता निकै विवादित बन्दै आएको छ ।
केही समय अघि पनि जिल्ला निर्वाचन कार्यालय पर्साले स्थानीयस्तरमा नियमित रुपमा प्रकाशित हुने पत्रपत्रिकाको नाम उपलब्ध गराइदिन महासंघलाई अनुरोध गरेपछि अध्यक्ष लामिछानेले आफू निकटका केही पत्रिकाहरूको नाम पठाएका थिए । लामोसमयदेखि बन्द रहेका आफू निकटका पत्रिकाको नाम विज्ञापन आउने ठाउँमा पठाउने तर नियमित रुपमा प्रकाशित हुने पत्रिकाहरूको विवरण नपठाउने महासंघ पर्सा कसरी पत्रकारहरूको छाता संगठन भयो ?
यो क्षेत्र मात्र नभई मुलुकभरी कुनै कार्यक्रम संचालन गर्नुपरे अथवा विज्ञापन प्रकाशित गर्नुपरेको खण्डमा पत्रकारमहासंघ मार्फत् स्थानीय सञ्चारकर्मी र पत्रपत्रिकाहरूबारे जानकारीकोलागि हरेक जिल्लामा रहेका महासंघको शाखाहरूमा सम्पर्क गर्ने गरिएको भएपनि अन्य जिल्लाबाहेक पर्सा जिल्लामा के.सी. लामिछानेले आफू निकटका बाहेक अरुलाई पत्रकार नठान्ने र जानकारी नदिने नीति लिएकै कारण वीरगंजेली पत्रकारहरू जातीय र समुहगत रुपमा विभाजित भई द्वन्द्व सिर्जना गर्ने मनस्थितिमा पुगेको देखिन्छ ।
पर्साका दर्जनौं साप्ताहिक पत्रिकाका पत्रकारहरूको मतबाट अध्यक्ष पदमा पुगेका लामिछानेले पदमा गएपछि साप्ताहिक पनि पत्रिका हो भन्ने बिर्सिनुलाई राम्रो मान्न सकिन्न । अध्यक्ष पदको जिम्मेवारी सम्हालेदेखि हाल सम्म पत्रकारहकहितकोलागि कुनै काम नगरेको, महासंघको चुनाव अगाडी पत्रकारहरूमाझ आफूले गरेको लिखित प्रतिवद्धता पूरा गर्न कुनै अग्रसरता नदेखाएको स्थानीय पत्रकारहरूबीच व्यापक चर्चा छ ।
अरुलाई पेशागत मर्यादा र आचारसंहिताको पाठ सिकाउने र भाषण गरिहिंड्ने लामिछानेले संचारकेन्द्रबाट प्राप्त सूचना किन लुकाए ? स्थानीय सबै पत्रपत्रिकालाई जानकारी किन गराएनन् ? भन्ने विषयमा जानकारी लिन बुधवार पटक–पटक फोन गर्दा पनि उनको मोबाइलको स्वीच अफ रहेको पाइएको थियो । प्रकाशित मिति:२०७० असार २० गते विहीबार । क्राइम चेक


SHARE THIS

Author:

Facebook Comment