Showing posts with label व्यंग्य. Show all posts
Showing posts with label व्यंग्य. Show all posts
कसरी भाच्लान त अब लाजमान्डूको रेलिंग

कसरी भाच्लान त अब लाजमान्डूको रेलिंग

– जनकमान डंगोल

अस्ति काम विशेषले नयाँ नेपालको राजधानी जानु पर्यो । नयाँ नेपाल भन्ने देशको राजधानी लाजमाण्डूमा पर्छ । लाजमांडूको रत्नपार्कबाट राजदरबार हुँदै उत्तर ढोका जाने क्रममा जय नेपाल फिलिम हलको बाटो हुँदै पैदल यात्रा गरियो । सडकको पेटी पेटीहरुमा गज्जब गज्जबका फलामे रेलिंग हालेका रैछन् । भैंसी हैन हात्ती बाने पनि उखाल्न नसक्ने गरि सिमेन्टले जाम गरेर बनाका ती फलामे रेलिंग आन्दोलनकारीको लागी सौता साबित हुने देख्दैछु ।

देशको राजधानी लाजमांडूमा पहिला निरंकुश पञ्च सर्खारको पालामा बनाएर राखेका रेलिंग भाँच्नेहरु कम्निष्ट पार्टी एमालेका भुराहरु हुन् । महाकाली सन्धि धोखा हो भन्दै टनकपुरको टनटनमा धेरै रेलिंगहरुलाई सहिद बनाएको पनि देखेकै हौं ।

सरकारमा हुन्जेल मुखमा मह हालेर बस्ने र सरकारबाट बाहिरिए पछि नयाँ सरकारसँग निहुँ खोज्ने चलन नयां र नौलो हैन । प्रतिपक्षहरुलाई निहुँ खोज्न कुनै आईतवार आउनु पर्दैन हजुर । कुनै दिन कर्णाली सन्धि धोखा हो भन्दै फेरी आन्दोलन गर्न बेर लागाउँदैनन् ।

हिजो काँग्रेससँगको मिलिजुली सरकार हुँदा भारतसँग कर्णाली सम्झौता गर्नु हुन्न भनेर मुखारी भन्न सकेनन् तर घामका केहि थान भुराहरुले सामाजिक संजालमा तितो पोखेका थिए ।

त्यो कर्णालीको सम्झौता काँग्रेसले गरेको हो तर साक्षी त आफ्नै पार्टीका सरकार पनि थियो । हिजो महाकाली सन्धिमा पनि साक्षी किनाराको सदर भाको पनि देखिएकै हो । हुन त महाकाली सन्धि पनि कांग्रेस र एमाले मिलेर गरेका हो भन्छन् । नदि नाला र खोला देखि ठुला ठुला विकास निर्माणको ठेक्का पट्टा त देख्नै हुन्न काँग्रेसलाई । सरकारमा पुग्यो की माइतीलाई दाईजो दिएझैं जन्मदाता भारतलाई दिन हतार हुन्छ ।

अहिले घाम पार्टी राष्ट्र देखि सरकार प्रमुखमा छन् । कम्युनिष्टका जन्मजात विरोधि काँग्रेसीहरु हुन् । काँग्रेसका जन्मदाता स्व.बिपीले कम्युनिष्ट संगत गर्नु हुन्न भन्थे र आफु जिम्दो छउन्जेल गरेनन् पनि । पजेरो जन्मदाता काँग्रेसी देउवा ग्यांगका केहि थाने नेताहरु सरकारमा जान मुर्मुरियर बसेका छन् ।

जनयुद्ध गरेर देशमा आमुल परिवर्तन ल्याएको हामीले हो भन्ने नाईकेहरुका केहि बफादारेहरु पनि ठुला मन्त्रालय खान नपाएर रिसले मुर्मुरिएर बसेका छन् । तिनीहरुले पनि अध्यक्ष कामरेड प्रधानमन्त्री बन्नु पर्छ भनेर उचालेको पनि देखिएकै हो । घामभित्रका गुटेहरुको पनि कुनै भर छैन । कुन दिन अर्को दामदेब बनेर आफ्नै सरकार ढाल्न बेर लाउँदैनन् । यो सत्ता भन्ने जिनिस त तिन्पाने खोया भन्दानि डेन्जर हुन्छ हजुर डेन्जर ।

आन्दोलनमा हिंसात्मक भएन भने मज्जानै आम्दैन रे भन्छन । पुलिसको टाउको टाउको ताकेर गुलेली हान्ने देखि बोतलमा प्याट्रोल भरेर त्यसां सलेदो सल्काएर आगो लायो भने प्याटुल बम भन्ने खत्राको जिनिस बन्छ र त्यो बम ताकी ताकी पुलिसलाई हान्नु जस्तो ठुलो मज्जा अरु केमा आउँछ र ? त्यसरी हान्दा घामका भुराहरु आफुलाई सगरमाथा बिजयी तेन्जिंग नोर्गे शेर्पा भन्दा नि ठूला ठान्छन् । राँके जुलुस निकाल्दा राँको पुलिसको जिउमा झोस्न समेत महारत छन हाम्रा पार्टीका आन्दोलनकारीहरु । नेपालको पुलिस पनि आफ्नै देशका नागरिकहरु नभएर सिंगापुरे देखि ब्रुनाईका फौज जस्तै भाडाका सिपाहीहरु हुन भन्ने मनस्थिति पालेसी कसको के लाग्छ र ?

भोलि सरकारमा नभएसी बेरोजगार बन्ने स्थिति आउँछ । अहिलेको सरकारलाई सधैंको लागि भनेर टिका लाएर दिएको पनि पनि हैन । कार्यकर्ता भनेका राजनीतिक पार्टीहरुका खत्रा हत्यार हुन् । हथियारमा खिया लाग्यो भने त्यसले काम गर्दैन । त्यै भएर हथियारमा धार समय समयमा लगाउनु पर्छ । राजनीतिक भाषामा हथियारमा धार लाउनु भनेको खत्राखत्रा आन्दोलन गर्नु हो तर आन्दोलनको क्रममा अहिले लाजमांडूमा हालेका रेलिंग आन्दोलनकारिहरुको लागी फलामको च्युरा बन्ने त हैन ?


प्रकाशन मितिः २०७३ जेठ ०६ गते बिहीबार
 शासन त जुद्ध महाराजकै ठिक देखियो गाँठे

शासन त जुद्ध महाराजकै ठिक देखियो गाँठे

– जनकमान डंगोल

नेपालमा मानव अधिकारको नाउँमा विदेशीको खेताला गर्ने संस्थाहरु थुप्रै छन् । यिनीहरुको काम भनेको ब्यबस्था बदल्न आन्दोलन गर्ने देखि आफ्नो यारिहरु पक्राउ पर्रेको समयमा जुलुस, धर्ना दिने र नारा लाउने सम्मको काम हो । विदेशीको संस्थाको खेताला भए पछी जस्तो सुकै मै हुँ भन्ने जंगेहरु पनि यिनीहरु देखि थर्रर हुन्छन् ।

केहि दिन अगाडी अनेक थरिको दर्जाले सुशोभन भएका खेतालारुपी मान्छेलाईनी अख्तियार लाग्यो । यस्तो समयमा हिन्दी उखान “चोर–चोर, मौसेरा भाई” एकजुट नहुने त कुरै भएन ।

“सार्बजनिक स्थल” भन्नाले अस्पताल देखि स्कुल सम्मलाई बुझाउँछ । त्यस्ता परिसरमा ध्वनी प्रदुषण गर्न पाईदैन । ठूलो स्वरले समेत बोल्नु समेत हुन्न भनेर भन्छन् । देश विदेश घुमेर आएका खेतालाहरूलाई यस्ता कुराहरुको ज्ञात पक्कै पनि नभएको हैन । यो चुस्स डाम्ने डाम्नाकारले पनि सात समुन्द्रपारि पुगेर आएको भएर देखेको कुरा सक्कल बमोजिम बयान गरि दिएको हुँ ।

मौसेरा भाईलाई अख्तियार लाग्यो । नेपालमा श्रोत नखुलेको सम्पति के कसरी कमाइयो भनेर जांच पड्ताल गर्नेलाई अख्तियार अड्डा भन्छन । त्यो अड्डामा बसे पछी निमकको सोझो गर्नु पर्छ । परि आएको खण्डमा आफ्नै जननीलाई समेत हातमा हत्कडी लाउन सक्ने ह्याउ हुनु पर्छ ।

उहिले पञ्चायत कालमा एउटा उखान थियो । उखान राणा शाहीको पालामा आविष्कार भएको होला तर पञचायतकालमा समेत त्यो उखानले राम्रै संग फल्ने फुल्ने मौका पाएको थियो ।

उखान अनुस “बाउलाई काट्छु आमालाई बाँध्छु” भनेर पुलिसमा जागिर खानु पथ्यर्यो रे । खांटी नेपाली बुझ्नेहरुले यसको अर्थ सजिलै सँग बुझ्न सक्छन् ।

पुलिस भनेको छुच्चो पेशा । सबै तह र तप्कासंग घुलमिल हुने ह्याउ नभएका मान्छेहरु पुलिस बन्न सक्दैन । पुलिस बनेसी परि आको खण्डमा “बाउलाई काट्ने आमालाई बाँध्ने” हुत्ति र ह्याउ हुनु पर्दछ । त्यो भनेको कानूनको नजरमा दोषी देखिएको खण्डमा आफ्नै जननीलाई समेत छोड्नु हुन्न भन्ने हो ।

अख्तियार भन्ने अड्डा पनि त्यस्तै हो । कानूनको पालना नगर्ने जो सुकैलाई पनि उसले उजुर बाजुरको आधारमा पक्रेर थुन्ने आदेस दिन सक्छ । प्रमाण पुगेन भने छोडिन्छ पुगेको खण्डमा न्यायमूर्तिको आदेशमा ठिंगुरा लगेर जाक्न लाउछ ।

अनेक थरिको नामले विभूषित भएका ठूला माछा अर्थात ह्वेल माछाको वर्गीकरणमा परेका विदेशी खेतालाहरुका मौसेरा भाई माथि अख्तियार लाग्यो । उजुर बाजुर नपरेको भए अख्तियारले पुलिस लाएर पक्कै पनि पक्डाउ गर्दैन थिए ।

विदेसी खेतालाहरुका मौसेरा भाई पक्राउ पर्ना साथ म त असाध्य रोगको बिरामी हुँ । हस्पताल लैजा भने । भोलि पिलित्त भो भने अर्को दशा बोक्नु पर्ला भनेर अस्पताल पुर्‍याए । यमराजका दुश्मनहरुले साधारण विस्तारामा राखेर उपचार गर्ने खालका रोगी हैनन् । यिनलाई त सुविधा सम्पन्न आई.सी.यु भन्ने जिनिसमा राखेर ओखती गर्नु पर्छ भनेर सिफारिस गर्दिए । यमराजको सत्रुसंग जोरी खोज्ने कसले ?

चोरले म चोर, डाँकाले म डाँका, फटाहाले म फटाहा कहिले पनि भन्दैनन् । चोर, डाँका र फटाहा भनेका अपराधी हुन । कानूनले गर भनेको काम नगर्ने र नगर भनेको कम गर्नेहरुलाई अपराधी भनेर अथ्र्याई दिएको छ त्यसैले खेतालाहरुका मौसेराभाई त्यो दर्जामा परे ।

हाम्रो मान्छे निर्दोष छन । थुन्न पाईदैन ¤ मुद्दा फिर्ता गरेर रिहा गर भन्दै खेतालाहरुले अस्पतालमा गएर माईक घन्काएर नारा लाए । अस्पताला माईक बजाउनु हुन्न भन्ने ती खेतालाहरुलाई भन्ने कोहि मईकालाल निस्केनन ।

अभियोग लगाइंदैमा अपराधी भइंदैन । हो होईन भनेर छानबिन गर्दैमा कोकोहोलो मच्चएाको देख्दा “चोरको खुट्टा काट” भन्दा सक्कली चोरले फुत्त खुट्टा झिकेको जस्तो भयो कि भएन ?

खेतालाका मौसेरा भाई सद्दे चरित्रका थिए भने तिनका पक्षमा दुई बीस कालाकोटेको जन्ती जुटाएर लोक हसाउने काम किन गरे ? नेपालको ईतिहासमा नाम लेखाउन भनेर पक्कै पनि यस्ता कार्य गरेका पक्कै पनि हैनन होला ।

पत्रकार भनेको राज्यको चौथो जिनिस रे भनेर भन्छन् । यी जिनिसको काम नारद मुनि जस्तै हो । हिन्दु शास्त्रमा वर्णन नारद मुनि भनेको देखेको र सुनेको कुरा लोकलाई सुनाउँदै हिड्नु हो ।

खेतालाकै हलमा मिस्सिएर नारद मुनिको काम गर्ने रवीन्द्र मिश्र नाम गरेका मनुवा छन् । बिना दाम तिनका उद्गार सुन्न पाईन्न । नारद मुनिको जस्तो पवित्र र महान भूमिकालाई लात हान्दै तिनले “मेरो नैतिकताले यस्तो बारेमा बोल्न र लेख्न मिल्दैन” भनेर सामाजिक संजालको भित्तामा डाम्ड़ेसी कुरो सक्की गो नि ¤ तर तिनैले सेतो लुगा कालो मसिले “भ्रस्टाचारिलाई कारबाही गर” भनेर किन लोकलाई देखाउदै हिंडे ? लहरो तान्दा पहरो गर्जिन्छ । एउटा ह्वेलमाछोलाई समाउँदा अरु थुप्रै ह्वेल माछाहरु पनि ठिंगुरा जाकिन सक्ने भयले यो सबै नौटंकी देखाएका हुन् । नेपालमा अहिले श्री ३ जुद्ध महाराज छैनन् । यदि यो समयमा श्री ३ जुद्ध महाराजको सर्खार भएको भए ५ जना साक्षी जुटाएर यिनीहरुलाई छप्काउन पक्कै पनि पाइन्थ्यो होला नि, हैन ?

प्रकाशन मितिः २०७३ वैशाख २३ गते बिहीबार
त्यसै भन्न पाइन्छ भ्रमण असफल ? यी हेर्नुस् उप्लब्धिहरु

त्यसै भन्न पाइन्छ भ्रमण असफल ? यी हेर्नुस् उप्लब्धिहरु

-सन्तोष चिमरिया
भ्रमण असफल भयो भन्ने ? संयुक्त बिज्ञप्ती आएन भन्ने ? के लेर आईस भनेर सोध्ने ? म माईत गा'हुम र थुन्सेमा कोसेलीपात ल्यार आउनलाई माकाफुईहरु ! सुस्मा दिदी र म अर्थात हामी, कुम्भको मेलामा छुट्या रछौ । भ्याट्ट आमाले लगाई दे'को लकेटले दिदि र मेरो पुनर्मिलन भयो । दिदि ठ्याक्कै ४ दिनले जेठी हुनुहुदो रहेछ । के भाइ भन्दा दिदी ४ दिनले जेठी हुनु उपलब्धि हैन ? के ६० बर्ष पछि दिदिभाईको पुनर्मिलन हुनु उपलब्धि हैन ? पहिला गहुंको रोटी र तराईका बेटीको संबन्ध थियो । मेरो भ्रमण पछि अब गहुको हैन तिहारमा दिदिले भाईलाई दिने सेलरोटीमा सम्बन्ध उक्लेको छ । चिल्लो पनि ,मीठो पनि ,गुलियो पनि ! के यो उपलब्धि हैन ? सम्बन्ध बेटी-दामादबाट दिदिभाईमा उक्लेको छ । के यो उपलब्धि हैन ?

       उपलब्धिहरुको चाँङमा अर्को उपलब्धिकै कुरो गर्नुपर्दा पुनर्निर्माण हेर्न गुजरात गईयो ।
त्यहाँ भुकम्पपछिको पुनर्निर्माण त हेरियो हेरियो , साथमा आफ्नै राष्ट्रिय झण्डाको पुनर्निर्माण भएको पनि देख्ने सौभाग्य मिल्यो । तीन कुने झण्डा पुनर्निर्माणमा परेर आजकलका चल्तीका स्मार्ट टिभी जस्तो चारकुने भएछ । के त्यो उपलब्धि थिएन ? भारतले हामीलाई बराबरीको हैसियत दिएन भनेर सधैं बाँसाघारीका रुप्पी झै कराउने कथित राष्ट्रबादीहरुलाई म प्रश्न गर्न चहान्छु , राष्ट्रिय झण्डामा एउटा कुनो थपेर भारतको बराबर बनाउनु उपलब्धि हैन ? आजसम्म कुन चाहिँ प्रधानमन्त्रीले त्यसो गर्न सकेको थियो ?
       बिरोधका लागि मात्रै बिरोध गर्नु उचित छैन । छ दिनको भ्रमण उपलब्धिमुलक रहयो । मनिषासंग भेट भयो । लाल दोपट्टावाली तेरा नाम तो बता भन्नेमा नाच्ने त्यो गोबिन्द हिरोसंग भेट भयो । सधैं नाम मात्रै लेख्ने त्यसको थर सोधौला भन्ने थियो, भुसुक्कै बिर्सेछु । नभएको एउटामात्र उपलब्धि भनेकै त्यही गोबिन्देको थर सोध्न भुलेछु त्यति हो । त्यो पनि कमल थापालाई पठाएर उपलब्धि हासिल गरेरै छोड्छु । बाकी सबै कोणबाट भ्रमण एतिहासिक रुपले सफल भयो ......


( चिमरियाको फेसबुक वालबाट साभार)

मेरो छोरो खलासी बनाउँछुः सूचना आचार्य

मेरो छोरो खलासी बनाउँछुः सूचना आचार्य

अहँ मैले सुनेकै छैन
यो काठमाण्डौको खाल्टोमा भित्रिएदेखि
एकता सदभाव माया ममताका कुरा

यहाँ त खिचातानी हुन्छ
प्रत्येकका खुशीहरूमा
मैले गाँस काटेर किनेका खुशीहरूमा
तपाईंको, उनको, उनीहरूको राज चल्छ
जन्मैदेखि झगडा गर्न सिकाइन्छ
अधिकारका नाममा...

डाक्टर बिरामी कुल्चेर आन्दोलन गर्छन्,
इन्जिनियर आन्दोलन गर्छन्,
कर्मचारी आन्दोलन गर्छन्,
शिक्षक आन्दोलनको पाठ पढाउँछन् र
उत्साहित बनाउँछन् आन्दोलनकारी बन्न...।

मैले अरुबाट “मिलौं” भन्ने शब्द सुनेकै छैन
खलासीको मुख बाहेक,
ढोकामा उभिएर ऊ भन्छ, “मिलेर बस्नु, मिलेर बस्नु”
तिम्ले तुच्छ ठानेको पेशा अंगालेको ऊ
तिमीभन्दा धेरै महान छ... त्यसैले
म मेरो छोरो खलासी बनाउँछु ।


सूचना आचार्य
गोरखा
हाल: काठमाण्डौ

प्रकाशन मितिः २०७२ फागुन १३ गते बिहीवार
जय सरकार ! समूह ६ को लोडसेडिङ तालिका

जय सरकार ! समूह ६ को लोडसेडिङ तालिका

–प्रशान्त महासागर

मलाई सरकारले जहिले पनि तालिका अनुसार चल्ने आदेश दिनु भएको छ । विकास र उन्नति त्यसै हुन्छ पनि भनी बक्सेको छ । म सरकारसँग साह्रै खुशी छु र म समूह “छ” को जीवन भनौं या मृत्युको अंश जुन मरि सक्दा पनि बाँच्ने नै छु भनी लागी परेको छु शायद गल्ति भए माफका कुराहरु सार्नेछु अन्यथा नसोच्नु होला र सोचेकै कुरा गर्नु पर्दा यो भन्दा राम्रो सोच भविष्यमा नेपालीहरुको आउँला त्यो बेग्लै कुरा हो तर हाल अहिलेको कुरा गर्ने हो भने नेपाली जीवन प्रत्येक दश दिनमा परिवर्तित हुन सक्छ भन्ने एउटा नमूना हो नेपाली लोडसेडिङ तालिका ।

हुन त नेपालीहरुसँग भएर पनि केही छैन भन्ने मूल्य र मान्यता उदाहरण नै हो म रोएझैं गर्छु तिमी पिटे झै गर्नु भनी गरिने मनतन्त्रको राजनीति नै हो जहाँ धेरै छन् तर पाउने र दिने अवस्था केवल एउटा अघोषित नाकाबन्दी नै हो भने विकल्पहरु मार्ग खोजी नीतिमा उज्यालोको निम्ति लोडसेडिङ र खानेपानी विशेषगरि काठमाण्डौंको लागि मेलम्ची अगाडि सार्नु नै हो । यस्तो परिकारको पकवानबाट पोषित नेपालीहरुको अधिकार सुरक्षित तथा चौतर्फि विकास हुन्छ सोच्नुलाई सूर्य नउडाए पनि उज्यालो हुनु मान्न सकिन्छ । तसर्थ अब नेपालमा काम र माम खोज्नु भनेको पनि आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु नै सावित विस्तारि हुँदै गई रहेको अवस्था छ र यसमा सरकारले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दैन किनभने यो देश नेपाल त्यसै चलेको राष्ट्र हो । हुन त हामी गर्व गर्छौ नेपाल यो छ त्यो छ तर खैं त त्यसको अर्थ...? के हामी नेपालमा जन्मिदैमा नेपाली हुन्छ त...? यदि हुन्छ कसैले भन्छ भने साधारण कुरा राजाको छोरा नभईकन किन गौतम बुद्ध भए...? शान्तिको दूत भनेर किन पुजें ?

हुन त कुरो र कुलोलाई जता मोडे पनि हुन्छ भन्थे आखिर त्यही मात्र हो तर नेपालीहरुको सन्दर्भ त्यो पनि मिल्छ भन्नु शायद यहाँ मलाई मूर्ख नै सावित गराउँछन । अत: म तालिकाभित्र नै रमाउन चाहन्छु । हुन त तालिका फेरेको धेरै दिन त भए छैन तैपनि पुन: फेरेर नेपालीहरुको हकअधिकारलाई नयाँ संविधानमा सुनिश्चित गरिएको देखिएको छ त्यसकारण पनि म पून: सरकारलाई जय सरकार भन्नतिर नै बढी व्यस्त हुँदैछु । र नेपालमा नेपालीहरुलाई भएको कुनै भन्नु नै केही नभएकै हो । जस्तै: चामल छैन भन्ने कुरा उठ्यो भने किन चाहियो र ? किन सोध्दा, पकाउनलाई पानी कहाँ छ र ? जवाफ प्रतिध्वनीत हुन्छ । त्यस्तै पानी र चामल नभएकोले ग्याँस नभएको हो । अब ग्याँसको विकल्प खोज्ने हो भने विजुली हो । अब विजुली कहाँ नेपालमा पाईन्छ र ? यो त जलस्रोतको धनी राष्ट्र मात्र हो अरु केही होईन ।

अत: आइतबार समूह छ मा बिहान ३ बजे देखि १० बजेसम्म बत्ती जाने निश्चित भएको छ भनी नयाँ लोडसेडिङ तालिका निस्केको छ भने यो भन्दा १० दिन अगाडि आइतबारको दिन समुह छ मा बसोबास गर्नेहरुलाई सूर्य ब्रत बस्नु भनिएतापनि यसपालि देखि चाँडै उठि दालभात बसाउने कार्यबाट विदा दिएको छ त भोकै अफिस जानु नै भनी सरकारबाट निर्देश भएको अवस्था छ र बेलुकीतिर २ बजे देखि ८ बजेसम्म बत्ती जाने हुनाले रातीको भोजन त्यस्तै राती १० बजे पछि नै गर्नु भनी सरकारबाट आदेश भएको छ यदि लोड थाम्न सक्ने भए.. होईन भने राती पनि भोकै सुत्ने नै मर्जी होईबक्सिनु भा”को छ । जय सरकार सबै जोगाउने मन्त्र प्रतिपादन गरिदिनु भएकोमा ।

अब सोमबारको कुरा जय शिव शम्भु नभनीकन कहाँ हामी आम नेपालीहरु खान पाउँछ ? बिहान ६ बजे बत्ती गयो भने दिउँसो ३ बजे मात्र आउँछ । अब खाना बिहानको लागि पकाउने कि बेलुकीको लागि । हुन त मैले सोच्नै छोडें । मात्र घरमा पनि भनीदिएँ जे छ त्यही उमाल्नु । हामी आम नेपालीहरुको जीवनमा न बिहान छ न त दिउँसो अनि राती भन्ने नै । समय जहाँ जुनबेला जे दिन्छ त्यही खाने आँट गर्न सिक्नुपर्छ होईन भने साँझ ७ बजे बत्ती जान्छ राती ११ बजे आउँछ । बत्ती हेर्नु र सौटाको मूख हेर्नु एउटै हो दसा लाग्छ त्यसैले दालभात अचार तरकारी एउटै भाँडोमा हुन्छ अन्य खोज्नु पर्दैन पस्कि ल्याउ भन्दै खाँदै रमाउनु नै नेपाली जीवन हो ।

खाना खान पाउने दिनमा काम गर्नु पर्दैन स्वत: सरकारले भनेको छ किनभने मंगलबार बिहान १० बजेसम्म बत्ती हुन्छ त्यसको अर्थ खाना पकाउन भ्याउँछ भनेको हो भने दिउँसो ४ बजेसम्म नआउनुलाई बत्तीद्वारा गरिनु पर्ने काम कुनै पनि गर्नु पर्दैन भनेको नै हो । अब ५ बजे देखि त लगभग सबैतिर छुट्टि नै हो भने गन्तव्यतिर पुग्न छत या हुडमा झुण्डिन भए पनि एक घण्टा अगाडि नै कामकाज छोड्नै पर्ने हुन्छ । अत: नयाँ तालिकामा मंगलबार विदा समूह ६ मा परेको छ । अब रातमा पढ्न बत्ती होस् नहोस् त्यो ठूलो कुरा होईन । ८ बजे देखि १२ बजेसम्म जानेको हामीलाई के मतलब ?

अब बुधबार ४ बिहान देखि दिउँसो १२ बजे सम्म बत्ती हुँदै भन्नु नै स्वाभीमानी नेपाली तिमी हौ तिमीले देशको निम्ति त्यति पनि गरेनौं भने के गर्‍यौ । तिमीहरु नोपली हुनुको अर्थ के हो देशको निम्ति हावा खाएर सेवा दिन सक्दैनौ न तिमी भूमी पुत्र हौ न त आदीवासि नै । न बाहुन हौं न त क्षत्री नै दुईचार छान छोडेर वीरता देखाउन नसक्ने तिमीहरु कसरी नेपाली...? नालापानीको युद्धमा हाम्रा पूर्खाहरुले बिना पानी कति दिन लडेका थियौं बिर्सियौ ? कुन ठूलो विपत्त आई परेको छ र ? ४ बजे दिउँसो  बत्ती जान्छ त राती १० बजे आउँछ नै । के को चिन्ता एक जना कर्मचारीलाई नियुक्त गरि तलब दिई खाना पकाउने काम दिनु कमसेकम दिउँसो १२ बजे देखि ४ बजेसम्म बत्ती आउने बेलासम्ममा खाना पकाई हाल्छ भने बेरोजगारले रोजगार पनि पाउँछ साथै गरिबी त्यसै उन्मुलन हुन्छ ।

त्यस्तै कथा विहिबारको पनि छ । जसरी हुन्छ नेपालीहरु यो सरकारले रोजगार दिने तालिका निकालेको छ त्यसको हामी आम नेपालीहरुले सु–स्वागत गर्नुपर्छ नै । विहीबार बिहान ४ बजे देखि ११ बजेसम्म बत्ती जान्छ भने दिउँसो ३ बजे देखि नै राती ९ बजेसम्म हामीहरुले अन्धकार अवस्था उज्यालो भविष्यको खोजी नीति गर्न पाउने छन ।

शुक्रबार जहाँसम्म लाग्छ अलि चलाख कर्मचारीले चाहि आफ्नो मालिकलाई खाना खुवाउन सकिन्छ कि भन्ने मैले आश गरेको छु किनभने लोडसेडिङ बिहान ५ बजे देखि दिउँसो २ बजेसम्म जाने हो । भन्नुको अर्थ ओभर टाइमको सिफ्ट मिलाई दिएको खण्डमा कर्मचारीले बिहान ५ बजे भित्रमा खाना तयार गर्न सक्ने अवस्था रहेको छ भनी सरकारबाट मर्जी होइबक्सिनु भएको छ । र बेलुकीको अवस्थामा क्वाटरको पनि व्यवस्था गरिदिएको खण्डमा अझ भनौं रोजगार दिने मनशाय भएको अवस्थामा आफु र आफ्नो परिवार भोकै बस्नु पर्ने छैन । साँझ ६ बजे देखि १० बजेसम्म बत्ती नहुँदा आम नेपालीहरुको जीवनमा कुनै असर पर्दैन ।

शनिबार त त्यसै विदा बार के मतलब नेपालीहरुलाई । न काम गर्नु छ न आफुलाई स्थापित नै गर्नुछ । बस जन्मिनु अनि खानु साथै मर्नु यी नेपालीहरुको दिनचर्या हो । यसमा न सरकार आफैले परिवर्तन ल्याउँछ न त जन्मेर नेपाली हुनेहरुले नै चाहेका छन् । नेपाली ढाँट्ने छल्ने र ठग्ने काम जानी सकेका छन् अब अरु सिक्नु नै छैन । पेट भर्न आउँछ पुगि हाल्छ । नयाँ र नौलो को अर्थ के हो किन चाहियो । ती सब बकवास भएको छ नेपाली जीवनमा । होईन कसैले भन्छ भने नेपाली हुन के गरेका छौ ? सधैं पूर्खाकै आडमा बाँच्ने र वीर हुने भए किन परिवर्तन चाहियो ? विश्व समाजले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण कस्तो छ कहिल्यै हामी नेपालीहरुले सोचेका छौ ? सधैं खाने लाउनेमै समय खर्चेका छन भने कमाएको नाउँ के कमाएका छन त ? र अधिकार भन्दै माग्दै आफैं लुलोलङ्गडो हुने परिवर्तनको पछि कहिले सम्म लाग्ने....? साथसाथै आफुले के जन्माएका छौ आफु यो नै हो भन्नलाई ? यहाँ काम भन्दा बेसि कुरा भएको प्रष्ट हुँदा नि हामी आफ्नो पहिचान भन्दै कुदिरहेका छौ आखिर के काम त्यो खोक्लो खास्टो.....?
११ बजे जान्छ त बेलुकी ७ बजे उहाँ पाल्नु हुन्छ ।
शनिबार फुर्सदको बार ।

बिहान पनि बेलुकी पनि खाना खान पाउने दिन शनिबार

प्रकाशन मितिः२०७२ पुस २३ गते बिहीवार